‘शिक्षा जीविकोपार्जनसँग जोडिनुपर्दछ’

पोखरा, १४ पुस (रासस) : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले व्यक्तिको जीविकोपार्जनसहित मुलुकको समृद्धिसँग जोडिने शिक्षा हुनुपर्ने बताउनुभएको छ । 

पोखरा महानगरपालिका वडा नं १७ मुस्ताङचोकस्थित पार्दी माविको ५६औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तिपर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

सामुदायिक विद्यालयको गुणस्तर एवं प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको समन्वय आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । मुलुकमा खेलमैत्री संस्कृतिको विकाससँगै खेलकूदलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताउँदै उहाँले खेललाई पेशा र उद्योगका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीअनुरुपको शैक्षिक गुणस्तर कायम हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वशिक्षकलाई सम्मान गर्नुका साथै उत्कृष्ट अभिभावक, छात्रछात्रा भलिबल र दुई किलोमिटर दौड प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई पुरस्कृत गरिएको थियो । 


कार्यक्रममा विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफल विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तीर्थ अधिकारी, पुरस्कृत व्यक्तित्व नविन वराल, पूर्वप्रअ धनागुरुङ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शालिग्राम देवकोटालगायतले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal