नियोजित तरिकाले चरित्र हत्या गर्न खोजियोः सदस्य रिमाल

शिक्षक सेवा आयोगका नवनियुक्त सदस्य डा. डिल्लीराम रिमालले केही व्यक्तिले आफूलाई जानकारी नै नभएको विषयमा नियोजित तरिकाले चरित्र हत्या गर्न खोजेको बताएका छन् ।

इडियुपत्रसंग प्रतिक्रिया दिँदै  रिमालले केही सञ्चार माध्यमले आफूलाई जोडेर आफू नै अनविज्ञ भएको विषयमा प्रचारप्रसार गरेको जानकारी दिए । ‘कार्य सम्पादनका क्रममा कहिलेकाही स्पष्टीकरण दिनुपर्ने अवस्था आउन सक्छ, त्यो अवसर पनि हुन्छ तर मैले यो विषयमा कहीँ स्पष्टिकरण दिएको छैन ।’ इडियुपत्रसंगको कुराकानीमा भने, ‘यो विषयमा म जानकार छैन म लोकसेवा आयोग, विश्वविद्यालय तथा अन्य निकायको प्राज्ञिक काममा जहिल्यै क्रियाशील छु, कही रोकटोक भएन ।’

केही सञ्चार माध्यममा शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०६१/६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको भन्ने कुरा सत्य भए पनि त्यो परीक्षामा आफूले कुनै त्यस्ते अर्मयादित काम नगरेको बताए । ‘मैले जहिल्यै प्राज्ञिक व्यक्तिका रुपमा काम गरेँ शिक्षक सेवाको अन्य परीक्षामा पनि उक्त भूमिका निभाए ।’ उनले भने, ‘उत्तरपुस्तिका सिधै परीक्षणका लागि दिइँदैन, कोडिङ, डिकोडिङ भएर मात्र परीक्षणका लागि जान्छ त्यसैले यो आरोप चरित्र हत्या गर्नका लागि लगाइएको मात्र हो ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगमा रिक्त रहेको पदमा नियुक्तिका लागि खुला विज्ञापन गरेको थियो । विभिन्न चरणका प्रक्रिया सकिएर नियुक्तिका लागि सिफारिस भएको सात महिना सम्म कसैले मेरो विषयमा प्रश्न उठाउँनु भएन तर मन्त्री परिषद्बाट नियुक्ति पाएको एक दिन पछि यस्तो समाचार बाहिरिनु भनेको निहीत प्रयोजनका लागि केही व्यक्तिले चलाएको कदम मात्र भएको उनले प्रतिक्रिया दिए ।

पहुँचका आधारमा अख्तियारको सिफारिस ढाकछोप गरियो 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षामा अनियमितता गरेको आरोपमा  २०६३  कार्तिक १७ गते कारवाहीका लागि आयोगमा  पत्राचार गर्ने निर्णय गरेको थियो । उनले यो विषयमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भनेर पन्छिएको भए पनि पहुँचका  आधारमा  अख्तियारको सिफारिस नै ढाकछोप गरियो । अख्तियारले  शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै  पठाएको पत्र संख्याः ६ शिक्षा,२२०, ६४-६५ मा उनलाई अनुचित कार्य गरेको आरोपमा पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नु भनी पत्राचार गरेको थियो । तर उक्त विषयमा आयोगले नै ढाकछोप गरेर उनलाई जोगाएको पाइएको हो ।अख्तियारले गरेको छानबिनमा शिक्षक सेवाको विज्ञापन नम्बर १–०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको उल्लेख गरिएको छ । उक्त परीक्षामा उनका भाइ लेखनाथ प्रतिस्पर्धी रहेका थिए भने परीक्षा पास गरेर अन्तर्वार्ताका लागि समेत सिफारिसमा परेका थिए । 

उनलाई सेवा वहालमा रहेका समयमा  पनि विभिन्न खालका अनियमितता गरेको आरोप लाग्दै आएको थियो । उनी सो परीक्षामा सम्मिलित भएको समयमा  जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत थिए । उनी उक्त कार्यालयबाट बिदा लिई प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा सहभागी बनेका थिए ।

अख्तियारले परीक्षाका विषयमा आयोगमा प्रश्न उठाए पनि उक्त परीक्षालाई नै आधिकारिकता दिइयो ।  कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिले आफ्नो कामलाई निरन्तर नै राखे । कारबाही भएन । २०६६ सालमा सहसचिवमा बढुवा भएका रिमालले २०७४ मा नियमित अवकाश पाएका थिए । अवकाश पछि  पनि  आफूले प्राज्ञिक कार्यलाई निरन्तरता दिएको प्रतिक्रिया दिए । कारबाहीका लागि सिफारिस भएको व्यक्तिलाई यतिका  समयसम्म किन कारबाही गरिने भन्ने  विषयको उत्तर खोजिको विषय बनेको छ । 

गत पुसमा शिक्षक सेवा आयोगको पदाधिकारी सिफारिस समितिले नवनियुक्त तीनै पदाधिकारीलाई सिफारिस गरेको थियो । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मी, सदस्यमा नन्दकुमारी महर्जन र  रिमाललाई नियुक्ति गरेको थियो । लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा सिफारिस समितिले उनीहरुको नाम सिफारिस गरेको हो । सो समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य थिए।

पुसमा सिफारिस गरे पनि पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्ना मान्छे नियुक्तिका लागि सिफारिसमा नपरेको भन्दै हस्तक्षेपपूर्ण तरिकाले रोक्दै आएका थिए ।

Thuprai - Books and E-books