After SEE Portal

कोरोनाले परिवर्तन गरेको चिनियाँ शिक्षण विधि (हेनान् विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापकको अनुभव)

Bridge Course

चिनियाँहरु बसन्त पर्वको रमाइलो र एक महिनाको छुट्टीको योजना बनाउँदै थिए । विदाको समयमा यात्रा गर्न रमाउने चिनियाँका लागि जनवरी २३ तारिखका दिन एउटा दुःखद समाचार आयो । हुबेई प्रान्तको उहान सहरमा कोराना भाइरसका विरामी देखियो । 

सरकारले उहान सहर लकडाउन गर्ने अखर चिनियाँ सञ्चारमाध्यम र विच्याट्मार्फत चिनियाँहरुको हातहातमा पुग्यो । त्यसपछि चिनियाँहरुको बसन्त पर्व पनि खल्लो भयो, छुटीमा बनेका योजना सबै स्थगित भए । 

देशभर चिनियाँ आफ्नो घरमा सुरक्षित भएर परिवारका साथ रहन थाले । उहान लगायत देशभर सर्तकता अपनाइयो । सरकारको निर्देशनलाई आज्ञाकारी भएर पालना गर्ने चिनियाँले घरभित्र बसेर आफू र आफ्नो परिवारका साथमा समय विताए । 

चीनमा प्राथमिक विद्यालयदेखि विश्वविद्यालय सबैजसो जनवरी १५ देखि फेब्रुअरी १५ सम्म एक महिनाको छुट्टी थियो । बसन्त पर्व र जाडोयामको विदा एकैपटक हुने चीनमा १७ फेब्रुअरी सोमबारदेखि विद्यालय र विश्वविद्यालयका कक्षा सञ्चालन हुने तालिका तय भएको थियो । 

चीनमा कोरोना भाइरसको महामारी भएपछि घर बाहिरको यात्रामा प्रतिबन्ध लगाए पनि विद्यालय र विश्वविद्यालयको पढाइमा कुनै अवरोध भएन । केन्द्रदेखि प्रान्त सरकारले घरमा बसेर आधुनिक सञ्चारमाध्यमको प्रयोग गरी अध्ययन र अध्यापन गर्ने व्यवस्था मिलायो ।   

चीनमा दुई शैक्षिकसत्रमा पढाइ हुने गर्दछ । फेब्रुअरीदेखि जुलाइसम्म र अगष्टदेखि जनवरीसम्म । विश्वविद्यालयमा वर्षमा दुई समेस्टरअनुसार पढाइ हुने गर्दछ । स्नातक अध्ययन गर्न चार वर्ष र स्नातकोत्तरको लागि तीन वर्षको समय लाग्ने गर्दछ । प्राविधिक विषय र विश्वविद्यालयअनुसार फरक शैक्षिक सत्र पनि छन्। 

चीनमा कोरोनाको आपत परे पनि शिक्षा क्षेत्रमा प्रविधिको माध्यमबाट सबै अध्ययन र अध्यापन हालसम्म जारी छ । विद्यार्थीले आफ्नो घरमा बसेर पढेका छन्, शिक्षकले घरैबाट पढाइरहेका छन् ।

चिनियाँहरु अधिकाँश विच्याट, क्यु क्यु चलाउन अभ्यस्त भएका छन् । घरका बालकदेखि बृद्धसम्म विच्याटमा कुराकानी गर्ने गर्दछन् । विच्याट जस्तै  टिगटिगका एप्समार्फत विद्यार्थीहरुले भिडियो संवाद गरेर आफ्ना विषयहरु अध्ययन गरेका छन् । विद्यालयका शिक्षक र विश्वविद्यालयका अध्यापकले विद्यार्थीहरुलाई विषयअनुसार अध्यापन गर्ने, अभ्यास र गृहकार्य दिने गरेका छन् । 

एक अरब ४० करोड जनसङ्ख्या भएको, संसारको दोस्रो महाशक्ति देश चीनका जनताको मेहनत र अनुशासनका कारण देशले उन्नति गरेको हो । देशमा आएको महामारीमा चिनियाँ जनताले केन्द्रीय र प्रान्तीय सरकारको निर्देशन मानेर घरमा बसेर गर्न सकिने कामहरु गरिरहेका छन् । 

चीनभरका साना विद्यालयदेखि विश्वविद्यालयसम्मका र विद्यावारिधि शोध गरिरहेका सबै विद्यार्थीहरुले अनलाइनमार्फत आफ्नो अध्ययनको कामलाई तोकिएको मितिबाट सञ्चालन गरे । फेब्रुअरी महिनाको १७ तारिखदेखि सुरु भएको कक्षा अहिले पनि हरेक सोमबारदेखि शुक्रबारसम्म विद्यार्थीहरुले विद्यालयको तालिकाअनुसार पढ्ने गरेका छन् । विश्वविद्यालयका विद्यार्थीहरुले विहानी, दिवा र साँझ सत्रहरुमा अध्ययन र अध्यापनमा सहभागी हुने गरेका छन् । 

विद्यालयमा निर्धारण गरेको पुस्तकअनुसार पढने र गृहकार्य गर्ने काम गर्दछन् । साना विद्यार्थीहरुलाई अभिभावकको सहयोगका गृहकार्य दिने र पढ्ने काम गराइन्छ । शिक्षक र विद्यार्थीहरुबीच संवाद हुने भएकाले अभिभावकहरु पढ्ने र पढाउने काममा सहयोगी बनेका छन् । छन्दु प्रान्तका चिनियाँ अभिभावक सुछिएनले भने, “मेरो छोरो अनलाइनबाट पढ्छ, म पनि घरमा पढाउँछु । ठीक छ, महामारी भएको बेला हामीले घरमा बसेर आफू पनि पढने र छोराछोरीलाई पढाउने काम गर्नुपर्छ ।” 

विश्वविद्यालयमा पनि अध्यापकहरुले आफ्ना विद्यार्थीहरुलाई निर्धारण गरिएको पाठको आधारमा पठाउने गरेका छन् । स्नातक, स्नातकोत्तर र विद्यावारिधि शोध गर्ने विद्यार्थीहरु आफना अध्यापकहरुसँग तोकिएका समयमा दूरशिक्षामार्फत अध्ययन गरिरहरेका छन् । 

महामारीको सामना गर्दै पढ्ने र पढाउने कामलाई निरन्तता दिनुपर्छ भन्ने केन्द्रीय सरकारको नीति सबैले पालना गरे । चिनियाँ विद्यार्थीहरुले घरमा बसेर पढे । 

विगत एक दशकदेखि चिनियाँसँग शैक्षिक सङ्गतको मेरो अनुभवमा उनीहरु अनुशासन पालना गर्ने र कामलाई जिम्मेवारीपूर्वक पालना गर्ने विशेषता भएको देखेको छु । गत एक वर्षदेखि चीनमा बसेर चिनियाँको जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पनि पाए । उनीहरु आफ्नो जिम्मेवारी तोकिएको समयमा भन्दा पहिलै गर्ने अभ्यस्त छन् । समयको महत्व र समयमा काम गर्दा हामी र हाम्रो देश अघि बढ्न सक्छ भन्ने विद्यार्थीहरुको मनोभावना छ ।

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरुलाई दिइने गृहकार्य होस् वा हप्ता दिनभित्र तयार गर्ने लेखन आदि काम उनीहरुले समयभन्दा अघि गरिसक्ने शैक्षिक अभ्यास छ । 

म पनि चीनको हनान् विश्वविद्यालयमा नेपाली, हिन्दी विषय अध्ययन अध्यापनमा तोकिएको शैक्षिक तालिकाअनुरुप सोमबारदेखि शुक्रबारसम्म नियमित विद्यार्थीहरुलाई विच्याटमार्फत पढाउँदै आएको छु । उनीहरुलाई तोकिएको पाठ्यक्रमअनुसारको सामग्री र उनीहरुको भाषाको अभ्यास, लेखन विषयमा उनीहरुसँग वार्ता र छलफल गर्ने गर्दछु । विश्वविद्यालयका प्राध्यापक र चीनमा रहेका अन्य विश्वविद्यालयका चिनियाँ प्राध्यापकहरुसँग सोमबारदेखि शुक्रबारसम्म सम्पर्कमा रहने गरेको छु ।  

शनिबार र आइतबार छुट्टीको दिन हो । चिनियाँहरु छुट्टीको दिनमा घुम्न र नयाँ ठाउँमा जान मन पराउने बानी थियो । तर अहिले अवस्था फेरिएको छ । अहिले विस्तारै चीनमा पार्क, फूलवारी खुल्न थालेका छन् । चिनियाँहरुको यो समय भनेको देशभर विभिन्न क्षेत्र र विशेष गरी हनान् प्रान्तको लोयाग सहरमा पियोनी फूलबारी घुम्न आउने लाखौं चिनियाँहरु यसपटक आफ्नो घरमा बसेका छन् । 

अहिले सबैजसो चिनियाँ नागरिक घरमा बसेका छन् । शनिबार र आइतबारका दिन परिवार र आफन्तसँग घुम्न जान नपाएको अनुभवहरु सुनाउँछन् । 

मेरा चिनियाँ मित्रहरु दक्षिण एसिया, युरोप तथा अमेरिकामा फैलिएको कोराना भाइरसको महामारीको बारेमा जानकारी मात्र होइन, त्यहाँको शैक्षिक अवस्थाको बारेमा हाम्रो छलफल हुन्छ । 

हिजो मात्र युनान विश्वविद्यालयका प्राध्यापक वाङ्ले नेपालमा पनि अनलाइनबाट कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिँदै थिए । नेपालमा पनि कोराना भाइरसले लकडाउन भएको अवस्थामा विद्यार्थीहरुलाई घरमा पढ्ने र पढाउने वातावरण रोख्नु हुँदैन भन्ने प्राध्यापकको सुझाव छ । नेपालमा पनि अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । 

मैले नेपाल टेलिभिजनबाट अहिले एसइई परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई दिउँसोको समयमा पढाउने गरिएको जानकारी दिए । प्राध्यापकले भने– यो त निकै गतिलो काम हो । 

महामारी कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कुरा कसैले पनि भन्न सक्दैन । त्यसैले विद्यार्थीहरुलाई पढ्ने र पढाउने काम रोक्नु हुँदैन । नेपालमा अहिले शैक्षिक सत्रको अन्त र नयाँ शैक्षिकसत्र सुरु हुने समय भएकाले कुनै समस्या छैन । तर कोरोना महामारी समस्या समाधान भएन भने केही दिनपछि नेपाल सरकारले पनि विद्यार्थीहरुलाई अनलाइन दूर शिक्षा माध्यमबाट पठनपाठन सुरु गर्दा अभिभावकले साथ दिनेछन् । 

अहिले सामाजिक सञ्जालमा एकजना अभिभावकले लेखेका थिए– बच्चाहरु एकछिन खेलाउँदा मात्र भगवान् रहेछन्, दिनभर घरमा बस्दा त बाँदर जस्ता हुने रहेछन् । सबैको समस्या एउटै नहोला तर आम समस्या धेरैजसो बच्चाहरु अहिले घण्टौँसम्म मोबाइल फोनमा र टेलिभिजनमा कार्टुन हरेर समय बिताउने गरेका छन् । पढभन्दा ‘कहिले विद्यालय खुल्ने हो थाहा छैन, विद्यालय खुलेपछि पढौँला नि’ भन्ने उत्तर दिँदै आएका छन् । अभिभावकहरु बालमनोविज्ञान बुझेर उनीहरुले चाहनाअनुसार चल्नु पर्ने बाध्यता छ ।

“शनिबार आइतबार आराम गर्नुपर्छ, परिवारलाई समय दिनुपर्छ” मेरा चिनियाँ विद्यार्थी चन्द्रले भन्दै थिए, “गुरुजी नेपालमा पनि अनलाइनबाट विद्यार्थीलाई पढ्ने पढाउने कक्षा कहिले सुरु भएको छ ? तपाईँ आफ्नो छोरालाई पनि अनलाइनबाट पाठ पढाउनु हुन्छ ?” 

चन्द्रको पहिलो प्रश्नको उत्तर मसँग छैन । सायद शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनपछि केही निर्णय त अवश्य गर्ला । तर घरमा अनलाइनबाट छोराहरुलाई पढ्न अनुरोध गर्दा भन्छन्– अहिले हाम्रो बिदा हो । हामी विद्यालय गएपछि पढ्छौँ, अहिले हामी खेल्छौँ । यतिभन्दै मेरा छोराहरु मोबाइल र टेलिभिजनमा दिन बिताउँछन् । मैले के गरौँ ? मेरो जस्तै समस्या अन्य अभिभावकले पनि पक्कै भोग्नु भएको होला ? 

धैर्य गरौँ, कोरोना महामारी नियन्त्रणमा समय लाग्ने छ । लकडाउनको समय बढ्दै गयो भने नेपालमा पनि अनलाइनबाट पढ्ने र पढाउने काम सुरु गर्नैपर्ने हुन्छ । त्यसको लागि सामाजिक सञ्जाल गतिलो माध्यम बन्न सक्छ । 

 

A Levels MA
Thuprai - Books and E-books