विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित गर्न साथ नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्ने भएको हो ।

कला, संस्कृति, विज्ञान, कानून, कृषि, अर्थशास्त्र, प्रविधि तथा व्यावसायिक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि ख्वप विश्वविद्यालयको स्थापना गर्न तयारी गरिएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास तथा आर्थिक व्यवस्थापन गरिसकेको छ । लामो समयदेखि संसदमा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक अघि बढ्न नसक्दा नगरपालिकाले आफ्नै स्वामित्वको विश्वविद्यालय सञ्चालन गर्न भने सकेको छैन ।

नगरपालिकाले स्थानीय प्राज्ञिक व्यक्तित्वहरु मध्येबाट ख्वप विश्वविद्यालय कार्यदल गठन गर्ने भएको छ । विश्वविद्यालय तयारी कार्यदल गठन गर्न यो वर्ष रु.१० लाख बजेट विनियोजन गरेको नगर प्रमुख प्रजापतिले बताए । ‘सरकारले अनुमति दिने बितिकै नगरकै स्वामित्वमा विश्वविद्यालय सञ्चालन गर्छौं ।’ उनले भने, ‘विश्वविद्यालय मार्फत नगरलाई उच्च शिक्षाको हब बनाउँछौं ।’

उच्च शिक्षा व्यवस्थापन गर्दै नगरपालिका

श्रमलाई उत्पादनशीलतासँग जोडेर शिक्षा र समृद्धिको परिकल्पना गर्दै भक्तपुर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकताको सूचीमा राखेको छ । सरकारले माध्यमिक तहसम्मका शिक्षा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई प्रदान गरेको भए पनि नगरले उच्च शिक्षासमेत सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले दुईुवटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थाहरु सचालन गर्दै आएको छ । विद्यार्थीको माग र समयको आवश्यकतालाई मध्यनजर गर्दै यी शिक्षण संस्थामा नयाँ विषयहरु यो शैक्षिक सत्र देखि थप गरेको छ ।

यही शैक्षिक वर्ष देखि ख्वप कलेजमा कृषि विज्ञान कक्षा सचालन गरेको छ । ख्वप मा.वि. मा कक्षा ११ र १२ मा कानुन र चित्रकला विषय पढाउन सुरु गरेको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा पनि नयाँ विषय थप्न प्रक्रिया अगाडि बढिरहेको नगरपालिकाले जानकारी दियो ।

नगरले शारदा मावि र शारदा कलेज, ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन गर्दै आएको छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीलाई विश्व परिवेश सुहाउदो शिक्षा प्रदान गर्ने उद्देश्यले नगरले शिक्षण संस्था सञ्चालन गरेको नगर प्रमुख प्रजापतिले बताए ।

२०५६ सालमा ख्वप माविबाट नगरले आफ्नो लगानी तथा व्यवस्थापन सुरु गरेको हो । यो विद्यालयमा अहिले २८ सय विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकीका कक्षा सञ्चालन हुने गरेको प्रमुख प्रजापतिले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर २०५८ सालमा स्थापना भएको ख्वप इञ्जिनियरिङ कलेजको पनि नगरले नै व्यवस्थापन गर्दै आएको छ । स्नातकोत्तर सम्मको पठनपाठन हुने यो कलेजमा स्नातक तहमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, बिई कम्प्युटर, सिभिल, र आर्किटेक्चर विषयमा पठनपाठन हुँदै आएको छ । स्नातकोत्तर तहमा अर्बन डिजाइन एण्ड कन्जरभेसन, अर्थक्वेक इञ्जिनियरिङ र कम्प्युटर इञ्जिनियरिङ विषयको पठनपाठन हुन्छ ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थान पनि नगरले नै सञ्चालन गरेको शिक्षालय हो । यो संस्थानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नर्सिङ र सिभिल इञ्जिनियरिङ पढाइहुन्छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०६५ सालमा खोलिएको ख्वप कलेज अफ इञ्जिनियरिङमा स्नातक तहमा बाली विज्ञान, सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ । ‘नगर मातहतका सातैवटा शिक्षण संस्थालाई २०६५ सालसम्म नगरपालिकाले खर्च दिन्थ्योे ।’ प्रमुख प्रजापति भन्छन्, ‘अहिले उच्च शिक्षा सञ्चालन गर्ने गरिएका सबै शिक्षण संस्था मजबुत भइसकेका छन् आन्तरिक आम्दानीले नै खर्च व्यवस्थापन गर्द आएका छन् ।’

निजी क्षेत्रबाट चलेका तत्कालीन शारदा उच्च मावि र शारदा कलेजको व्यवस्थापन नगरले गर्न थालेपछि यो शिक्षालयमा विद्यार्थीको चाप बढेको छ । नगरभित्रका विद्यार्थीलाई समय अनुसारका जनशक्ति उत्पादन गर्न नगरले नेपाली,अङ्ग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिमको व्यवस्था गर्दै आएको नगरपालिकाले जानकारी दियो ।

स्थानीय पाठ्यक्रम

भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद, व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले आगामी शैक्षिक सत्र देखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरले यो शैक्षिक सत्रदेखि कक्षा २ र ७ मा स्थानीय पाठ्यक्रम लागु गरेको छ भने गत वर्ष कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागु गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि नगरपालिकाले विद्यालय तहको १ देखि ६ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको प्रमुख प्रजापतिले बताए । ‘आगामी पिढीलाई भक्तपुरको इतिहास, कला र संस्कृति हस्तान्तरण गर्ने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम लागु गरेका हौं ।’ उनले भने ।

शिशुस्याहारदेखि माध्यमिक तहसम्म गुणस्तर सुधारको पहल

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिकाले शिशु स्याहारदेखि माध्यमिक तहसम्म विशेष कार्याक्रमको थालनी गरेको छ ।

नगरले यसका लागि सबै विद्यालयमा मन्टेश्वरी सिकाइ पद्धति लागु गरेको छ । आधारभूत तहका तल्ला कक्षाका शिक्षकलाई मन्टेश्वरी तालिम प्रदान गरी सामुदायिक विद्यालयमा यो सिकाइ पद्धति भित्र्याएको हो । गत वर्षबाट लागु गरिएको यो पद्धतिको सकारात्मक प्रभाव देखिएपछि यसलाई माथिल्ला कक्षामा समेत लागु गर्ने तयारी भइरहेको प्रमुख प्रजापतिले बताए । त्यस्तै नगरले शिशुस्याहार केन्द्रमा आयाको व्यवस्था गरेको छ । २४ जना आयालाई शिशु स्याहार सम्बन्धि विशेष तालिम प्रदान गरेको छ ।

शिशु स्याहार केन्द्रहरुमा कार्यरत शिक्षिकाहरुको स्तरोन्नतिको लागि नगरपालिकाले समयानुकुल तालिमका व्यवस्था गर्दै आएको छ । शिशु स्याहार केन्द्रहरुको भौतिक पूर्वाधारहरुको पनि सुधार गर्दै लगिने भएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयहरुको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर सबल विद्यालयलले दुर्वल विद्यालयलयको गुणस्तर सुधार गर्ने जिम्मा दिने भएको छ । नगरको विद्यालय स्तरोन्नति कार्यक्रम अन्तर्गत वागीश्वरी माध्यमिक विद्यालयलाई दुईटा विद्यालयको स्तरोन्ति गर्ने जिम्मा नगरले गतवर्ष प्रदान गरेको थियो । ‘वागीश्वरीको शिक्षण र व्यवस्थापकीय शैली राम्रो भएका कारण ८ जना मात्र विद्यार्थी भएको सिद्धि सारदा आधरभूत विद्यालयमा अहिले १ सय ३० जना विद्यार्थी पुगेका छन् ।’ प्रमुख प्रजापति भन्छन्,‘ वागीश्वरी कै जिम्मा रहेको ब्रम्हायणी प्राविको उपलब्धि सन्तोस जनक छ विद्यार्थी पनि बढेका छन् ।’

नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका शैक्षिक गुणस्तरका अन्तरलाई कम गर्दै सबै विद्यालयहरुको समान शैक्षिक गुणस्तर कायम गनै नीति कार्यान्वयन गर्न विशेष कार्यक्रमका थालनी नगरले गरेको छ । यसका लागि शिक्षक तालिम तथा स्मार्टबोर्डको प्रयोग गरी पठनपाठन गराउन थालिएको छ ।

इसीडी शिक्षकलाई थप पारिश्रमिक

न्यून पारिश्रमिकमा काम गर्दै आएका वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरुको कामलाई कदर गर्दै नगरले थप पारिश्रमिकको व्यवस्था गरेको छ । प्रत्येक सहजकर्तालाई नेपाल सरकारले प्रदान गरेको पारिश्रममिकमा थप ४ हजार पारिश्रमिक प्रदान गर्दै आएको छ ।

खेलकुद शिक्षकको व्यवस्था

विद्यार्थीको सर्वांगीण विकासका लागि खेलकुदको महत्वलाई दृष्टिगत गरी नगरले खेलकुद शिक्षकको व्यवस्था गरेको छ । दुई जना शिक्षकलाई पूर्णकालीन र अन्य ९ जनालाई आंशिक शिक्षकका रुपमा नगरले नियुक्त गरेको छ ।

पूर्व शिक्षकद्वारा विद्यालय अनुगमन

नगरपालिकाका विद्यालयको गुणस्तर सुधारका लागि नगरभित्रैकै सेवा नवृत्त शिक्षकलाई विद्यालयको अनुगमन गर्ने जिम्मा दिएको छ । पूव शिक्षकहरुले हरेक दिन विद्यालयका न्यूनतम तीनवटा कक्षा अवलोकन गरी सम्बन्धित शिक्षकलाई सल्लाह, सुझाब दिनुका साथै नगरपालिकामा प्रगति प्रतिवेदन बुझाउने गरेका छन् । ‘अनुगमन प्रतिवेदनका आधारमा शिक्षकलाई तालिमको व्यवस्थापन गर्ने गरिएको छ ।’ प्रमुख प्रजापति भन्छन्, ‘विद्यालयका शिक्षकहरुलाई तालिमसँग अनुगमनको व्यवस्थाले सकारात्मक परिवर्तनको थालनी भएको छ ।’

पूर्वाधार विकास

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिसँग विद्यालयको भौतिक पूर्वाधारहरु निर्माण गर्न सहयोगको नीति लिएको छ ।

भूकम्पका कारण प्रभावित भएका अधिकांश विद्यालयको भवन पूनर्निमाण गरिसकिएको छ । भने जग्गा नभएर भवन बन्न नसकेको मेधा मावि, ब्रम्हायणी र चन्देश्वरी आधारभूत विद्यालयलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । ‘भूकम्पले भवन जीर्ण बनाएका विद्यालयको भवन पुनर्निमाणका लागि जग्गा उपलब्ध गराएका छौं ।’ प्रमुख सुवाल भन्छन्, ‘पुनर्निमाण प्राधिकरणसँग समन्वय गरेर विद्यालय पुननिर्माणको कामलाई अगाडि बनाउने तयारी गरिहेको छौं । त्यस्तै कम विद्यार्थी भएको बालमन्दिर प्राविलाई मर्ज वा स्तरवृद्धि कसरी गर्न सकिन्छ अध्ययन गरिरहेका छौं ।’

सहुलियत कर्जा

नगरपालिकाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर उच्च शिक्षा हासिल गर्न चाहने योग्य तर आथिर्क अवस्था कमजोर भएका नगरवासी विद्यार्थीहरुलाइ रु.५ लाखसम्म शैक्षिक ऋण दिन थालेको छ । नगरलले करिब सय जना विद्यार्थीलाई सहुलितय कर्जाका लागि स्वीकृति प्रदान गरेको छ । नगरको सहुलियत कर्जा कार्यविधि अनुसार कर्जा दिने गरिएको नगर प्रमुख प्रजापतिले बताए ।

राष्ट्रिय स्तरको पुस्तकालय बनाइने

नगरले जनज्योति पुस्तकालयलाई राष्ट्रिय स्तरको पुस्तकालयका रुपमा विकास गर्न इ–लाइब्रेरीको व्यवस्था गरेको शिक्षा शाखा प्रमुख बैकुण्ठ प्रसाद झाले बताए । पुस्तकालयको आवश्यक पूर्वाधारको निर्माण गर्दै लगिने नगरको योजना रहेको छ । युवा पिढीमा अध्ययन संस्कारको विकास गर्न पुस्तकालयले समय समयमा अतिरिक्त क्रियाकलाप तथा साहित्यिक अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

वडा वडामा रहेका पुस्तकालय तथा वाचनालयहरुलाई आवश्यकता अनसार सुधार गर्न सहयोगको व्यवस्था मिलाइने योजना रहेको प्रमुख झाले बताए ।

अनुसन्धानकर्तालाई सहयोग

अनुसन्धान कर्ता विद्यार्थीलाई नगरले आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरभित्रका विषयमा अनुसन्धान गर्ने विद्यार्थीलाई विषय वस्तु अनुसार १५–२० हजार नगद प्रदान गर्ने गरिएको शिक्षा शाखाले जानकारी दियो । आर्थिक सहयाता चाहने विद्यार्थीले अनुसन्धानको विषय वस्तु समेटिएको खाकालाई नगरपालिकाबाट स्विकृत गराई अनुसन्धान गर्नु पर्ने छ । अनुसन्धानका लागि स्थानीय पूरातात्विक महत्वका विषय, इतिहास, भूगोल, कला संस्कृति, भाषा, वातावरण, सरसफाइ, खानेपानी लगायत विषयमा नगरले अनुदान दिँदै आएको छ । साथै विभिन्न संकायमा अध्ययनरत विद्याथीहरु भक्तपुर नगरपालिकामा इन्टर्न गर्न चाहेमा आवश्यकता अनुसार सोको व्यवस्था समेत यो वर्षदेखि गर्ने भएको छ ।

छात्रवृत्ति

चिकित्साशास्त्र अन्तगत विभिन्न विषयहरुमा स्नातकोत्तर तह (एमडी वा सो सरह) अध्ययन गर्न चाहने नगरवासी विद्यार्थीहरुमध्ये वार्षिक दुई जनालाई नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्न थालेको छ । छात्रवृत्ति पाउने चिकित्सकहरुले कम्तीमा ५ वर्ष ख्वप अस्पतालमा पूर्णकालीन सेवा गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जानकारी दियो ।

यसका लागि आवश्यक कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइने प्रमुख प्रजापतिले बताए । ‘स्थानीय स्तरमा नै दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले विशेष छात्रवृत्ति प्रदान गर्ने नीति अबलम्वन गरेका हौं ।’ प्रमुख प्रजापतिले भने, ‘उच्च शिक्षाको विकास नगरी देश विकासको परिकल्पना गर्न नसक्ने भएकाले विशेष छात्रवृत्ति दिने नीति अपनाएका हौं ।’

साथै नगरले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालको प्रवद्धन गर्ने उद्देश्यले यी विषयमा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

यी विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरु घट्दै गएकाले ती विषयको प्रवर्धनका लागि विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विशेष छात्रवृत्ति दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरभित्र विशेष विद्यालय संचालन गर्न चाहेमा त्यसलाई अनुमति दिई विद्यालय संचालनका लागि नगरले आवश्यक सहयोग गर्ने भएको छ । हालै मात्र एउटा विशेष विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको शिक्षा शाखाले जानकारी दियो ।

नमुना विद्यालय

हरेक वडाका एक विद्यालयलाई नमुना विद्यालय घोषणा गर्ने तयारीमा नगर जुटेको छ । यसका लागि नगरले छुटै मापदण्ड तयार गरेको छ । नगरको मापदण्डमा पर्ने विद्यालयलाई विशेष अनुदान दिने नगरको तयारी भएको प्रमुख प्रजापतिले बताए ।

सामुदायिक विद्यालयमा मजदुरका छोराछोरी मात्र पढ्छन् भन्ने चर्चा चलिरहेका बेला नगरले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतलाई आप्mना सन्तानहरुलाई सामुदायिक विद्यालयमा अध्यापनका लागि उत्साहित गर्ने भएको छ । प्रमुख प्रजापति भन्छन्, ‘सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको चासो बढोस् भन्ने लक्ष्यले यस्तो नीति लिएका हौं ।’

Thuprai - Books and E-books