रुकुमका १३ सामुदायिक विद्यालयको खाता रोक्का

मुसिकोट, २२ असोज (रासस): रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १३ सामुदायिक विद्यालयको खाता रोक्का गरेको छ । 

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायःअनुपस्थित हुने शिक्षक तथ्याङ्कका आधारमा विद्यालयको खाता रोक्का गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । 

“सबै विद्यालयमा रहेका शिक्षकको सही तथ्याङ्क उपलब्ध गराउन नगरले पटक–पटक आग्रह गरेको थियो तर केही विद्यालयले अटेरी गरेका कारण खाता रोक्का गरिएको हो”, उहाँले भन्नुभयो । पछिल्लो समय नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि नगरका सबै विद्यालयमा नियमित अनुगमन र निगरानी तीव्र पारिएको छ । विद्यालयमा नपढाउने र कुनै जानकारीविना बिदामा बस्ने शिक्षककोसमेत तलब कट्टा गरिएको नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाका अधिकृत धनञ्जय आचार्यका अनुसार चालू आर्थिक वर्षदेखि विद्यालयमा नियमित अध्यापन नगराउने शिक्षकको पनि तलब कटौती गरिएको छ । 

नगरपालिकाले यसअघि नै विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलब कट्टा गरी विद्यालयको खातामा जम्मा गर्ने निर्णय पारित गरेको छ । उक्त तलब रकममार्फत विद्यालयको भौतिक सुधार र व्यवस्थापन गर्न नगरपालिकाले तलब रोेक्का भएका सबै विद्यालयलाई निर्देशन दिएको छ । यहाँका कतिपय शिक्षकले आफूले पाउनुपर्ने सेवा सुविधा कटौती गरिएकोप्रति दुःख व्यक्त गरेका छन् । 

Thuprai - Books and E-books