A Levels MA

शिक्षाविद् अङ्गुरबाबाको निधन

पद्मकन्या बहुमुखी क्याम्पसकी तत्कालीन प्रमुख अङ्गुरबाबा जोशीको आज निधन भएको छ । क्याम्पस प्रमुख बन्ने पहिलो महिला हुन् । उनको आजै अन्तिम संस्कार गरिने भएको छ ।

८८ वर्षको उमेरमा उनको निधन भएको छ । सन् १९३२ सालमा डिल्लीबजारमा उनको जन्म भएको थियो । ११ वर्षको उमेरमा विवाह भएपछि उनले औपचारिक शिक्षा प्राप्त गरेकी थिइन् । उनका पति बलराम जोशी र उनले सँगै एसएलसी परीक्षा दिएका थिए । उनले एसएलसी परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण गरेकी थिइन् ।

उनी जन्मदै थ्यालिसिमिया माइनर नामक रोगबाट ग्रसित थिइन् । भारतबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । उनी नेपाल फर्किदा पद्मकन्या कलेज स्थापना भइसकेको थियो । उनले सो कलेजमा स्नातक अध्यापन गर्न थालिन् । ल क्याम्पस खुलेपछि उनी बीएल तहमा भर्ना भइन् । बीएल उत्तीर्ण हुने नेपालको पहिलो महिला पनि बन्न सफल भइन् ।

छात्रवृत्ति पाएर बेलायत अध्ययन गर्न गइन् र फर्किएपछि पद्मकन्या क्याम्पसको प्रमुखमा नियुक्त भइन् । उनले सो क्याम्पसमा १८ वर्ष प्राध्यापन गरिन् । उनले नै पद्मकन्या क्याम्पसमा पोशाकको थालनी गरेकी थिइन् । उनकै पहलमा बागबजारमा जग्गा अधिग्रहण गरेर पद्मकन्या क्याम्पसको भवन बनाइयो । पञ्चायतकालमा उनी महिला संगठनको काठमाडौँ सभापति पनि बनिन् । संगठनको सभापतिमा उनी र कमल शाहबीच लामो समयसम्म विवाद सिर्जना पनि भएको थियो ।

उनले दुईपटक क्यान्सरलाई जित्न सफल भएकी थिइन् । घाँटीमा लागेको क्यान्सर फाल्दा उनको मुख बाँगिएको थियो । उनले चितवनको देवघाटमा रामजानकी गर्गी कन्या गुरुकुल स्थापना गरेकी थिइन् । उनले कल्पना कथासंग्रह, क्यान्सरः बरदान, वृद्ध अवस्थाः जीवनको श्रीपेच र दीक्षा पुस्तक लेखन गरेकी थिइन् । उनले २०७२ सालमा जगदम्बा श्री पुरस्कार प्राप्त गरेकी थिइन् ।

 

Thuprai - Books and E-books