वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरण

वीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो ।

महानगरपालिका प्रमुख राजेशमान सिंह आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले स्पष्टीकरण माग गरिएको महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाहीस्वरूप महानरपालिकाले स्पष्टीकरण सोधेको उनले बताए । विद्यालयमा भौतिकरूपमा कतिपय शिक्षकहरू भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको उनले  प्रस्ट पारे ।

महानगरप्रमुख सिंहले पठनपाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरू लागेको बताए । यस्तै, महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नं १४ पिपरामा रहेको नृसिंह मावि र वडा नं ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माविको समेत अनुगमन गरेका थिए ।

 दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ । विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उनले बताए ।

Thuprai - Books and E-books