After SEE Portal

त्रिविका कानुनी समस्याप्रति प्रत्यायोजित व्यवस्थापन समितिको चासो

Bridge Course

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ ।

समितिको आजको बैठकमा ‘त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन’ विषयक छलफलमा प्रत्यायोजित विधायन ऐनले दिएको अधिकारबाहिर रहेर त्रिविका नियम, विनियमावली बनेको हुँदा विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनमा आएको समस्या सुधारमा पहल गर्न समितिले जोड दिएको हो ।

समितिले विभिन्न मन्त्रालय र स्वायत्त संस्थाबाट निर्माण भएका प्रत्यायोजित विद्यायनको अध्ययन गर्ने क्रममा समितिअन्तर्गत गठित प्रत्यायोजित विद्यायन अध्ययन उपसमितिमार्फत केही समयअघि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र सोअन्तर्गत निर्माण भएका केही प्रत्यायोजित विद्यायनको प्रारम्भिक अध्ययन गरेको थियो ।

समिति सभापति मायाप्रसाद शर्माले अध्ययनबाट उक्त ऐनअन्तर्गत पाँचवटा नियम र नियमअन्तर्गतका केही विनियमावली, निर्देशिका, कार्यविधिलगायत प्रत्यायोजित विद्यायन नियमसङ्गत निर्माण नभएको बताए ।

“त्रिवि ऐनअन्तर्गत निर्माण भएका कानुन प्रत्यायोजित विद्यायन व्यवस्थापनको सिद्धान्तबमोजिम निर्माण नरहेको पाइएको छ । जसकारण विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनमा समस्या आएको हो । यसको सुधारको पक्षमा समितिले छलफल व्यापक बनाउनुपर्छ”, सभापति शर्माले बताए ।

समिति सदस्य युवराज शर्माले त्रिविका समस्या समाधानका लागि नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको बताए ।

बैठकमा समिति सदस्यहरुले त्रिवि भित्रका समस्यालाई सम्बोधन गर्न छलफल व्यापक बनाउनुपर्ने, शिक्षामा लगानी वृद्धि गर्नुपर्ने, सही मानव स्रोत, सही समयमा सही ठाउँमा राख्नुपर्ने, कानुनलाई समयसापेक्ष बनाउन अध्ययन गर्ने, पदाधिकारी आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग हुनुपर्ने, प्रवृत्तिमा सुधार गर्नुपर्ने, राजनीतिलाई नीतिमा परिर्वतन गर्नुपर्नेलगायत विषय उठान गरेका थिए।

त्रिविका प्राज्ञिक परिषद्को कार्यालयका सहप्रशासक यमन सिंह बोहराले त्रिविले गरेका निर्णय, कामकारबाहीप्रति विद्यार्थीको आक्रोशलाई सम्बोधन गर्न त्रिविको कानुनलाई नियमसङ्गत समयसापेक्ष बनाउन जरुरी रहेको बताए । त्रिवि नेतृत्वमा भागबन्डा गर्दा समस्या झन् बल्झिँदै गएको उनको जिकिर छ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले सरकार र त्रिभुवन विश्वविद्यालयबीच तादाम्यता मिलाउन आवश्यक रहेको बताए । “सरकाले त्रिविलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । मुलुकलाई आवश्यक पर्ने जनशक्तिको तथ्याङ्क यकिन गरी सोही अनुरुपको जनशक्ति उत्पादन र व्यवस्थापनमा जोड दिई दुई पक्षबीच तादाम्यता मिलाउन आवश्यक छ”, उनले भने । उनले विपन्न वर्गलाई छात्रवृत्तिको सुनिश्चितता गर्न, विश्वविधालयका यौन दुव्र्यवहारका घटनालाई नियन्त्रण गर्न कानुन आवश्यक रहेको जनाउँदै त्रिवि भित्रको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

समितिले सोही विषयमा त्रिविका पूर्वपदाधिकारीबाट पनि जानकारी लिएको थियो ।

A Levels MA