A Levels MA

परीक्षा स्थगित पछि परीक्षार्थी चिन्तित, परीक्षाको नतिजा कहिले ?

लकडाउनकाे कारण जनाउँदै माध्यमिक तहका तीन वटा परीक्षा स्थगित भएपछि विद्यार्थीहरू परीक्षालाई लिएर निकै चिन्तित बनेका छन् । एसईई, कक्षा ११ र  १२ को परीक्षा स्थगित भएपछि परीक्षार्थीहरु चिन्तित बनेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै सरकारले ३ वैशाखसम्म लकडाउन घोषणा गरिसकेको छ ।

लकडाउनका कारण नयाँ तोकिने परीक्षा तालिका सार्वजनिक हुन सकेको छैन । विद्यार्थीहरु अहिले परीक्षा नभएपछि घरमै बसेर स्वअध्ययन गर्दै आएका छन् ।  एसईईको तयारीमा रहेकी अन्जु केसीले भनिन्, ‘के गर्नु परीक्षाको  मिति पनि तोकिएको छैन । अहिले त पढेको पनि बिर्सिन थालिसके । कहिले काहिँ किताब हेर्छु ।’ 

यस्तै कक्षा १२ को परीक्षा तयारीमा रहेका सम्झना पुनले भनिन्, ‘परीक्षा नहुने भएपछि घर गए । आज भोलि त राम्रोसंग पढेको छैन ।’ यद्यपि सरकारले लकडाउन सकिएको तिन साताभित्र एसईई र कक्षा ११, १२ को परीक्षा हुने जनाएको छ ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले घरमै बसेर परीक्षा दिनुपर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको वताए । उनले भने, ‘विद्यार्थीले घरमै बसेर पनि परीक्षा दिने बानीको विकास गर्न आवश्यक छ । तर, त्यसका लागि सरकारको इच्छाशक्ति हुनुपर्यो ।’ 

यस्तै, तहगत रुपमा लिइएको परीक्षाको नतिजा समेत सार्वजनिक भएको छैन । शिक्षकहरु विद्यालय जान नपाएपछि परीक्षाफल सार्वजनिक हुन सकेको छैन । 

Thuprai - Books and E-books