A Levels MA

कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने निर्णय

अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा ११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको छ । यस वर्षमात्र नभई सधैंका लागि अब विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्नेछ । परिषद्को अध्यक्षता शिक्षामन्त्रीले गर्ने कानुनी प्रावधान छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले परिषद्ले सो निर्णय गरेको जानकारी दिँदै भने, “विद्यालय शिक्षाको अन्तिम कक्षा १२ मा मात्र परीक्षा लिनुपर्दछ भन्ने अवधारणाअनुरुप यो निर्णय भएको हो ।”

परिषद्ले दुई वर्षअघि कक्षा १२ मा मात्र अन्तिम परीक्षा लिने निर्णय गरेको थियो । त्यसलगत्तै पुनः सच्याएर कक्षा ११ मा पनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरियो । त्यसपछिका दिनमा यो विषय विवाद र चर्चामा आएको थियो ।

पछिल्लो समय कोभिड–१९ का कारण अब कक्षा ११ मा बोर्डले नै राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गरिरहनुनपर्ने वहस सिर्जना भएको थियो । उनले भने, “कोभिड–१९ का कारण पनि यो निर्णय गर्न सहज बन्यो ।”

केन्द्रका कार्यकारी निर्देशक दाहालले विद्यालय शिक्षा कक्षा १२ सम्म भइसकेपछि केन्द्रीयस्तरमा कक्षा ११ को परीक्षा लिइरहनु जरुरी जरुरी नभएको उल्लेख गरे । “अरु केही मुलुकको अध्ययन गर्दा कक्षा १२ मै लिने गरेको पाइयो । त्यसैले कक्षा १२ बाहेकका परीक्षा विद्यालयस्तरमै हुनुपर्दछ भन्ने निष्कर्ष निकाल्यौँ” उनले थपे, “कक्षा ११ को अङ्कको गणना कक्षा १२ मा हुनेछैन । तर विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरे भन्ने बारेमा कक्षा १२ मा प्रदान गरिने प्रमाणपत्रमा कही कतै उल्लेख गरिदिनुपर्दछ भन्ने छलफल भएको छ । निर्णय हुन बाँकी भए पनि यस बारेमा प्रष्ट गरिदिनुपर्दछ भन्ने सबैको राय छ ।”

कक्षा ११ को परीक्षाको सञ्चालनका बारेमा गठित एउटा कार्यदलले अध्ययन गरिरहेको छ । त्यस कार्यदलले दिने सुझाव प्रतिवेदनका आधारमा निर्णय हुनेछ । 

उनले कक्षा ११ को आन्तरिक परीक्षा विद्यालयले कसरी सञ्चालन गर्ने र त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने बारेमा राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जानकारी दिँदै त्यसको जिम्मा पनि बोर्डलाई दिइसकेको बताए ।

“हाल एसईईमा विद्यालयले नै गरेको अन्तिम मूल्याङ्कन जस्तो हुने वा भिन्न हुने भन्ने बारेमा कार्यविधिले प्रष्ट गर्नेछ” उनले भने ।

उनले कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमै सञ्चालन हुने उल्लेख गरे । बोर्डले कक्षा ११ र १२ का प्रश्नपत्र छपाइ आफ्नै भवनमा राखेको छ । कक्षा १२ को परीक्षाको अत्तोपत्तो नभए पनि अब कक्षा ११ का ती प्रश्नपत्र औचित्यहीन बन्न पुगेका छन् ।

 

Thuprai - Books and E-books