खाली हुँदै इन्जिनियरिङ कलेज पनि

राम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले पनि चालु शैक्षिक सत्रका लागि विभिन्न कार्यक्रममा आवश्यकता अनुसार विद्यार्थी पाएका छैनन् । त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त कलेज अहिले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई भर्नाका लागि आग्रह गर्न दैनिक जसो सम्पर्क गरिरहेका छन् । कलेजले विद्यार्थी आकर्षण गर्नका लागि स्कलरसिप तथा छुटको अवसर दिने भन्दै प्रलोभन देखाउने दैनिक सम्पर्क गर्ने गरेको अभिभावकको गुनासो छ । ‘छोरीलाई दैनिक इन्जिनियरिङ कलेजले फोन तथा म्यासेज गरेर दिमाग खराब गरेका छन् ।’ ती अभिभावकले भने, ‘कलेजलाई पनि विद्यार्थी नपाएर विजोक रहेछ ।’

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा पाँच ओटा आंगिक र १० ओटा सम्बन्धनप्राप्त क्याम्पसको स्नातक तहमा १२ विषयको अध्ययनअध्यापन हुन्छ। त्रिविले  सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, अटोमोबाइल, जियोमेटिक्स, औद्योगिक र कृषि, आर्किटेक्चर एयरोस्पेस र केमिकल इन्जिनियरिङमा चार हजार तीन सय ४८ सिटमा विद्यार्थी अध्यापन गर्दै आएको छ ।

आंगिक क्याम्पस

 क्याम्पस

जम्मा सिट

नपुग संख्या

पुलचोक क्याम्पस, ललितपुर  ६२४ ११६
पश्चिमाञ्चल क्याम्पस, पोखरा   ४३२ १८४
पूर्वाञ्चल क्याम्पस, धरान  ५२८ २१५
  थापाथली क्याम्पस, थापाथली ४३२    २३४
चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन २४ (आर्किटेक्ट मात्र) ७

 

चालु शैक्षिक सत्रमा अहिलेसम्म थोरै विद्यार्थी मात्र भर्नाका लागि पुगेका छन् । अधिकांश कलेजमा निर्धारित कार्यक्रम अनुसार विद्यार्थी नपुगेको संस्थान डिन कार्यालयले जानकारी दियो । डिन कार्यालयका अनुसार निजीमा मात्र होइन त्रिविका आंगिक क्याम्पसमा पनि विद्यार्थी अभाव छ । निजी सम्बन्धन प्राप्तमा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन् ।

सबैभन्दा चर्चित पुल्चोक इन्जिनियरिङ कलेजमा पनि ११६ सिट खाली । त्यसैगरी पश्चिमाञ्चल क्याम्पस, पोखरामा १४८, पूर्वाञ्चल क्याम्पस, धरानमा२१५, थापाथली क्याम्पस, थापाथलीमा २३४चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवनमा  ७ जनाको सिट खाली छ । अधिकांश निजी कलेज पनि विद्यार्थी नपाएर छटपटाइ रहेका छन् ।

सम्बन्धन प्राप्त क्याम्पस

 क्याम्पस

जम्मा सिट

नपुग संख्या

काठमाडौँ इन्जिनियरिङ कलेज, काठमाडौँ ३८४ २८८
 कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर २८८ २७८
हिमालय कलेज अफ इन्जिनियरिङ २४० १९६
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर ३३६ २२८
नेसनल कलेज अफ इन्जिनियरिङ, ललितपुर २४० १९६
काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर १९२ १४४
जनकपुर इन्जिनियरिङ कलेज १९२ १९२
ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुर     १९२   १९२
सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर    १४४ १३९
ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर  ९६ ९२

संस्थानले शैक्षिक वर्ष २०८०–८१ का लागि  लिएको प्रवेश परीक्षामा आवेदन दिएका विद्यार्थी मध्ये करिब २० प्रतिशत विद्यार्थीले परीक्षा नै दिएनन् । अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा सुशीलबहादुर बज्राचार्यका अनुसार यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार विद्यार्थीले मात्रै परीक्षा दिएका थिए ।

गत वर्ष नौ हजार चार सयले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशतले परीक्षा दिएका थिएनन् ।  संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सूचना प्रविधिको प्रयोग गरी प्रवेश परीक्षा सञ्चालन गरिएको थियो ।

त्रिविविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले भने केहीबाहेक अधिकांश कार्यक्रम विद्यार्थी पुगेको दाबी गर्छन् । निजी कलेज सञ्चालकले भने केही कर्यक्रममा मात्र एकदुई सिट खाली भएको दाबी गरे । 

त्रिविका अतिरिक्त काठमाडौँ विश्वविद्यायल, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याय, मध्यमाञ्चल विश्वविद्याय, लुम्बिनी–बौद्ध विश्वविद्याय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्नसक्ने क्षमता रहेको छ ।

Degrees offered in nepal
Counseling