After SEE Portal

शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियो

Bridge Course

माघ ८ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भनी पठाइएको प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थन्क्याइदिएको तथ्य फेला परेको छ ।

यसअघिका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । त्यसलाई मन्त्रिपरिषद्ले थन्क्याइदिएको थियो ।

शिक्षा सचिव रामप्रसाद थपलियाले माघ ८ गते शिक्षा दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको पुष्टि गरे । सार्वजनिक नगर्ने सर्तमा ईडीयूपत्रले मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त गरेको प्रस्तावमा २०७७ साल फागुन ३ गते शिक्षा मन्त्रालयले सो निर्णय गरेको देखिन्छ । त्यसमा ‘राष्ट्रिय शिक्षा दिवस पहिलो पटक शिक्षा कानुन जारी भएको (१९९६ माघ ८) दिन माघ ८ हुने गरी म.प.मा प्रस्ताव पेश गर्न स्वीकृति हुन पेश गरेको छु’ भनी तत्कालीन शिक्षामन्त्री श्रेष्ठले सदर गरेका थिए ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार त्यसअघिका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि यस्तै प्रस्ताव लिएर गएका थिए । उनले दरबार हाइस्कुलको स्थापना दिन, पहिलो शिक्षा इस्तिहार जारी भएको दिन, पहिलो संस्कृत पाठशाला स्थापना भएको दिन, राष्ट्रिय शिक्षा नीति स्वीकृत भएको दिन लगायतमध्ये कुनै एक दिनलाई शिक्षा दिवस मनाउन सकिने प्रस्ताव गरेका थिए । सो प्रस्ताव उपर पछि निर्णय गर्ने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए ।

मन्त्रिपरिषद् सूत्रका अनुसार कृष्णगोपाल श्रेष्ठले लगेको प्रस्ताव उपर पनि तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिए । तर शिक्षा मन्त्रालयले निकै खोज्दा पनि फेला पर्न सकेन । सूत्रका अनुसार सोही कारणले सो प्रस्ताव थन्किएको हुनसक्ने बताइएको छ ।

२०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको अवसर पारेर सो मितिमा शिक्षा दिवस मनाउन थालिएको थियो । २०६२÷६३ को आन्दोलनपछि २०६३ साल फागुन १२ गते शिक्षा दिवस मनाइएन र त्यसलाई २०६४ सालको अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउने निर्णय गरियो । सोही अनुरुप हरेक सेप्टेम्बर ८ अर्थात् भदौ २३ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा पनि मनाउन थालिएको थियो । गत वर्ष तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले साक्षरता दिवस र शिक्षा दिवस एकै दिन मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयन गर्ने निर्णय गरेका थिए । तर नयाँ मिति हालसम्म चयन हुन सकेको छैन ।

A Levels MA
Thuprai - Books and E-books