SEE Result 2082

कक्षा १२ को परीक्षामा ‘होमसेन्टर’ कायम गरिने

साविककै विधिबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ । परीक्षाका लागि हाेमसेन्टर कायम गरिने भएकाे छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण सिर्जित परिस्थितिले यतिबेला कक्षा १२ को परीक्षाको अन्योल र चासो उत्तिकै बढाएको छ । निषेधाज्ञा केही खुकुलो पारिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब साविककै तौरतरिकाबाट परीक्षा सञ्चालन गर्ने सोचमा अगाडि बढेको छ । 

परीक्षा नियन्त्रक कृष्ण शर्माले भने, “परीक्षा केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गर्ने निष्कर्षमा पुगेका छौँ । अब केही दिनमै निर्णय हुनेछ ।”

उनले गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन र लिखित परीक्षाको विधि नदोहोर्याइ निर्धारित पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गर्ने बताए । उनले उच्च शिक्षामा अध्ययनका लागि विद्यार्थीहरुलाई निकै ढिला भइसकेकोले निकासका लागि आफूहरु प्रयत्नशील रहेको बताए ।

यसै विषयलाई लिएर बोर्डका पदाधिकारीहरु छलफलमा जुटेका छन् । कोभिड–१९ को दोस्रो लहरको असर अझै कायम रहेको र तेस्रो लहरले प्रभाव पार्नसक्ने भनी विशेषज्ञहरुले दिएको चेतावनीका सन्दर्भमा परीक्षा केन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्नु बढी जोखिम हुने तर्क शिक्षा सरोकारवालाको छ । बोर्डको अनुमान अब यो अवस्थामा सुधार हुँदै जाने भन्ने नै छ । तसर्थ बोर्डका पदाधिकारीहरु अब साउनको मध्यपछि वा भदौमा परीक्षा सञ्चालन गर्ने सोचाइमा छन् । 

दोस्रो भेरियन्टले विद्यार्थी र शिक्षकका असर गरेकोले हालको परिस्थितिमा उनीहरु परीक्षा केन्द्रमा सिधै प्रवेश गर्ने पक्षमा देखिदैनन् । विद्यालय सञ्चालकहरु कक्षा १२ को परीक्षा केन्द्र कायम गरेर सञ्चालन गर्नुअघि खोपको माग गरिरहेका छन् । दुई वटा खोपको अन्तर कम्तीमा एक महिना हुनुपर्दछ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौमा परीक्षा सञ्चालन गर्न आफ्ना प्राध्यापकहरुलाई खोप लगाइदिन थालेको छ । यस्तै तयारी राष्ट्रिय परीक्षा बोर्डले गरिदिनुपर्ने भनाइ शिक्षकहरुको छ ।

परीक्षा नियन्त्रक शर्माले ‘होम सेन्टर’ कायम गरी परीक्षा सञ्चालन गर्न समस्या नहुने तर्क गर्छन् । “होम सेन्टर भएमा परीक्षार्थीलाई आफ्नै विद्यालयमा गएर परीक्षा दिन समस्या हुँदैन” उनले भने, “कक्षा १२ कोमात्र परीक्षा हुने भएकाले सामाजिक दूरी कायम गर्न पनि समस्या हुँदैन । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।”

उता उच्च शिक्षालय तथा विद्यालय सङ्घ नेपाल (हिसान)का महासचिव लोकबहादुर भण्डारीले स्वास्थ्य मापदण्ड पालना गरेर आफू पढेकै विद्यालयमा परीक्षा दिन समस्या नहुने बताउँदै समय धेरै घर्की सकेकोले छिटो निर्णय गरिदिनुपर्ने बताए ।

यसअघि बोर्डले गत जेठ २६ गतेबाट परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो । त्यसबेला कोभिड–१९ को दोस्रो लहर निकै झाङ्गिएकोले परीक्षा स्थगित हुन पुगेको थियो ।

+2 School
Counseling
Bachelors Portal