After SEE Portal

प्रभावकारी बन्दै विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम

Bridge Course

पोखरिया मावि विराटनगरकी विद्यालय नर्स प्रतिभा बजगाँई हरेक दिन विद्यालय पुग्ने गरेकी छिन् । विद्यार्थीका केही न केही समस्या हरेक दिन उनी समक्ष आउने गरेको छ । कुनैदिन उनी विद्यालय पुग्न सकिनन् भने पनि विद्यार्थी उनी कतिवेला आउने हो भनी विद्यालयको हेल्थ केयर रुम अगाडी बस्ने गरेका छन् । उनलाई विद्यार्थी पर्खेर बस्ने भएकाले पनि उनी विद्यालय नियमित पुग्ने गरेकी छन् । उनी भन्छिन,‘भरसक म विदामा बस्दिन ।’ 

पोखरिया मावि सहित प्रदेश नं। १ का १४ जिल्लाका १४ सामुदायिक विद्यालयमा सामाजिक विकास मन्त्रालयले विद्यालय नर्सिङ सेवा कार्यक्रम शुरु गरेको छ । गत आर्थिक वर्षबाट शुरु भएको नर्सिङ कार्यक्रम सामुदायिक विद्यालयमा प्रभावकारी देखिदै गएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा पनि कमजोर आर्थिक अवस्था भएका विद्यार्थीका लागि नर्सिङ सेवा बढी प्रभावकारी देखिएको छ । नर्स बजगाई समक्ष विद्यार्थी ‘टाउको दुख्यो’ भनेर बढी आउने गरेका छन् । बजगाई मनोपरार्शकर्ता पनि भएकाले यसलाई बुझ्दै जाँदा घरमा बाबु आमाको झगडाका कारण खाना नखाई विद्यालय आउने गरेको, बाबुले मदिरासेवन गरी कुटपीट गर्ने गरेको समस्या बढी आउने गरेको छ । लागुऔषध दुव्र्यसनमा लागेका विद्यार्थी पनि परामर्शका लागि आउने गरेको विद्यालय नर्स बजगाईले बताईन ।

विद्यालय नर्सिङ सेवा कार्यक्रम शुरु भएपछि शिक्षक र अभिभावकहरूको पनि स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पारिवारिक समस्या भएका बालबालिकाको अभिभावकलाई विद्यालयमा बोलाएर ‘काउन्सिलिङ’ गर्ने गरिएको पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले बताए । नर्सिङ सेवा कार्यक्रम प्राथमिक उपचारमा केन्द्रित भएपनि विद्यार्थीमा देखिने विभिन्न समस्याहरुको पनि अध्ययन गर्ने गरिएको र संवन्धित अस्पतालमा पठाउने गरिएको प्रधानाध्यापक भट्टराईले बताए । प्राथमिक उपचारका लागि आवश्यक सम्पूर्ण सामग्री सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उनले बताए ।

विद्यालयमा छात्रा विद्यार्थीका लागि सेनेटरी प्याड पनि राखिएको छ । विद्यालयमै प्याड राखिएपछि महिनाबारीका समयमा विद्यालय नआउने समस्या हटेर गएको उनले बताए । उनका अनुसार विद्यार्थीका लागि आराम कक्षको पनि प्रवन्ध गरिएको छ । विद्यालयमा नर्सिङ सेवा कार्यक्रम शुरु भएपछि हरेक विद्यार्थीको फाईल मेन्टेन गरिएको प्रधानाध्यापक भट्टराईले बताए । विद्यार्थीलाई वातावरणीय सरसफाई, विभिन्न रोगहरूका बारेमा पनि विद्यालयमा नर्सले कक्षा पनि लिने गरेको उनले बताए ।

विद्यालयमा नर्सिङ सेवा शुरु भएपछि विद्यार्थीलाई धेरै फाईदा पुगेको झापा विर्तामोडको देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताईन । ४ हजार भन्दा बढी विद्यार्थी भएको सो विद्यालयमा दैनिक ८० देखि ३ सय सम्म विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाई छ । मन्त्रालयले नियुक्ति गरेको नर्सले विद्यालयमा सेवा दिन नसक्ने भएपछि विद्यालयले अहिले आँफै नियुक्त गरेको छ । कार्यक्रम प्रभावकारी भएकाले दैनिक ५ सयमा नर्स नियुक्ति गरिएको प्रधानाध्यापक श्रेष्ठले बताईन । मन्त्रालयबाट नयाँ नियुक्ती भएर आउन ढिला भएकाले विद्यालयले आँफै प्रवन्ध गरेको उनको भनाई छ ।

संघीय सरकारको स्वास्थ्य ऐन अनुसार सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा नर्सिङ सेवा कार्यक्रम शुरु गरेको मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्ले बताईन । कार्यक्रमबारे मन्त्रालयले कार्यविधि पनि तयार गरेको छ । करिव एक वर्ष अघि शुरु भएको कार्यक्रम प्रभावकारी हुँदै गएको उनले बताईन । कार्यक्रम अन्र्तगत स्कुल आउने विद्यार्थीको स्क्रिनिङ गर्ने गरिएको अधिकृत काफ्लेले बताईन । उनले भनिन,‘विद्यार्थीको अहिले आँखा स्क्रिनिङ गर्ने गरिएको र आँखा अस्पतालमा पठाउने गरिएको छ ।’ कार्यक्रम अन्र्तगत प्रर्बद्धनात्मक सेवा, स्वास्थ्य प्रर्बद्धन सेवा, व्यक्तिगत सरसफाई, महिनाबारी सरसफाई, वातावरणीय सरसफाई, स्वास्थ्य जीवन शैलीबारे सिकाउने गरिएको कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्ले बताईन । विद्यालयमा अहिले जंक फुड बन्द गरिएको र हरेक विद्यार्थीलाई घरबाट खाजा लिएर आउनु भन्ने गरिएको छ । उनले भनिन,‘ घरमा केही नभए आलु उसिनेर भएपनि ल्याउनु भन्ने गरिएको छ ।’ नर्सिङ सेवा कार्यक्रमको माग अहिले धेरै बढेको काफ्लेको भनाई छ । उनका अनुसार मन्त्रालयले बर्षेनि विद्यालय संख्या बढाउँदै लैजाने छ ।

चालु आर्थिक वर्षका लागि नर्सिङ सेवा कार्यक्रम अन्र्तगत मन्त्रालयले ४ करोड बजेट छुट्याएको कम्युनिटी नर्सिङ अधिकृत काफ्लेले बताईन । स्थानीय तहहरुले पनि कार्यक्रम शुरु गरेको उनले बताईन । कार्यक्रम शुरु भएका विद्यालयले आफ्नो कार्ययोजना सहित मासिक रुपम मन्त्रालयमा प्रतिवेदन बुझाउने गरेका छन् ।

विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालय

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा प्रदेश १ का १४ जिल्ललाई समेटर एक जिल्ला एक विद्यालय छनौट गरेको थियो । जसमा थेचम्वु मावि ताप्लेजुङ,गणेश मावि पाँचथर, आदर्श मावि इलाम, सरस्वति मावि संखुवासभा, वसन्त मावि तेह्रथुम, अरुणोदय मावि धनकुटा, तिम्मा मावि भोजपुर, राष्ट्रिय मावि खोटाङ, जनजागृति मावि सोलुखुम्वु, ज्ञानज्योति मावि ओखलढुङ्गा, बाल मन्दिर मावि उदयपुर, देवी मावि झापा, पोखरिया मावि मोरङ र बाल मन्दिर मावि सुनसरी रहेका छन् ।

५६ विद्यालय थपिदै

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५६ विद्यालय थप्ने योजना बनाएको छ । हरेक प्रदेश निर्वाचन क्षेत्रमा एक सामुदायिक विद्यालय पर्ने गरी विद्यालय छनौट गरिने मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेले जानकारी दिईन । उनका अनुसार विद्यालय छनौटको काम भईरहेको छ । अन्तिम सूची बाँकी रहेको उनको भनाई छ । हरेक वर्ष विद्यालय थप गर्दै जाने मन्त्रायलयको योजना रहेको उनले बताईन । 

A Levels MA