गृहकार्य नचाहिने हो त ?

पछिल्लो समय गृहकार्यको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको देख्छु । करिब तीन दशक विद्यालय शिक्षामा काम गरेको अनुभवका आधारमा केही विषयमा आफ्ना विचार राख्न उपयुक्त ठानेँ । 

पछिल्लो समयमा नेपालमा शिक्षाको विभिन्न आयममा काम गर्ने व्यक्तित्वका बीचमा देखिएको द्वैध र दुविधायुक्त विचारका कारण शिक्षा क्षेत्र खस्कँदै गएको छ । विद्यार्थीका अधिकार र स्वतन्त्रताका नाममा उनीहरूलाई गृहकार्य दिनु हुँदैन, किताब धेरै पढाउनु हुँदैन, किन घोकाउनु पर्यो, किन कण्ठ गराउनु पर्यो, परीक्षा किन चाहियो भन्ने जस्ता विषय यत्रतत्र बहसमा छन् । र, कहिलेकाहीँ सञ्चारका माध्यमका मूल विषय पनि बन्ने गर्छन् । 

हुन त अचेल सामाजिक सञ्जालमा जो पनि शिक्षा सल्लाहकार र शिक्षाविद् नै बनेको देखिन्छ । त्यसका लागि कुनै डिग्री चाहिएन । कक्षाकोठामा काम गर्नु परेन । सिकाइ निरन्तरताको जवाफदेहिता पनि चाहिएन । विद्यार्थी पास फेलको जिम्मा त लिनै परेन । बोलिदिए पुग्यो । त्यसबाट निस्कने परिणामप्रति कुनै चासो, चिन्ता वा जवाफदेहिताको विषय त रहँदै रहेन । 

वास्तवमा सिकाइ कसरी हुन्छ ? सिकाइका लागि के के आवश्यक छ ? कस्ता खालका विषय आवश्यक छन् ? पाठ्यक्रमले के माग गर्छ ? कक्षाकोठामा जानुपूर्व के तयारी गर्नुपर्छ ? गृहकार्य वा कक्षाकार्यको आवश्यकता किन हुन्छ ? पठनपाठनका विधि, सिकाइ उपलब्धि, सिक्नका लागि आवश्यक पर्ने वातावरण जस्ता विषयमा बहस खासै हुँदैन । खासगरी निजी विद्यालयले विद्यार्थीहरूलाई पठनपाठन गराउने क्रममा अलि बढी जोड दिने गरेको विषयबाट यो बहस प्रारम्भ भएको देख्छु । यहाँ सिकाइ प्रक्रियाको विषयमा भन्दा बढी निजी विद्यालयले विद्यार्थीलाई विद्यालयको शैक्षणिक कार्यक्रमसँग निरन्तर जोडिराखेको विषयमा धेरैको टाउको दुःखेको देखिन्छ, गृहकार्य पनि त्यसैको एउटा किस्सा हो । 

सामुदायिक विद्यालय जहाँ सबैको चिन्ता चासो र सहयोग हुनुपर्ने हो त्यहाँ खासै विज्ञको समय खर्च भएको देखिँदैन । किनकि सामुदायिक विद्यालयको विषयले ‘पब्लिक कन्जम्सन’ ग्रहण गर्दैन । त्यसैले यी र यस्ता विषय निजी विद्यालयतर्फ नै सोझिने गर्दछ । 

वास्तवमा के विद्यार्थीलाई गृहकार्य दिनै पर्दैन त ? उनीहरुलाई एउटा तहको शैक्षिक अनुशासनमा राख्नु पर्दैन ? हाम्रो समाज, हामीले उपभोग गरिरहेको सामाजिक परिवेश, चेतनाको उपल्लो स्तरमा पुगिसक्यो ? यी र यस्ता विषयमा गरिने सस्ता बहसका कारण हाम्रो शैक्षिक जगत स्वतन्त्रताको नाममा स्वच्छन्दतातर्फ मोडिएको देखिन्छ । हाम्रो सामु अनगिन्ती प्रश्न छन् । वास्तवमा सिकाइ अविच्छिन्न, निरन्तर, हरपल हुने विषय हो । चाहे त्यो विद्यालयमा होस् वा घरमा होस् वा समाजमा होस् । कहीँ पनि होस्, बस त्यसलाई कसरी हामी शिक्षाको मूलधारमा जोड्न सक्छौं, पाठ्यक्रमको मूल मर्मसँग जोड्न सक्छौ भन्ने विषय महत्वपूर्ण हो । 

आज नेपाली समाज राम्रा विषयहरूको निरन्तरताभन्दा पनि कहीँबाट विषयलाई नक्कल गर्ने र त्यसैमाथि आफू उत्कृष्ट भएको देखाउनका लागि दलिल पेस गर्ने ढङ्गबाट अगाडि बढिरहेको देखिन्छ । हेर्दा सामान्य लाग्ने तर कालान्तरमा यसले पार्ने प्रभाव अत्यन्तै नकारात्मक र एउटा सिङ्गो पुस्तालाई अँध्यारोतिर धकेल्ने जस्तो म देखिरहेको छु । हामीले बोल्ने, भन्ने, पढाउने, व्याख्या गर्ने विषय हाम्रो पाठ्यक्रमले कक्षागत रुपमा निर्धारण गरेको सिकाइ उपलब्धि र त्यो सिकाइ उपलब्धि हासिल गर्नका निम्ति कक्षाकोठा भित्र र बाहिर गरिने गतिविधिसँग निर्धारित हुन्छ । यसको विषयमा पाठ्यक्रम विकास केन्द्रले स्पष्ट खाका दिएकै छ । तर शिक्षा विशेषज्ञको नाममा, शिक्षा अभियन्ताको नाममा जुन प्रकारले विषय बाहिर आइरहेका छन्, यसले निश्चितै रुपमा हाम्रो सिकाइ उपलब्धिलाई कमजोर बनाउने नै छ । बहसका लागि बहस होइन, सुधारका लागि बहस हुनुपर्छ । 

गर्नुपर्ने के हो ? वार्षिक रूपमा निर्धारण गरिएको पठनपाठनका दिन र त्यस उपरान्त बाँकी भएका दिनमा, बालबालिकाको सिकाइ र त्यसको विषयसँग जोडिने उपाय के हुन् त भन्ने विषय राख्नु उपयुक्त होला । बालबालिकालाई पढाइ लेखाइको बोझ हुनैपर्छ भन्ने मलाई लाग्दैन । उनीहरूलाई रमाइलो वातावरणमा सिक्ने, हुर्कने अवसर हामीले प्रदान गर्नुपर्छ । बालबालिकाका विषयमा निरन्तर बहस गर्ने मित्रहरुले यसो गर्न हुने त्यसो गर्न नहुने भनेर कमेन्ट गर्नुको साटो के गर्न हुने भन्ने विषय चाहिँ सेयर गरे राम्रो हुन्छ । जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु । आम अभिभावकको पेसा व्यवसाय र वास्तविक अवस्थालाई मध्यनजर गर्दै, बालबालिकाको उमेर र सिकाइलाई ध्यानमा राख्दै बालबालिकाका निम्ति विद्यालय समय बाहेक के गर्ने, के नगर्ने भन्ने विषय पनि वैज्ञानिक तवरले सबैका निम्ति साझा गर्नु उपयुक्त हुन्छ । फगत बहसका लागि बहस होइन वास्तविक धरातलमा उभिएर नेपालको विद्यालय शिक्षाका सम्पूर्ण बालबालिकालाई केन्द्रमा राखेर एकपटक हेरौं, के हामीले गरेको बहसले समाधान दिन्छ ? हामी विश्वका विकसित देशका नागरिकले प्राप्त गरेको सुविधा र अवसरको अवस्थामा पुगिसकेका छौं ? त्यसतर्फ सोच्नु राम्रो कुरा हो तर अहिले हामी कुन अवस्थामा छौँ र यसबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी सबै प्रष्ट हुन जरुरी छ । 

यथार्थ परक सोचले नै शिक्षाको उद्देश्य परिपूर्ति र नयाँ बाटो खोल्नेछ भन्ने मलाई लाग्छ । समय परिस्थिति अवस्था अनुसार बालबालिकाको रुचि र पाठ्यक्रमलाई समेत ध्यानमा राख्दै कुनै पनि प्रकारको गृहकार्य वा कक्षा कार्य तय गरिनु राम्रो हुन्छ, जसले बालबालिकालाई सिक्नका निम्ति कौतुहलता जागृत गराओस् । यी विचार मेरो अनुभवका आधारमा राखेको हुँ । उल्लेखित विषयले कसैको विचारसँग मेल खाएमा संयोग मात्र हुनेछ । अस्तु ।