After SEE Portal

भागबण्डाले विश्वविद्यालय सुध्रदैनः उपकुलपति

Bridge Course

भागबण्डाले विश्वविद्यालय सुधार नहुनेमा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग  बरालले जोड दिएका छन् । ‘भागबण्डामा नियुक्त भएका पदाधिकारी दलप्रति उत्तर दायी हुँदा रहेछन् ।’ उनले भने, ‘मलाई फ्रि हेण्ड विश्वविद्यालय चलाउन दिने भए मात्र नियुक्ति एक्सेप्ट गर्छु भनेको छु ।’

उनले विश्वविद्यालय सुधार गर्न प्रमुख दलसंग छलफल र समन्वय नगरे विश्वविद्यालय सुधार नहुने बताए । ‘म प्रमुख दलको उच्च पदाधिकारीसंग छलफलगर्छु ।’ उनले भने, ‘त्रिवि सुधार नभए देश सुधार हुँदैन त्यसैले यो पहल गर्छु ।’

विश्वविद्यालयको उपकुलपति पदको नियुक्ति पछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकारसंग प्रतिक्रिया दिँदै भने, ‘विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।’

उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्ने बताए ।

‘विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ’, उनले भने, ‘यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।’

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरूको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

A Levels MA
Thuprai - Books and E-books