A Levels MA

कक्षा १२ का परीक्षार्थीलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अपिल

प्रिय बिद्यार्थी भाइबहिनीहरु, तपाईहरु २०७७ मंसिर ९ बाट सुरु हुनगईरहेको कक्षा १२ को परीक्षाको अन्तिम तयारीमा हुनुहुन्छ । म सर्वप्रथम परीक्षामा सामेल हुन लाग्नु भएका सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।

गएको बैशाख २० गते देखि परीक्षा सुरु हुने कार्यतालिका सार्वजनिक गरिएता पनि माहामारीको रुपमा विश्वभरी फैलिएको कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण समयमा परीक्षा सम्पन्न हन नसकेको सर्वविदितै छ । कक्षा १२ बिद्यालय शिक्षाको अन्तिम तह भएकोले यसपछि तपाईहरु कोहि उच्च शिक्षा अध्ययनको लागि देश तथा विदेशका बिभिन्न बिश्वविद्यालयमा जान हुन्छ भने कोहि कामको संसारमा प्रवेश गर्नुहुनेछ त्यसबेला तपाईहरुले प्राप्त गरेको योग्यताको प्रमाणपत्र माथि कहि कतै प्रश्न नउठोस भन्नका लागि यो कोरोना संक्रमणको बिशिष्ट अबस्थामा पनि नेपाल सरकारले परीक्षा लिने निर्णय गरेको हो । तपाईहरुलाई जानकारी भईसकेको छ, यसपटक कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ भने बाँकी ४० प्रतिशत विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अङ्कको आधारमा र २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय समयमा विद्यालयले लिएको परीक्षा समेतलाई आधारमानी विद्यालयले आन्तरिक मुल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्न गईरहेको छ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाईजर प्रयोग गर्ने, साबुन पानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाईपूर्वक पालना गर्ने लगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको हँदा ढक्क भएर परीक्षामा सहभागी हुन म यहाँहरुलाई अनुरोध गर्दछु।

प्यारा भाइबहिनीहरु, केही समय अघि म आफू पनि कोरोना संक्रमित भएको थिएँ । मेरो अनुभवमा कोरोना सम्बन्धी सचेतना हाम्रो समाजमा अपुग छ । सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेला बेलामा हातधुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्रयाई गर्दा महामारी गहिरिएको मेरो अनुभव छ । यस कोणबाट हेर्दा युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोना सम्बन्धी मापदण्ड सहीढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले बिश्वास लिएको छु । साथै घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउदा जाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्दछु ।

आदरणीय अभिभावकज्युहरु,

परीक्षा केन्द्र वरिपरी भिडभाड नगर्न, नगरिदिनुहुन पनि बिशेष अनुरोध गर्न चाहन्छु । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनः परीक्षा दिन पाउने आवश्यक व्यवस्था मिलाईएको समेत जानकारी गराउदछु।

जनप्रतिनिधिज्युहरु,

परीक्षालाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड र स्वास्थ्य क्षेत्रका विज्ञहरुको सझाबहरुलाई समेत समेटेर 'कक्षा १२ को परीक्षा संचालन सम्बन्धी कार्यविधि, २०७७' जारी गरिएको यहाँहरुलाई विदितै छ। यसलाई सम्पन्न गर्नका लागि तीनै तहका सरकार लागि परेको भएता पनि स्थानीय सरकारको नेतृत्व बिना यो परीक्षा सफल हुन सक्दैन तसर्थ स्थानीय सरकारलाई सचेततापूर्वक अग्रपंतिमा रहेर पहल कदमी लिन पुन: अनुरोध गर्न चाहन्छु ।

अन्तमा, परीक्षा सञ्चालनमा खटिनुभएका शिक्षक, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण सरोकारवालाहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै र गराउँदै व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न हार्दिक अपिल गर्दछु ।

पुन: एकपटक परीक्षामा सामेल हुन लाग्नु भएका सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना दिन्छु ।

धन्यवाद!

गिरिराजमणि पोखरेल

मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Thuprai - Books and E-books