Managed Admission 2022

गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फ

Thuprai - Books and E-books

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उहाँलाई विद्यालय पुग्न छ घण्टा पैदल हिँड्नुपर्छ ।

वर्षात्का समयमा यो बाटोमा जाखिमपूर्ण यात्रा गर्नुपर्छ । करिब छ घण्टा पैदलयात्रा गर्दा सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव पुग्न थापालगायत यहाँका विद्यार्थीले निकै सास्ती खेप्नुपर्छ ।

गाउँमा माध्यमिक विद्यालय नहुँदा आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय जानुपर्दा यहाँका धेरै विद्यार्थीले पढाइ छोडेर रोजगारीका लागि भारततर्फ जाने गरेका छन् ।

“मसँगैका तीन साथी स्कुल छोडेर काम गर्न भारत गएका छन्”, उनले भने, “यहाँबाट स्कुल पुग्दासम्म १३ खोला तर्नुपर्छ ।” उनले जङ्गलको बाटो वर्षातका बेला पहिरो र चट्याङको डरले विद्यालय छोड्ने गरेको बताए ।

भौगोलिक रुपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा यहाँका विद्यार्थी आठ किलोमिटर टाढा पैदल विद्यालय जान बाध्य छन् ।

“चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छौं ।” उनले भने, “बाटोकै समस्याका कारण धेरैले विद्यालय छोडेर भारत जान्छन ।” उनले हिउँदमा विद्यालय जानआउन सहज हुने भए पनि वर्षात्का बेला जान नसकिने बताए । कक्षा ११ मा अध्ययनरत विनोद बोहरा पनि विद्यालय नगएको एक साता भइसकेको छ । बादल हेरेर विद्यालय जाने गरेको उनले बताए । “पानी परेपछि खोला तर्न सकिँदैन वर्षात्का समयमा यहाँका कोही पनि विद्यालय जाँदैनन्”, उनले भने, “यहाँ घरमा पढ्नलाई बिजुली बत्तीको समस्या छ ।”

बोहराले विद्यालय जान आउने समस्याका कारण यहाँका थुप्रै विद्यार्थी पढाई छोडेर रोजगारीका लागि भारतर्फ लाग्ने गरेको बताए । “यहाँबाट ४०÷५० जना हिँडेरै ब्रह्मदेव जान्छौँ”, उनले भने, “जङ्गल छेउको बाटो भएकाले गाउँका सबै जम्मा भएर जान्छौँ ।”

सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेवका प्रधानाध्यापक उद्धवबहादुर चन्दले खल्ला मसेट्टीको बाटो जोखिमपूर्ण भएकाले वर्षात्का बेला त्यहाँका विद्यार्थी विद्यालय नआउने गरेको बताए । “वर्षात्मा विद्यालय आउन समस्या हुन्छ”, उनले भन्नुभयो, “पानी परे हामी विद्यार्थीलाई आउन पर्दैन् भन्छौँ ।”

भीम स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवनाथ योगीले यहाँका विद्यार्थीले निकै समस्या झेल्नुपरेको बताए । उनले गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको बताए।

 “गत वर्षमात्रै ८ कक्षासम्म बनाउन सफल भएका छौँ, यसमा पनि शिक्षकको समस्या छ”, उनले भने, “सम्बन्धित निकायले दरबन्दी थप्नुको सट्टा काट्ने गरेको छ ।”

उनले टाढाको विद्यालय जान यहाँको विद्यार्थीले निकै दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमिक तहको पढाई हुनुपर्ने माग गरे । “यहाँबाट हरेक वर्ष झण्डै ४० विद्यार्थी अर्को कक्षा उक्लिन्छन् ।” उनले भभने, “ती सबैले पढाइलाई निरन्तरता दिन सक्दैनन ।”

यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाई हुने गरेको छ भने वैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाई हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाई हुने गरेको छ ।

गाउँमा आर्थिकरुपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाई छोडेर भारत जानुपरेको यहाँका स्थानीय बताउँछन् । स्थानीय लोकबहादुर थापाले यहाँ सडक सञ्जाल विस्तार बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्या रहेको बताए । “यहाँ त समस्या धेरै छन्, आर्थिक अवस्था कमजोर छ, पढ्न पनि धेरै टाढा जानुपर्छ गाउँमा सुविधा छैन”, उनले भने, “युवा सबै रोजगारीका लागि भारत लागिसके विद्यालय जाने युवती मात्रै छन् ।” उनले छात्रालाई एक्लै विद्यालय आउनजानसमेत समस्या हुने गरेको बताए । “वर्षात्का बेला घरबाट स्कुल जान हिँडेका विद्यार्थी बाढीका कारण घर फर्किनुपर्ने अवस्था छ”, उनले भने, “गाउँमा बिजुली नहुँदा घरमै अध्ययन गर्न पनि समस्या हुन्छ ।”

यहाँका विद्यार्थी सडक र यातायात सुविधा नहुँदा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनले बताए । खल्ला मसेट्टी र टुँडीखेलमा गरी दुई सय ७० परिवारको बसोबास छ ।

आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका स्थानीय महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।