After SEE Portal

बीईको प्रवेश परीक्षा धरापमा

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सहमतिअनुसार स्नातक (बीई र बीआर्क)को प्रवेश परीक्षा असोज २२ गते सञ्चालन गर्नसक्ने देखिएको छैन । संस्थानअन्तर्गतका शिक्षक र कर्मचारी एकातर्फ र विद्यार्थी सङ्गठनहरू अर्कातर्फ उभिएपछि द्वन्द्वले उग्र लिन थालेको छ । उता परीक्षा बोर्डका पदाधिकारीहरूले संयुक्त रूपमा राजिनामा पनि दिइसकेका छन् । यसले गर्दा प्रवेश परीक्षा नै अन्योलमा परेको हो ।

संस्थानले शुल्क वृद्धिको निर्णय गरेपछि विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा आन्दोलन गर्दै आएका थिए । असोज १५ गते सोमबार राती अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबीच दुई बुँदे सहमति भएको थियो । भोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।

सोमबार राती करिब ११ बजे दुवै पक्षबीच सहमति भएको थियो । शुल्क वृद्धिको निर्णय फिर्ता लिने र नयाँ भर्नाका लागि आवेदन दिने म्याद थप तथा प्रवेश परीक्षा असोज २२ गते सञ्चालन गर्ने सहमति गरिएको थियो । सहमतिपत्रमा संस्थानका डिन प्राडा शशीधर जोशी र सहायक डिन प्राडा सुशील बज्राचार्यले हस्ताक्षर गरेका थिए । त्यसमा स्वतन्त्र विद्यार्थी युनियन तथा विभिन्न विद्यार्थी सङ्गठनका ११ जना विद्यार्थीले हस्ताक्षर गरेका थिए । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र पूर्वाञ्चल क्याम्पसका स्ववियुले आन्दोलन गरिरहेका छन् ।  

यो अन्योलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज ३ गते राष्ट्रिय शिक्षा दिवसमा विश्वविद्यालयका आङ्गिक क्याम्पसमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भनी पुरस्कृत गरेको पुल्चोक क्याम्पसको साख निकै खस्किनेमा सर्वत्र चिन्ता बढेको छ । 

असोज १६ गते मङ्गलबार दिनभरि नै शिक्षक भागाभागको स्थिति रह्यो । अध्ययन संस्थानमा चार जना सहायक डिन रहेका छन् । उनीहरू कोही पनि सञ्चार माध्यमसँग कुरा गर्न चाहेनन् । यो विषयमा संस्थानका पदाधिकारीले सञ्चार माध्यमलाई बोलाएर आफ्ना भनाइ प्रस्तुत गर्नुपर्नेमा विद्यार्थी सङ्गठनसँग डराएर उल्टै सम्पर्कविहीन बनेका थिए । यसप्रति सम्बन्धन प्राप्त क्याम्पसका सञ्चालकहरू निकै रुष्ट देखिएका छन् । 

“यो तमासा के गरेका होलान् ? कुरा स्पष्ट राख्नुपर्नेमा भागेर हुन्छ र ?” निजी इन्जिनियरिङ कलेजका एक सञ्चालकले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “भर्नाको मुखमा यो तमासा गरिँदैछ । यसले स्वदेशमा कसरी विद्यार्थी टिकाउन सक्ला र ? सरकारी क्याम्पस त सकिने नै भए हामीहरूलाई पनि सिध्याउने भए ।”

मङ्गलबार पुल्चोक क्याम्पसका विभिन्न छ विभागीय प्रमुखले आफूहरूको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई हस्तान्तरण गर्न चाहेको संयुक्तपत्र क्याम्पस प्रमुखलाई बुझाएका थिए  । असोज १२ गते पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खर निर्वाचित स्ववियुले लिने’ भन्ने उल्लेख भएको हुँदा आफूहरूले विभागीय प्रमुखबाट हटेर स्ववियुलाई विभाग चलाउनका लागि मार्गप्रशस्त गर्न जिम्मेवारी सुम्पिएको संयुक्तपत्रमा उल्लेख गरिएको थियो ।

उनीहरूले आफूहरूले हाल गर्दै आएको काम स्थगन गरी स्ववियुलाई नै जिम्मा लगाउन प्राध्यापक सङ्घ र कर्मचारी सङ्घको पनि समर्थन रहेको उल्लेख गर्दै पत्रको बोधार्थ त्रिविविका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालय र स्ववियु सभापतिहरूलाई दिएका थिए । पत्र लेख्नेहरूमा अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभाग, सिभिल इन्जिनियरिङ विभाग, आर्किटेक्चर विभाग, इलेक्ट्रिकल इन्जिनियरिङ विभाग, मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख रहेका छन् ।

यसबीच भर्ना समितिका संयोजकसमेत रहेका सहायक डिन सुशील बज्राचार्यसमेतले परीक्षा बोर्डबाट राजिनामा दिएका छन् । परीक्षा बोर्डका सदस्य इन्दुप्रसाद आचार्य, संजीवप्रसाद पाण्डे, किरणचन्द्र दाहाल र सदस्यसचिव विदुर ढकालले राजिनामा दिएका छन् । परीक्षा बोर्डका सल्लाहकार सुरज लामिछाने र हिक्मतराज जोशीले पनि राजिनामा दिएका छन् ।

उनीहरुले सहमतिअनुसार प्रवेश परीक्षा सञ्चालन गर्न नसकिने भएकाले गत साउन १८ गते गठन भएको परीक्षा बोर्डबाट आफूहरूले राजिनामा दिएको भनी डिनलाई पत्र थमाएका छन् । विद्यार्थी सङ्गठनसँगको सहमतिमा सहायक डिन बज्राचार्यले पनि हस्ताक्षर गरेका थिए । 

इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपियाँ पुर्याउने निर्णय गरेको थियो । हाल तीन लाख १८ हजार रुपियाँ शुल्क रहेको छ । संस्थानले वार्षिक झन्डै १५ करोड रुपियाँ घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । 

A Levels MA