महामारीले गर्दा बालबालिकाले जीवन तनावमा बिताएका छन्ः युनिसेफ

बालबालिका र युवाले आफ्नो मानसिक स्वास्थ्य तथा भलाइमा कोभिड–१९ को असर धेरै वर्षसम्म महसुस गर्ने छन् भनी संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले जारी गरेको आफ्नो प्रमुख प्रतिवेदनमा चेतावनी दिएको छ ।

युनिसेफको पछिल्लो अनुमानअनुसार विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका सातमध्ये एक किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । शीर्ष पाँच कारणमध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६ हजार किशोरकिशोरीको मृत्यु हुन्छ । मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकता र मानसिक स्वास्थ्य कोषको बीच ठुलो अन्तर छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रूपमा सरकारी स्वास्थ्य बजेटको लगभग दुई प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ ।  

“बितेका १८ महिना हामी सबै र विशेष गरेर बालबालिकाको लागि धेरै लामो समय भएको छ । राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँडडुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले आफ्नो जीवनका केही महत्वपूर्ण वर्ष परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहेर बिताएका छन्” युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोरले भने । 

उनले प्रभाव महत्वपूर्ण भएको र यो ठूलो समस्याको देखिने सानो भाग मात्रै रहेको स्पष्ट पारेका छन् । महामारीभन्दा पहिलेदेखि नै धेरै बालबालिका मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाको बोझले दबिएका थिए । यी महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नको लागि सरकारहरूद्वारा थोरै लगानी भइरहेको छ भन्दै उनले मानसिक स्वास्थ्य र भावी जीवन परिणामबीचको सम्बन्धलाई पर्याप्त महत्व दिइएको छैन भनेका छन् ।

महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै असर पारेको छ । युनिसेफ र ग्यालपद्वारा २१ देशहरूमा सञ्चालित बालबालिका र वयस्कको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र द स्टेट अफ द वल्र्डस् चिल्ड्रेन २०२१ मा गरिएको पूर्वावलोकनअनुसार १५–२४ वर्ष उमेर समूहका पाँच युवा मध्ये एकको मध्यस्थले प्रायःजसो निराश महसुस भएको वा जुनसुकै काम गर्नमा पनि कम रुचि भएको कुरा व्यक्त गरेका छन् । 

कोभिड–१९ ले तेस्रो वर्षमा प्रवेश गरेसँगै बालबालिका र युवाको मानसिक स्वास्थ्य र भलाइमा ठूलो प्रभाव पर्ने क्रम जारी नै छ । युनिसेफको पछिल्लो उपलब्ध तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सात जनामध्ये कम्तिमा एक जना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् । 

अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरन्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै युवाले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महशुस गरिरहेका छन् । द स्टेट अफ द वल्र्डस् चिल्ड्रेनमा उद्धृत भएअनुसार सन् २०२० को सुरुवातमा चीनमा गरिएको एउटा अनलाइन सर्वेक्षणले लगभग एक तिहाइ उत्तरदाता डराएको वा चिन्तित भएको रिपोर्ट गरे । नेपालमा सामुदायिक उत्तरदाताहरूका अनुसार युवाको शीर्ष तीन सरोकारमध्ये एक विषय मानसिक स्वास्थ्य हो भनी युनिसेफले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर\दुई ध्रुवीय बिकार, आचरणसम्बन्धी विकार, डिप्रेसन\उदासिता, खानपानमा विकार, बौद्धिक अपाङ्गता र स्किजोफ्रिनिया सहितका अन्य मानसिक समस्याले बालबालिका तथा युवाको स्वास्थ्य, शिक्षा, जीवन नतिजा एवं कमाइ क्षमतालाई हानी पुर्याउनसक्ने चेतावनी दिइएको छ ।

बालबालिकाको जीवनमा पर्न जाने अकल्पनीय असरसँगै लन्डन स्कुल अफ इकोनोमिक्सद्वारा जारी एउटा नयाँ विश्लेषणमा उल्लेख रिपोर्टअनुसार मानसिक समस्याको कारण अशक्त वा उनीहरूको मृत्यु हुने हुनाले अर्थतन्त्रमा योगदान पु¥याउन युवा असक्षम छन् जसको फलस्वरूप प्रति वर्ष लगभग तीन खर्ब ९० अर्ब अमेरिकी डलर घाटा भएको अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार वंशानुगत, जीवनका प्रारम्भिक दिनहरूमा पाएका अनुभव र पर्यावरणीय तत्वहरूको मिश्रण, अभिभावकत्व, विद्यालय शिक्षा, सम्बन्धहरूको गुणस्तर, हिंसा वा दुव्र्यवहारको जोखिम, भेदभाव, गरिबी, मानवीय सङ्कट र कोभिड–१९ जस्ता स्वास्थ्यसम्बन्धी आपत्कालीन समस्याले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव पार्दछ ।

रिपोर्टका अनुसार मायालु हेरचाहकर्ताहरू, विद्यालयको सुरक्षित वातावरण र साथीहरू बीचको सकारात्मक सम्बन्धले मानसिक समस्याको जोखिमलाई कम गर्नमा मद्दत गर्नसके पनि लान्छना र अपर्याप्त आर्थिक सहयोगजस्ता बाधाका कारण धेरै बालबालिकाले सकारात्मक मानसिक स्वास्थ्य वा उनीहरूलाई चाहिने सहयोगको पहुँच अनुभव गर्नबाट बन्चित भएका छन् ।

युनिसेफले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र बाल संरक्षण क्षेत्रहरू साथै प्रवर्धन गर्ने, हेरचाह गर्ने र अभिभावक तथा हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई समर्थन गर्ने अभिभावकत्व कार्यक्रमहरूमा प्रमाणमा आधारित हस्तक्षेपलाई एकीकृत गर्न एवं बढाउनुका साथै गुणस्तरीय सेवाहरू र सकारात्मक सम्बन्धको माध्यमबाट विद्यालयहरूले मानसिक स्वास्थ्यलाई समर्थन गरेको कुरा सुनिश्चित गर्न भनेको छ ।