विद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम लागु गरे पनि विद्यार्थी संख्या बढ्न सकेन । विद्यालयको अवस्था झन झन चिन्ताजनक भयो ।
संघीय सरकारले विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायलाई सुम्पियो । शिक्षाको गुणस्तर सुधारको जिम्मेवारी पाएको स्थानीय सरकारलाई यो कार्य गर्न सहज भने थिएन । यो चुनौतीलाई सहजै सामना गर्न तयार भएको छ सर्लाहीको बागमती नगरपालिका ।
एकातिर विद्यालयमा विद्यार्थी थिएनन् भने अर्कोतर्फ विषयगत शिक्षकको अभाव थियो । यसका बाबजुद पनि यो नगरपालिकाले शिक्षा सुधारका लागि नीतिगत व्यवस्था गर्यो । शिक्षा ऐन बनायो । कार्यान्वयन गर्न थालेको एक वर्ष नबित्दै सामुदायिक विद्यालयको मुहार फेरियो । अहिले प्रत्येक विद्यालयमा विद्यार्थी खचाखच छन् । कक्षा कोठाको अभाव छ । दुईवटा आधारभूत विद्यालय बाहेक अन्य २३ वटा विद्यालयमा सेक्सन विभाजन गर्नुपर्ने अवस्था आएको छ । नगर प्रमुख भरत कुमार थापा भन्छन्, ‘नजिकैका निजी विद्यालयबाट विद्यार्थीहरू सामुदायिकमा पढ्न आए, दुईवटा प्राथमिक विद्यलायबाहेक अन्य २३ वटै विद्यालयमा कक्षाको क्षमताभन्दा बढी विद्यार्थी भएर एकै वर्षमा सेक्सन विभाजन गर्नुपर्ने अवस्था आयो’ प्रफुल्लित हुँदै उनले सुनाए ।
नगरले शिक्षा नियमावली बनाएकै भरमा विद्यालयमा विद्यार्थी आएका भने होइनन् । नगरका हरेक विद्यालयमा अहिले बालमैत्रीपूर्ण कक्षाकोठा छन् । पूर्व प्राथमिक कक्षाको शिक्षण सिकाइ मन्टेस्वरी पद्धतिबाट हुन थालेको छ । यसका साथै हरेक विद्यालयले कक्षा ४ सम्म माध्यम भाषा अङ्ग्रेजी बनाएको छ । भने, नगरले कक्षा ८ को माध्यम भाषा अनिवार्य अङ्ग्रेजी बनाएपछि तल्लो तहदेखि माथिल्लो तहसम्म ह्वात्तै विद्यार्थी बढेको प्रमुख थापाले बताए । थापा भन्छन्,‘नगरले बिस्तारै सबै कक्षामा माध्यम भाषा अङ्ग्रेजी बनाउँदै लाने रणनीति अपनाएको छ ।’
महंगो शुल्क तिरेर निजीमा मन्टेस्वरी पढाउँदै आएका अभिभावकले अहिले धमाधम सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीलाई भर्ना गरेका छन् । नगरपालिकाले हरेक विद्यालयमा मन्टेस्वरी सहजकर्ताको व्यवस्था गरेको छ । कक्षालाई सिकाइमैत्री बनाउने उद्देश्यले कक्षाकोठा व्यवस्थापन पनि आधुनिक तथा मनोवैज्ञानिक सिद्धान्तमा आधारित भएर गरेको छ । हरेक कक्षा कोठमा बाल शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको नगरपालिकाले जानकारी दियो ।
भएकै जनशक्तिलाई सदुपयोग गर्ने उद्देश्यले नगरमा कार्यारत प्राथमिक तहका सबै शिक्षकलाई १५ दिने अङ्ग्रेजी माध्यम शिक्षण तालिम प्रदान गरेको छ । आधुनिक शिक्षण पद्धतिमा आधारित भएर शिक्षण गर्नका लागि तालिममा पनि आधुनिकता भित्र्याइएको छ । नगरका हरेक शिक्षकलाई मागमा आधारित लामो तथा छोटो अवधिको तालिमको व्यवस्था गरिएको छ ।
नगरको पहलमा तीनवटा विद्यालयमा प्राविधिक कक्षा संचालन गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयमा बाली विज्ञान, जनता माविमा पशु विज्ञान र नवजागरण माविमा सिभिल इन्जिनियरिङका कक्षा संचालन गरिएको नगर प्रमुख थापाले जानकारी दिए । यी विद्यालयमा आपासका नगर तथा गाउँपालिकाका विद्यार्थीको आकर्षण अत्याधिक बढेको छ । आवश्यक भौतिक पूर्वाधारको अभावमा सीमित विद्यार्थीलाई मात्र पढाउन सकिएको विद्यालयले जानकारी दियो ।
हरेक विद्यालयमा कम्पाउण्ड वाल निर्माण गरिएको छ । विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था, लैगिंकमैत्री शौचालय र साइन्स, कृषि तथा अन्य ल्याव संचालन गरिएको छ ।
परीक्षामा सामेल हुन विद्यार्थीको हाजिरी ७५ प्रतिशत अनिवार्य गरिएको छ । विद्यालयमा कुनै दिन अनुपस्थित हुने विद्यार्थी प्रति निगरानी कडा गरिएको छ । कुनै दिन बिना सूचना अनुपस्थित विद्यार्थीका अभिभावकसंग विद्यालयले फोन सम्पर्क गरी जानकारी लिने गरेको छ । हरेक विद्यार्थीको प्रगति विवरण राख्ने तथा उक्त विवरण अभिभावकलाई दिने जस्ता नियमलाई नगरका हरेक विद्यालयले कार्यान्वयन गरेका छन् ।
आ–आफ्नो क्षेत्रका हरेक विद्यालयमा स्थानीय जनप्रतिनिधिले नियमित अनुगम तथा निरीक्षण गर्न थालेपछि विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति बढेको छ । यसका साथै नगरले विद्यालय व्यवस्थापन समितिलाई प्रशिक्षित गरी रिले अनुगमन गर्ने व्यवस्था गरेको छ । हरेक ५ वटा माध्यामिक विद्यालयहरूलाई एक केन्द्र बनाइ कक्षा ३, ५ र १० को दुई पटक नमुना छनौट परीक्षा संचालन गर्ने गरिएको छ । विद्यालयले पाउने वर्षे, हिउदे तथा अन्य विदाको दिन पारेर थप ४० दिन कक्षा १० को अत्तिरिक्त कक्षा संचालन गर्ने प्रमुख थापाले जानकारी दिए ।
नगरले सामुदायिक विद्यालयको समग्र पक्ष सुधारको लागि सूचक निर्माण गरी विद्यालय मूल्यांकनको आधार तयार गरेको छ । विद्यालयको गुणस्तर मापनका लागि माविका लागि ६३ र प्राविका लागि ६६ बुदे सूचकको निर्माण गरिएको छ । तहगत रूपमा नगर स्तरीय अतिरिक्त क्रियाकलापको संचालन तथा विद्यालयमा खेलकुद सप्ताह आयोजना गर्ने गरिएको छ ।
नगरका हरेक विद्यालयमा विषयगत शिक्षक दरबन्दीको अभाव छ । तर नगरले आन्तरिक स्रोतको परिचालन गरी गत वर्ष ४२ जना नगर शिक्षकको व्यवस्थापन गरेको थियो । यो वर्ष विद्यार्थी बढेका कारण थप सय जना शिक्षक नगरले व्यवस्थापन गर्ने भएको छ ।
माहिनावारीको समयमा छात्रा अनुपस्थित हुने तथ्य फेला परेपछि हरेक माविमा निशुल्क सेनेटरी प्याड वितरण गर्न थालिएको छ । यसले गर्दा छात्राहरू नियमित विद्यालय आउने गरेका छन् ।
नगरको आन्तरिक स्रोतले नभ्याएपछि हेरक विद्यालयमा खेल शिक्षक तथा नर्सको व्यवस्थापन गर्न सकिएको छैन । यस्तैगरी विद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक सामग्रीको अभाव छ । सबै विद्यालयमा पुस्तकालय छैनन् । विद्यार्थी संख्याका आधारमा कक्षाकोठाको अभाव छ । तथापि आन्तरिक तथा वाह्य स्रोत जुटाएर शिक्षाको विकासमा देखिएका समस्यालाई समाधान गर्दै एक वर्षभित्र साक्षर नगर घोषणा गर्ने नगरको लक्ष्य रहेको उपप्रमुख लिला कुमारी मोक्तानले बताइन् ।
उपप्रमुख मोक्तान भन्छिन्, ‘यो वर्ष देखि प्राथमिक तहमा अतिरिक्त १ घण्टीको व्यवस्था तथा हरेक वर्ष क्रमशः सबै कक्षाको माध्यम भाषा अङ्ग्रेजी बनाइने छ ।’