A Levels MA

नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीका लागि नेपालको भूभाग तथा नयाँ नक्साका बारेमा जानकारी दिने उद्देश्यले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका प्रकाशित गरेको छ ।

पुस्तिकाको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरे । गत सन् २०१९ नोभेम्बर २ तारिखमा भारतले एकतर्फीरुपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र उक्त भूभागमा सडकसमेत बनाएको घटनाक्रम बाहिर आएपछि विद्यार्थी तथा आम जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन यो पुस्तकको विकास गरिएको केन्द्रको भनाइ छ ।

यस पुस्तकको लेखन कार्य सीमा बचाऔँ अभियानका अभियन्ता कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् एवम् पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलले गरेको थियो । पुस्तक गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरी स्वीकृत गरिएको थियो । 

केन्द्रका महानिर्देशक केशव दाहालले यस पुस्तिकालाई सामाजिक अध्ययन, इतिहास, भूगोल लगायतका विषयको अध्ययन, अध्यापन र सहजीकरणका सिलसिलामा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिने जानकारी दिए । यस पुस्तिकाको प्रयोगबाट विशेष गरी माध्यमिकतहका विद्यार्थीहरूलार्ई नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकहरूसँगको सम्बन्ध, नेपालको सिमाना र सिमाना सम्बन्धी विवाद रहेका स्थानहरू र विवाद समाधानका उपायहरूका सम्बन्धमा जानकारी दिनुका साथै सिमानाको संरक्षण र व्यवस्थापन गर्ने एवम् राष्ट्रको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने सम्बन्धमा आवश्यक ज्ञान, सिप र धारणाको विकास गर्न सहयोग गर्नेअपेक्षा गरिएको छ । 

नेपालको प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमाविवाद, सीमाविवादहुने कारण र समाधानका उपायहरूको छोटो जानकारी, नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरूलाई पुस्तकमा समेटिएको छ । 

यसैगरी नेपाल र भारत बीचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता क्षेक्रको अतित्रमण सम्बन्धी छोटो जानकारी, नेपालको अद्यावधिक नक्शा निर्माण अभ्यास र नक्शाको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु, यस सामग्रीको प्रयोग र कक्षभिक्र र बाहिर गरिने त्रियाकलापहरू सम्बन्धी शिक्षककालागि केही निर्देशन, सुगौली सन्धिलगायत नेपालको सीमासम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूचीलाई पुस्तकमा समेटिएको छ ।

पुस्तकमा नेपालको पश्चिमोत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रहरू नेपालको हो भनी प्रमाणित गर्ने केही तथ्यहरू यसरी प्रस्तुत गरिएको छ :

(क) सुगौली सन्धि (वि.स. १८७३) को धारा ५ ले काली नदी पश्चिमको भागमा नेपालले दावीगर्ने छैन भनी कालीनदीसम्म नेपालको सिमाना कायम गरेको देखिन्छ । यसबाट कालीनदी सहित सोभन्दा पूर्वको भाग नेपाल रहेको स्पष्ट छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिव ५४१.६ (५४२ व.कि.मि)क्षेत्रफलको नेपाली भूभाग भारतद्वारा अतिक्रमणमा परेको छ । 

(ख) तत्कालीन समयमा प्रकाशित नक्साहरू (पुस्तिकाको परिशिष्ट ५)

(ग) जुलाई २२, १९४९ (वि.सं.२००६ साल साउन ७ गते) मा तत्कालीन नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको सदस्यताकालागि गरेको अनुरोध पत्रमा उल्लिखित नेपालको नक्सा

(घ) विभिन्न समयमा सीमा निर्धारण, जनगणना तथा तिरो तिरेका प्रमाण र आधारहरू, तत्कालीन शासक, प्रशासकहरूका निर्देशन, चिठीपत्र लगायतका दस्तावेजहरू (परिशिष्ट ४ र ६ ) 

(ङ) लिम्पियाधुराबाट निस्कने कुटीयाङ्दी भनिने पश्चिमोत्तर शाखा नै बास्तविक कालीनदी हो र सोभन्दा पूर्वको भूगोल नेपालको हो भनी प्रमाणित गर्ने विभिन्न सीमाविद् र अनुसन्धानकर्ताका निष्कर्षहरू‐

(अ) नदी प्रणाली सम्बन्धी नियमानुसार सबैभन्दा लामो र जलाधार क्षेत्र सबैभन्दा धेरै भएको नदी नै मुख्यनदी हुन्छ । 

(आ) भौगोलिक सूचना प्रणाली (Geographic Information System) र दुर‐सम्प्रेक्षण प्रणाली (Remote Sensing) प्रयोग गरी नदी विज्ञानको विश्लेषण गर्दा‐

  • काली, लिपु र टिङ्कर नदीको लम्बाइक्रमश ६६.७८, २४.२१ र २९.९२ कि. मि. रहेको 
  • काली, लिपु र टिङ्कर नदीको जलाधार क्षेत्रको क्षेत्रफल क्रमश ७७९.५६, २५३.६४ र ४५७.५५ वर्ग कि.मि. रहेको । यहाँ कालीनदीको लम्बाइ र क्षेत्रफल नजिकका अन्य नदीहरूको भन्दा धेरै रहेकाले यस तथ्यले कालीनदीको मूल पश्चिमोत्तर शाखा नै हो भनी प्रमाणित हुने 
  • नदीको क्रमानुसार र शाखाहरूको सङ्ख्याविश्लेषण गर्दा काली, लिपु र टिङ्कर नदीको क्रमश ५, ३, ४ र ११६, २७, ४७ रहेको । 

(इ) भुसाल (सन् १९९८) को स्थलगत अध्ययन अनुसार काली र लिपु नदीको बहाव क्रमशः २२ र ७ घनमिटर प्रति सेकेन्ड (m3 /s) छ । यस तथ्य अनुसार पनि पश्चिमोत्तर शाखाबाट बग्ने नदीको वहाब धेरै भएकाले सोही शाखा कालीनदीको मुहान भएको प्रमाणित तथ्य रहेको । 

 

 

Thuprai - Books and E-books