सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गत वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म स्पष्ट सुनुवाइ नभएको प्रति चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले एक विज्ञप्ति जारी गरी नेपालले कोभिड–१९ को दोस्रो लहरले सिकाइमा पारेको असरलाई सम्बोधन गर्न तत्काल विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको भए पनि सुनुवाइ नभएको हुँदा चिन्ता व्यक्त गरेको हो ।

स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई निरन्तरता दिने स्पष्ट वैकल्पिक योजना र कार्यक्रम नरहेको प्रति आम अभिभावक चिन्तित भएको महासङ्घले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘‘शैक्षिकसत्र समयमै पूरा गर्ने र समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने, गराउने पूर्वशर्त र आकस्मिक शिक्षा कार्ययोजनामा उल्लेख भए अनुसारको वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि यथाशिघ्र सञ्चालनमा ल्याई विद्यार्थीको सिकाइ निरन्तरताको सुनिश्चितता गर्न माग गर्दछौँ”, महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal