वालिङ नगरपालिकाभित्रका पाँचवटा सामुदायिक विद्यालय समायोजन

वालिङ, (रासस):  वालिङ नगरपालिकाभित्रका पाँचवटा सामुदायिक विद्यालय समायोजन भएका छन् । एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) स्थानीय तहको अधिकारभित्र परेसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरेको हो ।

वालिङ नगरपालिकाका शिक्षा शाखाप्रमुख प्रकाशबन्धु अर्यालका अनुसार समायोजन हुने विद्यालयमा शारदा आधारभूत विद्यालय सपौंदे वालिङ २, राम्चेदेवी आधारभूत विद्यालय वालिङ ३, कालिकादेवी आधारभूत विद्यालय वालिङ १२, भगवती आधारभूत विद्यालय वालिङ १३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ १३ रहेका छन् ।

शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो । शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट मावि, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटुभञ्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माविमा समायोजन गरिएको शिक्षा शाखाप्रमुख अर्यालले बताउनुभयो ।

“विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता जस्ता कारणले विद्यालयलाई पहिलो चरणमा समायोजन गरेका छौँ,” नगरप्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “समयसापेक्ष गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय समायोजनको अभियान थालिएको हो ।”
विद्यालय समायोजन अभियान पाँचवटा विद्यालयमा नयाँ शैक्षिक सत्रको शुरुआतदेखि नै लागू गरिएको नगरप्रमुख खाँणले बताउनुभयो । 

स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालय समायोजन गरेको शाखाप्रमुख अर्यालको दाबी थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal