After SEE Portal

पहिले व्यस्त,अहिले अस्तव्यस्त, कामनै नभएका दरबन्दी कायमै

Bridge Course

हरेक दिन शिक्षा विकास तथा समन्वय इकाई कैलाली सुनसान देखिने गरेको छ । कार्यलय समयमा कार्यालय प्रमुख भेट्नै मुस्किल हुन्छ ।  कहिले काही २-४ जना सेवाग्राही आउँछन् कहिले सुनसान नै दिन बित्छ । कार्यालयका अधिकांश कोठा खोलिएकै  हुँदैन । परीक्षा शाखा बाँहेक अन्य  कोठामा ताल्चा लगाइएको छ ।

कार्यालय समयमा अफिसमा  आएका कर्मचारी पनि भेला  भएर कुराकानी गर्दै दिन बिताउँछन् । ‘आज हाकिम साहेब हुनुहुन्न’ घोडाघोडी नगरपालिकाबाट आएका एक जना सेवाग्राहीले कार्यालयका नायव सुब्ब प्रयागराज जोशीलाई सोधे जोशीले हाकिम साब मिटिङमा हुन्न हुन्छ भन्ने जवाफ दिए । हाकिम साब कहिले भेटिनुहुन्न गुनासो गर्दै उनी घर फर्किए । 

घोडाघोडी नगरपालिका ८ दिपनगरबाट आएका अर्का सेवाग्राही पनि त्यस्तै गुनासो गर्दै कार्यलयको मुल गेटबाट निस्कदै गरेको भेटिए । उनले गुनासो गर्दै भने कर्मचारी नहुँदा सबै काम आफैले गर्नुपरेको उनले सुनाए । ‘फायल सम्म मैले आफै खोजेको हुँ ।’  उनले  गुनासो गर्दै भने, ‘पहिले त कर्मचारी पनि पर्याप्त हुन्थे । सेवाग्राहीको पनि चहलपहल बढिनै हुन्थ्यो । काम पनि अलि सजिलै हुन्थ्यो, यस पालि त न कर्मचारी छन् न त  सेवाग्राही नै  भनेको समयमा कर्मचारी पनि भेटिँदैनन् ।’

उनले भने जस्तै कुनै समय जिल्लाका सबैभन्दा बढी व्यस्त हुने कार्यालय अहिले सबै भन्दा बढी अस्तव्यस्त बनेको छ । सबै भन्दा बढी चहलपहल हुने शिक्षा विकास तथा समन्वय इकाई संघीयतापछि अपाङ्ग जस्तो भएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय कैलालीलाई अहिले एसइईको परीक्षा, शिक्षा सेवा आयोगको परीक्षा र शिक्षा सेवा आयोगबाट नियुक्त भएका शिक्षकहरूको सरुवा र बढुवा गर्ने काम बाहेक अन्य काम गर्ने अधिकार छैन । काम नहुँदा कम कर्मचारी पनि बढी भएका छन् ।

कार्यालयका एक जना उपसचिव, ३ जना शाखा अधिकृत, २ जना नायव सुब्बा, २ जना कार्यालय सहयोगी र १ जना सवारी चालकगरी ९ जनाको दरबन्दी रहेको छ । तर पर्याप्त काम नहुँदा ती कर्मचारी पनि अहिले फुर्स्दिला भएका छन् । कुनै समय ३०÷३५ चारी हुँदा पनि कामको चापाचाप हुने कार्यालयमा अहिले ९ जना कर्मचारी पनि फालाफाल भएका छन् ।

सबैभन्दा आन्नदको कुरा त कार्यालयमा कार्यक्षेत्र नै नभएका तीन जना कर्मचारी छन् । इन्जिनियर धमेन्द्र बोहोरा, सब इन्जिनियर नरबहादुर बोहोरा र अर्का एक सब इन्जिनियर कार्यालयमा खडक सिंह विष्ट कार्यारत छन् ।

शिक्षा विकास तथा समन्वय इकाइको वर्तमान कार्याक्षेत्रमा सब इन्जिनियर तथा इन्जिनियरको काम नै नभएपनि सरकारले अझै यी कर्मचारीलाई समायोजन गर्न सकेको छैन ।

‘हामी यति कर्मचारी पनि धेरै भएका छौँ’नासु जोशीले भने, ‘कार्यालय आयो हाजिर ग¥यो,कुनै सेवाग्राही आउँदा काम गर्‍यो नत्र दिन कटाएर बस्यो यही हो हाम्रो दैनिकी । व्यक्तिगत रूपमा आफ्नो काम गर्न पाइँदैन ।’

कहिले काहीँ कार्यालय कुरेरै दिन कटाउनु परेको उनले सुनाए । ‘दरबन्दी अनुसारका कर्मचारी छैनन् भन्छन् । मलाई त भएको पनि बढी छन् जस्तो लाग्छ’ उनले भने , ‘कार्य बोध हेर्ने हो भने हामीलाई पनि पुगेको छैन । सरकारले कार्यालय खोलेको छ हामीलाई खटाएको छ हामी दिनभरि बस्नै पर्‍यो।’

संघीय संरचना अघि कार्यालयबाट हुँदै आएको कामहरू स्थानीय तहमा गएपछि कार्यालय सुनसान भएको हो । विगतका जिल्लामा सबै भन्दा बढी चहलपहल हुने कार्यालय अहिले  सबै भन्दा बढी सुनसान हुने कार्यालय भएको छ । त्यही कार्यालय पनि विगत ४ महिना देखी निमित्तको भरमा चलिरहेको छ । कार्यालय प्रमुखमा उपसचिवको दरबन्दी रहेपनि विगत ४ महिना देखी शाखा अधिकृतले कार्यालय प्रमुखको जिम्मेवारी पुरा गरिरहेका छन् । अहिलेका निमित्त प्रमुख प्रताब सिंह धामी जेठ १० गते देखी कार्यालय प्रमुखको जिम्मेवारी पाएका हुन् । तीन जना शाखा अधिकृतको दरबन्दी रहेकोमा धामी एक्ला शाखा अधिकृत हुन् । उनी पनि नहुँदा नासुले कार्यालयको जिम्मेवारी पाउने गरेका थिए । ‘कहिले काँहि त मैले पनि जिम्मेवारी पाएको छु ’नासु जोशीले भने, ‘जिम्मेवारी आएपनि के गर्नु काम हुँदैन ।’

सरकारको दोधारे नीतिले पनि कार्यालय अस्तव्यस्त भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गतनै अन्य थुप्रै कार्यालय पनि रहेकाले शिक्षा विकास तथा समन्वय इकाइ काम विही भएको हो ।

धनगढीमै सीटीभीटीको प्रादेशिक कार्यालय रहेको छ । जनक शिक्षा सामग्री, साझा प्रकाशन र राष्ट्रिय परीक्षा वार्ड समेत रहेको छ । एउटै मन्त्रालयको उस्तै प्रकृतिका कार्यालय धेरै भएका पनि सबै अस्तव्यस्त रहेको पाइएको छ । कक्षा १० को परिक्षा जिल्ला शिक्षा समन्वय इकाइले गर्ने गरेको छ भने ११ र १२ को परिक्षा राष्ट्रिय परीक्षा वार्डले गर्ने गरेको छ । संघीय  एउटै मन्त्रालयका एउटा प्रकृतिका कार्यालयहरु एउटै बनाउँदा केही सहज आउने जोशीले बताए । ‘कार्यालय खारेज गरिनुपर्छ वा थप काम तोकेर दिनु पर्छ ’ उनले भने ।

शिक्षा विकास तथा समन्य इकाइ सुनसान भएपछि फाट्फुट् आउने सेवाग्राही पनि समस्यामा पर्ने गरेको बताउँछन् । बिगतमा निकै चहलपहल हुने कार्यालय अहिले सुनसान देखेर यो कार्यालय नै होइन कि जस्तो हुने गरेको सेवाग्राही लाहानु राम चौधरीले बताए । पहिले त कामको चापाचाप हुन्थ्यो उनले भने अहिले त कर्मचारी भेटिन्न कहिले सेवाग्राही देखिन्नन् ।

प्रत्येक सानो ठुलो कामका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयमा आउने गरेको बताउँदै धनगढी त्रिनगर माध्यामिक विद्यालयका लेखापाल गणेश प्रसाद जोशी अहिले सबै कामको लागि धनगढी उपमहानगरपालिका पुग्नु परेको बताए । ‘शिक्षा स्वास्थ्य स्थानीय तहमा गयो । त्यसले यो कार्यालय नाम मात्रको भएको छ उनले भने, ‘अहिले शिक्षकहरूको तलब निकासा पनि स्थानीयतहले गर्छ । यसले त अवकाश प्राप्त शिक्षकहरुको अभिलेख र पेन्सन पट्टिको काम गर्छ ।’

अधिकार कटौतिले गर्दा यस्तो भएको उनको तर्क छ । ‘पहिला जिल्ला भरिको शिक्षा र शिक्षकको सबै काम यही हुन्थ्यो । अहिले सामान्य सिफारिसको काम यहाँ हुन्छ अरू सबै काम स्थानीय तहबाट हुन्छ’ उनले फेरिथपे,‘गाउँगाउँम सिंहदरबार भनेको यहीँ त हो नि ।’

जिल्ला स्थित कार्यालयमा सुनसान भएपनि स्थानीय तहको शिक्षा समितिमा भने भीड बढेको छ । अहिले शिक्षकहरूकोे तलब, विद्यालयको अनुगमन पनि स्थानीय तहले गरिरहेको छ । यसमा पनि शिक्षा विकास तथा समन्य इकाइको काम छैन ।

बदगोरिया गाउँपालिकाका प्राविधिक सहायक निरिखनन्द लाल कर्णले अहिले जिल्लाको भीड गाउँ पसेको बताए । तत्कालीन जिल्ला शिक्षा कार्यालको भीड अहिले हामीले थेग्नु परेको छ उनले भने हाम्रोमा त १७ वटा मात्रै सामुदायीक बिद्यालयहरु छन् त्यसले धेरै समस्या छैन धेरै हुनेलाई त चापाचाप छ ।

विद्यालय अनुमतिको कामहरू लेखा परीक्षकको नियुक्ति , भौतिक निर्वाणका कामहरू, नेपाल सरकारले दिएको सर्सत अनुदानको रकमहरू निकासा गर्ने ,खर्च भएको नभएको नियमित अनुगमन गर्ने लगायतको काम आफूहरुले गरिरहेको उनले बताए ।

स्थानीय तहका अधिकार आएपछि सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ । ‘पहिले माग फारमनै पेस गर्न जिल्ला धाउनु पर्ने अवस्था थियो’ उनले भने, ‘अहिले विद्यालय ४ बजे सकेर पनि काम भइरहेको छ ।’

A Levels MA
Thuprai - Books and E-books