अमरसिंह प्राविमा पठनपाठन नहुँदा व्यवस्थापन समितिको ध्यानाकर्षण

हुम्ला, ८ चैत (रासस): खार्पुनाथ गाउँपालिकामा रहेको अमरसिंह प्राविमा पठनपाठनमा लापरवाही भएको भन्दै अभिभावक सङ्घले गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गरेको छ । 

कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु भएको एक महीना बितिसक्दासमेत नियमित पठनपाठन नहुँदा समस्या भएको अभिभावक सङ्घका अध्यक्ष बालकृष्ण शाहीले बताउनुभयो । 

विद्यार्थी र अभिभावक सङ्घले विद्यालयमा हुने पठनपाठन, खाजाको सुविधा, पाठ्यपुस्तक, खेलकूद, शिक्षक समयमा उपस्थित नहुनेजस्ता कुरामा ध्यानाकर्षण गराएको अध्यक्ष शाहीले बताउनुभयो । विद्यालयले नयाँ शैक्षिक सत्र शुरु भएसँगै नयाँ भर्ना गरे पनि पठनपाठनदेखि अन्य कुरामा व्यवस्थापन समितिले चासो नदेखाएको उहाँले जानकारी दिनुभयो । 

अभिभावक सङ्घ र विद्यार्थीले उठाएका माग विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले पूरा नगरेमा वैशाख ५ गते जिल्लामा आएर आन्दोलन गर्नुका साथै जिल्ला विकास शिक्षा तथा समन्वय एकाइ र प्रशासनमा कुरा उठाउने अध्यक्ष शाहीले बताउनुभयो ।

Thuprai - Books and E-books