माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा केही दिन भित्रै गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । होम सेन्टरबाटै परीक्षा सञ्चालन गरेको बोर्डमा अधिंकाश विद्यालयले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा१२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ अनुसार विवरण पठाइसकेका छन् ।
विवरण आएका विद्यालयको धमाधम डाटा रुजु, इन्ट्रिलगायतका काम भइरहेको र विवरण पठाउन बाँकी रहेका विद्यालयलाई तत्काल विवरण पठाउन ताकेता गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘हाम्रा सबै शाखाहरु सक्रिय भएर काम गरिरहनु भएको छ, अधिकांश विद्यालयले विवरण पठाइसक्नु भएको छ ।’ उनले भने, ‘अन्तिम विवरण संकलन गरेर पुनः तत्काल नतिजाको विवरण पठाउन विद्यालयलाई ताकेता गर्छौं ।’
विद्यालयले प्राप्तांक पठाउँदा सिरियल नम्बर नमिलाएका कारण डाटा इन्ट्री गर्न भने केही ढिला भइरहेको छ । ‘विद्यालयले आफ्नै विद्यार्थीको विवरण पनि सिलसिला मिलाएर पठाएका छैनन् ।’ उनले भने, ‘विद्यार्थीको विवरण जिकज्याक भएर आएका कारण खोज्दै इन्ट्री गर्दा केही ढिला भएको छ ।’
कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयदेखि स्थगित रहेको सो परीक्षा बोर्डले गत मंसिर ९ गतेदेखि १६ गते सम्म सञ्चालन गरेको थियो ।
नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० जना विद्यार्थी सम्मिलित थिए । सो परीक्षामा देशभरिका ४ हजार १०५ विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको थियो । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय भन्दा फरक जिल्लाका आफ्नो पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।
बोर्डले साविकको कक्षा १२ को विशिष्टीकरण तालिकालाई निष्कृय राखी कार्यविधि अनुसार सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरेर परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ४० प्रतिशत अंंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने व्यवस्था कार्यविधिले गरेको छ ।