After SEE Portal

अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्

Bridge Course

अङ्ग्रेजी माध्यममा पढाउने सामुदायिक विद्यालयलाई निजी प्रकाशन गृहका पाठ्यपुस्तक प्रयोग गर्नै पर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।

पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका सबै पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।

आगामी शैक्षिक सत्रदेखि केन्द्रले कक्षा ५, ८ र १० नयाँ पाठ्यक्रम लागु गर्दैछ । केन्द्रले तीन वर्ष अगाडिदेखि नै श्रृङ्खलाबद्ध रुपमा पाठ्यक्रम परिवर्तन गर्दै आएको छ । शैक्षिक सत्र २०७८ मा कक्षा २, ३, ६ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ र २०८० मा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरेदेखि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा जाने गरी पाठ्यक्रम परिवर्तन गरिसकेको छ ।

पछिल्लो समय अभिभावक तथा विद्यालयको माध्यम भाषाका रुपमा अङ्ग्रेजीले व्यापकता पाउन थालेको छ । सहर बजार तथा सुगम क्षेत्रका विद्यालयले आफ्नो सिकाइको माध्यम भाषा परिवर्तन गर्दै अङ्ग्रेजी रोज्न थालेका छन् । भाषा परिवर्तनसंगै विद्यालयमा केही विद्यार्थी बढेका तथाङ्क पनि सार्वजनिक भएका छन् ।

विद्यार्थी अभिभावकको रोजाइमा पर्ने हुँदा धमाधम माध्यम भाषा परिवर्तन गर्न पुगेका विद्यालय अहिले सरकारी प्रकाशन गृहबाट छापिएका अङ्ग्रेजी विषयका पाठ्यपुस्तक नपाएर आफूहरू आजित हुन थालेको बताउँछन् । सामुदायिक विद्यालयले बाध्य भएर निजी प्रकाशन गृहका पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था आएको विद्यालयको गुनासो छ ।

माध्यम परिवर्तनसंगै विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार गरी (जनक शिक्षा केन्द्र लिमिटेड) सरकारी छपाखानाबाट छापिएका पाठ्यपुस्तक खोज्न थालेका छन । केन्द्रले छापेका पाठ्यपुस्तक किन्नका लागि हरेक पुस्तक पसलमा पुगेपनि नआएको जानकारी पाएपछि दिक्क भएर निजी प्रकाशन गृहका पाठ्यपुस्तक किन्न बाध्य भएको विद्यालयका प्रधानाध्यापकहरू बताउँछन् । ‘पुस्तक पसललाई सोद्दा नेपाली माध्यमका पाठ्यपुस्तक मात्र आउन बताउँछन् जनक शिक्षाले पाठाएको पाठ्यपुस्तकको सूचीमा अंङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक छैनन् ।’ एक प्रधानाध्यापकले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको आर्थिकस्थिति सामान्य खालको हुन्छ त्यसैले सस्तोमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन खोज्दा बजारमा पाठ्यपुस्तक नै छैनन् ।’

पाठ्यक्रम विकास केन्द्रका लेखक तथा विषयगत समितिले समयमा नै पाठ्यपुस्तक छपाइका लागि तयारी गरेर बुझाए पनि केन्द्रका उच्च पदस्त पदाधिकारी र निजी प्रकाशन गृहसंगको मिलेमतोमा पाठ्यपुस्तक छपाउन नै नपठाएको केन्द्रका एक अधिकृतले बताए । ‘हामीले सबै काम समयमा नै सकेका थियौं ।’ ती अधिकृतले भने, ‘नेपाली माध्यमका पाठ्यपुस्तक छपाइ गर्न पठाउँदै अङ्ग्रेजी माध्यमका पनि पठाएको भए विद्यालय समयमा नै पाठ्यपुस्तक पाउथे तर पाठ्यक्रम विकास केन्द्रबाटै रोकियो, छपाइ भएन ।’

केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुङ्गानाले भने पाठ्यक्रम परिवर्तन भएर भर्खर मात्र पाठ्यक्रम तयार भएको हुँदा अंङ्गेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक सेटमा छपाइ गर्न नसकिएको बताए । तर उनले अङ्ग्रेजी माध्यमका कुन कुन कक्षाको पाठ्यक्रम परिवर्तन भएको भन्दा केही जवाफ दिएनन् । ‘केही अगाडि पाठ्यक्रम तयार भएका विषयका केही पाठ्यपुस्तक तयार भएर बजारमा गएका छन् केही बाँकी छ ।’ उनले भने, ‘भर्खर पाठ्यक्रम तयार भएका पाठ्यक्रमका पाठ्यपुस्त यो वर्ष छपाइ हुने संभावना कम छ ।’

 केन्द्रले सामुदायिक विद्यालयमा सरकारी तथा निजी प्रकाशन गृहका पाठ्यपुस्तक प्रयोग गर्ने मिल्ने विकल्प सहितको व्यवस्था गरेको हुँदा कमिशनको लोभमा निजी प्रकाशन गृहका पाठ्यपुस्तक नै प्रयोग गर्न बाध्यकारी अवस्था सिर्जना गरिएको केन्द्रका एक उच्च अधिकारीले बताए ।

A Levels MA