ओहो ! लेख नलेखेको पनि निकै समय पो भइसकेछ । समाजमा सकारात्मक जागरुकता प्रदान गर्ने खालको लेख लेख्ने विचार नआएको होइन तर विषयवस्तु र शीर्षक छ्नोटको अन्यौलले मलाइ निकै बेर अल्मल्यायो ।के लेख्ने? सोचेर ल्याउँदा आयो कुरा गाँठे,आफ्नै अस्तित्वको गुमनाम अवस्थामा किन कलम नचलाउने ?
नेपालका सन्दर्भमा परम्परादेखि नै नारीलाई घरधन्दा चुलो चौको अनि सन्तान उत्पादन गर्ने यन्त्रमा नै सिमित पारिने चलन बसाइयो ।छोराछोरी पाउने,हुर्काउने र पतिको सेवामा हाजिर हुने, घाँस दाउरा गर्ने आदि कामहरु उनिहरुको भागमा पर्न थाले।यसरी आय आर्जनको कार्यमा सहभागिता जनाउन नपाएपछी तथा घरबाहिर निस्कन नपाउँदा अन्य कुराहरु अर्थात् शिक्षा र आम्दानी गर्ने हैसियतमा उनीहरुको पहुँच पुगेन।धार्मिक तथा साँस्कृतिक कार्यहरुमा पनि पुरुषको प्रमुख भूमिका रहने चलनले झन् महिलाहरु पिडित बन्दै गए । बिस्तारै समयक्रम बदलिँदै गएको अवस्थामा उपल्लो वर्गका महिलाहरुले घरबाहिर धेरथोर निस्कने अवसर पाए र विभिन्न क्षेत्रमा घुमफिर गर्न सक्षम भए,शिक्षामा पहुँच पुग्यो। उनिहरुले आफ्नो सीप क्षमता देखाउने अवसर प्राप्त गरे र आफ्नो हक अधिकारको लागि संगठित भएर सौदाबाजी गर्न थालेको पाइन्छ।
राणाशासन कालमा पनि नारीले संगठित भएर सति प्रथाको विरोध गरेकाले चन्द्र शमशेरले सतिप्रथाको अन्त्य गरि नयाँ किरण ल्याउन मद्दत गरे।राजतन्त्रमा झन् नारीको आवाज बलियो हुँदै आयो र हरेक क्षेत्रमा नारीको सक्षमताले उपलब्धि मूलक कार्य भएको र विकास निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले शिक्षा र रोजगारीको क्षेत्रमा प्रवेश गराउँदै ल्याइयो ।राजतन्त्रको अन्त्य,पिछडिएका वर्गको उत्थान ,समावेशिता र विकासको नारा घन्काएर आन्दोलन छेडेको तत्कालिन माओवादीले पनि आफ्नो युद्द मोर्चामा उल्लेख्य रुपमा महिला सहभागिता गरायो।यसरी विकासक्रमसँगै चेतनाको विकासले विभिन्न क्षेत्रको अनुभवले आज नेपाली महिलाहरुको हरेक क्षेत्रमा सहभागिता बढ्दै गएको देखिन्छ।सामाजिक,राजनैतिक,शैक्षिक,सुरक्षा निकाय,विकास निर्माण,खेलकुद हरेक क्षेत्रमा महिलाहरुले आफूलाई अब्बल साबित गरिसकेका छन् ।दागबत्ति दिने, किरियापुत्री बस्ने जस्ता धार्मिक कार्यहरुमा पनि आम महिलाहरु अघि बढिसकेका छन् ।राष्ट्रिय स्तरमा मात्र नभै अन्तर्राष्ट्रिय स्तरमै ठुला सफलताहरु हासिल गरेका प्रशस्त उदाहरणहरु देख्न,सुन्न अनि पढ्न पाइन्छ।अतः विगत र वर्तमानलाई भिडाएर हेर्ने हो भने कयौं राजनितिक,सामाजिक ,शैक्षिक परिवर्तनबाट महिलाहरु गुज्रिसकेका र अझै केहि नयाँ सिक्दै अघि बढिरहेका छन् ।
महिला सशक्तिकरणका नाममा विविध कार्यक्रम र योजनाहरु नल्याइएका पनि होइनन् ।राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयासहरु गर्दै आइरहेको छ । विभिन्न सरकारी,गैरसरकारी निकायहरु महिलाहरुलाई अगाडि बढाउनुपर्छ भनेर कार्यहरु गर्दै आएका छन् , तर खासै केहि ठूलै परिवर्तनका किरणहरु देखिए जस्तो लाग्दैन ।अर्थात् प्रयासहरु गरिएतापनि प्रगतिको आभास भएको होला र? अब एकचोटी महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने अभियन्ता, सामाजिक संघ संस्थाले गहिरिएर सोच्नै पर्ने बेला आएको छ ।
हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय नारी दिवस मनाइन्छ। मार्च ८ अघि नै सुन्दर ,अर्थपूर्ण नाराहरु सामाजिक संजाल लगायत विविध स्थानमा सजिन्छन् अनि नारी दिवसका दिन सभा समारोह,कार्यक्रमहरु आयोजना गरिन्छन्। दुई चार जना महिलाहरुलाई सम्मानित गर्ने काम पनि हुन्छ । नारी महिमाको बारेमा खुबै चर्चा परिचर्चा गरिन्छ ।तर दुर दराज,विकटमा आम महिलाहरु कुन पिडामा गुज्रिनु परिरहेको छ? सो को समाचार बन्ने कहिले?फेरि यसो सोच्छु के महिला अघि बढ्न बाधक पितृसत्तात्मक सोच मात्रै हो र? पक्कै होइन ।महिला अधिकार कर्मी सासूबाटै बुहारीले यातना खेप्नुपरेको, पढेलेखेका बुहारीहरुले नै सासूलाई वृद्धाश्रम पुर्याउन बाध्य बनाएको,एकै घरमा नन्द भाउजू, देउरानी जेठानी बिच वैमनश्यता,रिसको भावना ,विवाहित पुरुष हो भन्ने जान्दाजान्दै कुनै महिलाको सुन्दर संसार तहसनहस पार्न अर्को महिला अघि सर्नु, एकै कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुका बिचमा भातृत्व भन्दा बढी अस्वस्थ प्रतिस्पर्धा हुने गरेका घटनाहरु सामान्य बनेका छन् । के यी अवरोधहरु होइनन् र? नारी दिवसको गरिमा तब मात्र कायम रहला जब एक नारी अर्को नारीको मित्र बन्नेछ।
प्रत्यक्ष एवंम् अप्रत्यक्ष रुपमा कतै महिला नै महिलाको प्रगतिको बाधक बनेकै कारण सो को लाभ अरुले लिएका त छैनन्? साँच्चै एकपटक चिन्तन गर्ने बेला आएको छ। राजनैतिक ओहोदा होस् या अन्य कुनै निकायमा पुरुष नेतृत्व हाबि हुनु,महिलाहरु उप, सहायक मै सिमित हुनुले पनि महिला सशक्तिकरणलाई गिज्याइरहेको अनुभव हुने गरेको छ । एक्काइसौँ शताब्दीमा महिलाहरु सक्षम भएर पनि नेतृत्व तहमा पुग्न निकै संघर्ष गर्नुपरेको र पुगेकाहरुलाई पनि हतोत्साहित गर्न खोजिएको देख्दा उदेक लागेर आउँछ। संघर्ष गरी महिला नेतृत्व तहमा पुगिहालेमा पनि टिक्न हम्मेहम्मे पर्नु थप चुनौतिका रुपमा देखिएका छन् । एक महिला घर परिवार हेरेर,काखमा सानो बच्चा च्याप्दै,उच्च शिक्षा पुरा गरी बडा दुख र संघर्षले शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकको रुपमा सिफारिस हुन्छिन् ।अझै शहरी क्षेत्रमा नियुक्तिपत्र बुझेर विद्यालय जाँदा महिला भएकै कारण कति विद्यालयमा हाजिर नगराएका घटनाहरु आम महिला शिक्षक साथीहरुबाट बेलाबखत सुनिने गरेका छन् ।यो लेख पढ्दै गर्नुहुँदा अचम्म लाग्ला वा यस्तो पनि हुन्छ र भन्ने प्रश्न चिन्ह सायद मस्तिष्कमा ठोकिरहेका होलान् ।तर यथार्थ यहि हो कि गर्भवती महिला कर्मचारीलाई हाजिर गराउन निकै आनाकानी गर्ने गरेको र मानसिक रुपमै विक्षिप्त हुनुपरेका पिडाहरु हरेक वर्ष आउने गरेका छन्। ९८ दिन सुत्केरी बिदा पाउने प्रावधान भएपनि सो का लागि पनि निकै संघर्ष गर्नुपरेको व्यथा नपोखिएका होइनन् ।यी त केवल प्रतिनिधि घटनाहरु मात्र हुन् ।
बौद्धिक महिलाहरुको मर्का एकातिर उसो त दुर्गम गाउँ ,तराइतिरको पीर व्यथा फेरि कम दर्दनाक छैनन्। सुत्केरी व्यथाले च्यापेर बिच सडकमै बच्चा जन्माउनुपरेका, दाइजोकै कारण जलाइएका, एसिड आक्रमण,बलात्कार जस्ता दर्दनाक घटनाहरु हरेक दिन जस्तो पत्रपत्रिका,रेडियो,टेलिभिजनमा देख्न सुन्न र पढ्न कम भएको छैन ।नेपालको संविधानले पनि महिला सशक्तीकरण र विकासका लागि भनेर अनिवार्य ३३% आरक्षण कोटाको व्यवस्था गरेको छ। ३३% बढाएर ५०% पुर्याउन भन्दा पनि ३३% नै बढी भएको भन्ने हल्लाहरु बेलाबखत घोच्का हानेर चल्ने नगरेका पनि होइनन् ।पितृसत्तात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चलि आएको महिला प्रतिको भेदभावपुर्ण व्यवहार नेपाली समाजको यथार्थ हो भन्दा फरक नपर्ला।
नेपालको आधाभन्दा बढी जनसंख्या भएको महिलाहरु अवसरमा समानता,सम्पत्तिमा समान हकको कार्यान्वयन तथा आरक्षणको व्यवहारिक कार्यान्वयनमा संगठित भएर दबाबमूलक अभियान चलाउन ढिलो भइसकेको देखिन्छ।महिलाहरुलाई प्रक्रिया पुर्याउनका लागि मात्र सहभागि गराइनु कतिको न्यायोवित होला र?हरेक क्षेत्रमा नामको सहभागिता होइन महिलाहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य बनिसकेको छ। तब मात्र महिला सशक्तिकरणका लागि प्रयास भएकै हो भन्ने महशुस हुने थियो कि? समतामूलक दिगो विकासका लागि महिलाहरुले पनि पुरुष सरह कार्य गर्न सक्छन् ।महिला र पुरुष एक रथका दुइ पाङ्ग्रा हुन्, एकै सिक्काका दुइ पाटा हुन् भनेर उक्ति पढाएर मात्र समाज परिवर्तन होला र ? समानता होइन समतामूलक सहभागिताका लागि महिलाहरुका कदम अघि बढ्नैपर्छ ।महिला दिदीबहिनीहरुको धैर्यता र सहनशिलता नै उनिहरुको कमजोरी बने कि भन्ने पनि लाग्छ। सो कै कारण अरुका लागि सफलताको सिँढी बन्न प्रयोग त भइरहेका छैनन् ?आम महिलाहरुले गहन रुपमा मनन गर्नै पर्छ भन्ने लाग्छ।पुरुषले भेदभाव गर्यो ,अवसर दिएन भनेर आफूलाई लाचार देखाउनुको साटो अवसरको खोजी गर्नतिर लागि पर्नु उपयुक्त होला भन्ने मेरो ठम्याई हो ।अवसर मागेर होइन सिर्जना गर्ने तिर लाग्नु बुद्धिमत्ता होला ।
अब एक महिलाले अर्को महिलाको कुरा काटेर होइन, एक अर्काका विचार साटेर अनि एक अर्काको खुट्टा तानेर होइन एक अर्काको हात समाएर अघि बढ्न सकेमा मात्र परिवर्तनका वास्तविक रंग देखिने छ । महिलाहरुले भ्याउँदैनन् ,सक्दैनन् भन्ने कमजोर मानसिकता ,पितृसत्तात्मक समाज, सामाजिक रुढीवादी धार्मिक परम्परा,अन्धविश्वास ,चेलीबेटी बेचबिखन जस्ता कारणले पनि अझै पनि महिलालाइ दोस्रो दर्जाका मानिसको रुपमा व्यवहार गर्ने चलन विद्यमान रहेको पाइन्छ।जब सम्म महिलाहरुलाई शिक्षित र सिपवान् बनाउन मद्दत गरिँदैन,अवसर दिइँदैनन्,शंकारुपी नजरहरुले हेर्न कम गरिँदैन तब सम्म परिवारमा गरिबी र समस्याहरुको थुप्रोले कहिल्यै पनि छोड्दैन र राष्ट्रले सोचेको प्रगति हासिल गर्न असम्भव छ।