After SEE Portal

अटेरी सेन्टजेभियर्स स्कुललाई फेरी निर्देशन

Bridge Course

नियमन निकायको निर्देशनलाई ठाडो अवज्ञा गर्दै आएको जावलाखेलस्थित सेन्टजेभियर्स स्कुललाई आज ललितपुर महानगरपालिकाले कारवाहीको चेतावनी दिएको छ ।

मनोमानी ढङ्गले विद्यार्थी छनोटको विधि बनाएको सो स्कुललाई भर्ना प्रक्रिया तत्काल रोक्न महानगरपालिकाले निर्देशन दिएपछि सो प्रक्रिया अवरुद्ध भएको थियो । पछि निश्चित कोटा तय गरिएपछि सहमति भएको थियो ।

स्कुलले हिजो सोमबार साँझ गोलाप्रथाका लागि विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । गोलाप्रथामा सबै विद्यार्थीलाई समावेश गरिएको छैन । सो देखेपछि महानगरपालिकाले आज विहान पत्र पठाउँदै र मौखिक रुपमा पनि विद्यार्थीको नामावली रद्द गर्न निर्देशन दिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आवेदन फाराम भरेका सबैले गोलाप्रथामा सहभागी हुनपाउनुपर्छ भन्दै थपे, “उनीहरुले अन्तर्वार्ता लिएकाहरुबाट छनोट गरिएकाको मात्र गोलाप्रथामा सहभागी बनाउन टाँस गरिएको सूची हामी मान्दैनौँ । आवेदन फाराम भरेका सबै सहभागी हुनुपर्छ भनेर प्रिन्सिपललाई निर्देशन दिएका छौँ । सो निर्देशन अवज्ञा भयो भने कारवाही प्रक्रियामा जानेछौँ ।”

उनले तोकिएको उमेरभन्दा कम वा बढी तथा मानसिक रुपमा उपयुक्त नभएका बाहेकका विद्यार्थीलाई गोलाप्रथामा समावेश गर्नुपर्ने र समावेश नगरिएकाको हकमा कारणसहित लिखित जानकारी आफूहरुले पाउनुपर्ने स्पष्ट गरेको बताए ।

कक्षा १ मा भर्नाका लागि करिब साढे चार हजार जनाले आवेदन फाराम भरेका थिए । स्कुलले महानगरपालिकाको निर्देशनपछि पुनः सूचना टाँस गर्दै अर्काे फेहरिस्त सार्वजनिक गर्ने भनेको छ । सो नयाँ फेहरिस्त आज अपरान्ह ४ बजे प्रकाशित गरिने जानकारी दिइएको छ ।

A Levels MA