After SEE Portal

दश दिनभित्रमा कक्षा १२ को नतिजा

Bridge Course

कक्षा १२ को नतिजा आगामी १० दिनभित्र सार्वजनिक भइसक्ने छ । शिक्षा पक्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको कार्यत्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “डाटा इन्ट्रीको काम सकिएको छ । उत्तरपुस्तिका रुजु गरिरहेका छौँ । रुजु गर्ने कार्य पनि ४० प्रतिशत सम्पन्न भइसकेको छ । अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिसक्ने छौँ ।” 

बोर्डले गत पुसको १५ गतेभित्र नतिजा सार्वजनिक गर्नेगरी काम थालेको थियो तर विद्यालयले जथाभावी उत्तरपुस्तिका र अङ्क विवरण पठाइदिँदा ढिला हुन गएको जनाइएको छ । “विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेर क्रमवद्धरुपमा पठाएनन्” उनले भने, “जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाए । भद्रगोल गरेर पठाए । केन्द्राध्यक्षहरुको कमनसेन्स पनि देखिएन । हातैले मार्क इन्ट्री गरेर मनपर्दीढँगमा पठाए । जबकी उनीहरुलाई हामीले तालिम दिएका थियौँ र यस बारेमा वेबसाइटमा पनि जानकारी राखेका छौँ ।”

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गर्ने नीति ल्याइएको छ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षामा सम्मिलित थिए भने देशभरि चार हजार १०५ परीक्षा केन्द्र कायम गरिएको थियो ।

इन्जिनियरिङ् लगायतमा उच्च शिक्षाका लागि यस साताभित्र आवेदन फाराम भर्न पाउने अवस्था छ । कक्षा १२ को नतिजा ढिला निस्किदा विद्यार्थीहरुलाई समस्या पर्न जाने देखिएको छ । बोर्डका अध्यक्ष डा. पौडेलले इन्जिनियरिङ् सङ्कायले फाराम भर्ने म्याद बढाउनै पर्ने र नबढाएमा विद्यार्थी नपाउने भएकाले फाराम भर्न पाउने म्याद बढ्ने छ भन्नेमा आफूहरु आशावादी रहेको बताए ।

उनले कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने गरी तयारी थालिएको जानकारी दिए । 

रापबोर्डका अध्यक्ष डा. पौडेलले आगामी जेठ मसान्तभित्र कोर्स टुङ्ग्याउने गरी शैक्षिक सत्रलाई बढाउन शिक्षा मन्त्रालयसमक्ष आफूहरुले प्रस्ताव पठाएको र सोही आधारमा प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको बताउँदै भने, “आगामी चैत मसान्तसम्ममा कोर्स पूरा हुनसक्दैन । त्यसैले केही समय थप गर्नै पर्दछ । आगामी असारभित्र सबै परीक्षा सक्ने गरी योजनाको खाका बनाएका छौँ । त्योभन्दा पर शैक्षिक सत्रलाई लिएर जानु हुँदैन । त्यसपछि वर्षा पनि सुरु हुन्छ ।” 

 

A Levels MA
Thuprai - Books and E-books