After SEE Portal

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

Bridge Course

रुपन्देहीको बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष निकालेको छ ।

अभिभावक तथा विद्यार्थीको अभिरुचि, दक्ष जनशक्तिको उपलब्धता र सरोकारवाला निकायको सुझावका आधारमा उक्त कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको बताइएको हो ।

कार्यदलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरेको अध्ययन प्रतिवेदनमा यस क्षेत्रमा उपमहानगर आफैँले पनि ललितकलासम्बन्धी विद्यालय सञ्चालन गर्न सक्नुका साथै कुनै विद्यालय छनोट गरेर वा सबै विद्यालयलाई सहभागी गराएर पनि कक्षा सञ्चालन गराउन सक्ने उल्लेख गरिएको छ ।

उपमहानगर प्रमुख सुवेदीले यस्ता अध्ययनले बुटवलमा रहेका विज्ञको क्षमतालाई चिनाउने कामसमेत हुने बताए। “अब विज्ञ खोज्न बाहिर जान पर्दैन, अहिले बाहिर जिल्लामा पनि पाठ्यक्रम निर्माण गर्न बुटवलकै विज्ञ खोज्न थालिएको छ,” उनले भने ।

अध्ययन प्रतिवेदनमा पाठ्यक्रम निर्माण, जनशक्ति व्यवस्थापन र उच्च शिक्षाका लागि विश्वविद्यालयहरूसँग सम्बन्ध स्थापना गरी सहजरूपमा व्यवस्थापन गर्न सकिने तथा विद्यालय तहमा ललितकलाको कक्षा सञ्चालनले अन्य विश्वविद्यालय समेत लाभान्वित हुनाका साथै उच्च शिक्षा प्रभावकारी हुने उल्लेख छ ।

स्थानीय रूपमा सञ्चालित निजी प्रशिक्षण केन्द्रहरू र यससँग सम्बद्ध दक्ष शक्तिलाई आवधिक कार्यक्रमबाट प्रमाणीकरणको प्रक्रियामा लैजान सक्नाका साथै स्थानीय जनशक्तिलाई रोजगारको व्यवस्था गर्न सकिने र कायमूलक अभ्यासका निम्ति यस्ता केन्द्रहरु उपयोगमा आउने हुनाले व्यावसायिक क्षेत्रको प्रवद्र्धन हुने कार्यदलका संयोजक डा तिलक भुसालले बताए ।

विद्यालयहरूमा मन्टेस्वरी कक्षा, बालमैत्री कक्षा आदिका नामबाट पठनपाठन गर्ने प्रक्रियामा आशिक रूपमा ललितकलाले पनि स्थान पाएको भेटिएको र केही विद्यालयले प्राथमिक तथा आधारभूत तहसम्म सङ्गीत तथा चित्रकलाका कक्षाहरू सञ्चालन गरेको पाइएको उनको भनाइ थियो ।

उपमहानगरपालिकाले ललितकलाका विभिन्न विषयमा कक्षा सञ्चालन गर्ने, विशेष विद्यालय स्थापना गर्ने वा उपमहानगरमै स्थापित सामुदायिक विद्यालयलाई छनोट गर्न सक्ने विकल्प पनि अध्ययन प्रतिवेदनमा सुझाइएको छ ।

यस्तै उपमहानगरले सबै विद्यालयमा ललितकलासम्बन्धी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग तथा दक्ष जनशक्ति उपलब्ध गराएर अध्यापन गराउन सक्ने गरी अर्को विकल्प पनि प्रस्तुत गरिएको छ । कार्यदलले यी विकल्पसँगै ललितकला अध्यापनका लागि अनुभवी र योग्य प्रशिक्षकको व्यवस्था, विषयगत सामग्रीको उपलब्धता, प्रयोगात्मक अभ्यासका लागि छुट्टै भवनको व्यवस्था, नियमित कार्यमूलक कक्षाको व्यवस्था, प्रवेश परीक्षामा प्रयोगात्मक कक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।

यस्तै ललितकलालाई प्राज्ञिक एवम् प्रायोगात्मक विषयका रुपमा स्थापित गर्न र यस विषयको प्राध्यापनका लागि छुट्टै दरबन्दी सिर्जना गर्न पनि जोड दिएको छ ।

यस कार्यका लागि डा तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले विस्तृत अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न उपमहानगरपालिकाले निर्देशन दिएको थियो ।

यो मुलुकमै नौलो र पहिलो कार्यक्रम हो । विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य अहिलेसम्म भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्यजस्ता विषयमा आंशिक तथा पूर्णकालीनकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरुको ठम्याइ थियो ।

उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललितकलाको विषय अध्ययन र अध्यापनले विद्यालय तहदेखि नै बालबालिकामा ललितकला सम्बन्धीको अभिरुचिलाई उजागर गर्ने गरी अवधारणा बनाइएको हो ।

विद्यालयतहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यावसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन गराउने उद्देश्य उपमहानगरको छ ।

ललितकलाप्रति विद्यार्थीको अभिरुचि, परिवेश, यहाँका विद्यालयहरूमा ललितकलासम्बन्धी अध्ययन अध्यापनको स्थिति र यसको दीर्घकालीन विकासका निम्ति विद्यालयमा कक्षाका व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययनपछि कार्यदलले प्रतिवेदन बनाएको हो ।

कार्यदलले काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका ललितकला विभागका प्रोफेसरहरूसँग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो भने प्रारम्भिक प्रतिवेदनका आधारमा बुटवलमा एक कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन पनि गरिएको थियो ।

के हो ललितकला ?

ललितकला मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्येको एउटा शाखा हो ललितकला । मनका सूक्ष्म भाव र सौन्दर्यआदिलाई पूर्ण रूपमा प्रस्फुरण गराउने वास्तु, मूर्ति, सङ्गीत, चित्र, साहित्य आदि विधामा फैलिएको ज्ञानको शाखा पनि ललितकला हो ।

यसले गहन रूपमा मानवजीवनका विविध पक्षसँग सम्बद्ध चौसठ्ठी कलालाई समेटेको हुन्छ ।

आफ्नो क्षेत्रभित्र ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको अध्ययन कार्यदलको निष्कर्ष प्राप्त भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

अभिभावक तथा विद्यार्थीहरूको अभिरुचि, विद्यार्थी तथा दक्ष जनशक्तिको उपलब्धता र विज्ञहरूका अनुभव र सुझावका आधारमा बुटवल क्षेत्र उपयुक्त रहेको विज्ञको निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन आएको उनको भनाइ थियो ।

A Levels MA
Thuprai - Books and E-books