अपाङ्गता भएकाको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्छ

विराटनगर, ११ पुस (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी तथा अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमको १० वटा विरुवामा पानी राखेर उद्घाटन गरियो । 

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गर्नुभयो । प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका महिलामा समानता र सक्षमता वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० भिन्न प्रकृतिका अपाङ्गता भएकाहरुलाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले मोरङको धनपालथान गाउँपालिकामा ११ विघा क्षेत्रमा निर्माण गरिने ज्येष्ठ नागरिकगृहमा एउटा अपाङ्ग तालीम केन्द्र यस वर्षदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले नगर क्षेत्रमा निर्माण गरिने फूटपाथ र सडक अपाङ्गमैत्री हनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा अपाङ्गता भएका व्यक्तिलाई छुट्याइएको पाँच प्रतिशत आरक्षण नहटाउन आग्रह गर्नुभयो ।

Thuprai - Books and E-books