ऐँसेलुखर्कमा धुलो रहित कक्षाकोटा र सबै माविमा इलाब्रेरी स्थापना गरिँदै

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालयको पुननिर्माण गर्ने भएको छ । सबै कक्षाकोठालाई धुलोरहित बनाउन गाउँपालिकाले ढुङ्गामाटोबाट बनाइएका कक्षाकोठालाई प्लाष्टर गर्ने भएको हो ।

चालु आर्थिक वर्षभित्र ४३ सामुदायिक विद्यालयका कच्ची भवनका कक्षाकोठालाई धुलोमुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

“गाउँपालिकामा २७ प्रावि, आठ आधारभूत र आठवटा मावि छन्”, उनले भने, “पठनपाठनका क्रममा छात्र÷छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो ।”

कक्षाकोठालाई धुलोमुक्त बनाउन गाउँपालिकाले मङ्सिर २१ गते सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वान गरेको थियो । कक्षाकोठालाई धुलोमुक्त बनाउन भुइँमा र भित्तामा प्लाष्टर गरिने गाउँपालिकाले जनाएको छ ।

कक्षाकोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गत वर्ष केही विद्यालयको कक्षा धुलोरहित बनाइएकामा चालु आर्थिक वर्ष सबै कक्षालाई धुलोरहित बनाउने अभियान थालिएको गाउँ शिक्षा शाखाले जानकारी दियो ।

चालु आव ३२ विद्यालयको धुलाम्मे कक्षामा प्लाष्टर गर्ने÷गराउने तयारी भइरहेको छ । यसका लागि विद्यालयलाई आगामी पुस ५ गतेभित्र प्रस्ताव पेश गर्न पत्रचार गरिसकिएको शिक्षा शाखा प्रमुख बुद्धी प्रसाद घिमिरेले बताए । ‘गाउँपालिकाले धुलोरहित कक्षाकोठा र सबै माविमा इ–लाइब्रेरीको व्यवस्था गर्दै छ ।’ प्रमुख घिमिरेले भने, ‘गाउँपालिकाले आठ माविमा तीन हजार २०० पुस्तक भएको एक÷एक वटा इ–लाइब्रेरी स्थापना गर्नका लागि रु. चार लाख ५० हजार रकम विनियोजन बजेटमा नै गरिएको ।’

इ–लाइब्रेरीमा विभिन्न कक्षाका पाठ्यपुस्तक, सन्दर्भ सामग्रीदेखि अन्य विभिन्न विषयका पुस्तक राखिने भएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal