After SEE Portal

परम्परागत ढाँचामा कक्षा १२ को परीक्षा शुरु

Bridge Course

कोभिडको प्रभावका कारण पटक पटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा अहिले ११ बजेदेखि शुरु भएको छ । आजदेखि भौतिक उपस्थितमा शुरु भएको परीक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि बोर्डले पहिलो पटक जेठ २६ देखि असार ४ गतेसम्म र दोस्रो पटक साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको भए पनि कोरोनाका कारण स्थगित गरेको थियो ।

यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । बोर्डले होम सेन्टर कायम गरेर देशभरका ४ हजार ३१५ परीक्षा केन्द्र (विद्यालय) मा परीक्षा सञ्चालन गरिरहेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

बोर्डले कोभिड १९ संक्रमण पुष्टि भएका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको तर परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक शर्माले बताए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले राखेको शर्तलाई पालना गर्दै परीक्षा सञ्चालनमा ल्याइएको बोर्डले जानकारी दियो । सीसीएमसीले सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा गर्नुपर्ने, विद्यार्थीहरु भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेट अघि नै पुग्नु पर्ने, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डहरुको पालना गर्नुपर्ने, डीसीएमसीसंग समन्वयमा गरेर सञ्चालन गर्ने, विद्यार्थीहरुलाई परीक्षा अघि सीआईसीटी फारम भर्न लगाउने र अनुसन्धान र सम्पर्कको लागि डीसीएमसीमा पठाउने संक्रमित विद्यार्थीहरुलाई परीक्षा हलमा ३० मिनेट पछि मात्र प्रवेश दिने र संक्रमितलाई अरु परीक्षार्थी बाहिरिएको ३० मिनेटपछि मात्र बाहिर जान अनुमति दिने लगायतका शर्त सहित परीक्षा सञ्चालनका लागि स्वीकृति दिएको थियो ।

सबै परीक्षा केन्द्रले हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्य रुपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको छ । पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षार्थीको प्रश्नपत्र बोर्डले परीक्षण गर्नेछ । बोर्डका परीक्षा सकिनासाथ सबै प्रदेश कार्यालय र सम्पर्क कार्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिने बोर्डले जनाएको छ ।

इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै प्रश्नपत्र पठाइने र इन्टरनेटको पहुँच नभएका ११३ केन्द्रमा प्रश्नपत्र पठाइ सकिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । बोर्डले सबै केन्द्रलाई फरकफरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको शर्माले जानकारी दिएका छन् । 

कक्षा १२ को परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गरेको बार्डले जानकारी दियो ।

बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।

A Levels MA
Thuprai - Books and E-books