After SEE Portal

त्रिवि सभासभाद्वारा बार्षिक बजेट  र ६१ औं ग्रेस लिष्ट पारित

Bridge Course

त्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक सभा वैठकले ६१ औं ग्रेस लिष्ट र बार्षिक बजेट पारित गरेको छ । त्रिविको आव २०८०–०८१ का लागि  रु २६ अरब २४ करोड ९४ लाख ५५ हजार बजेट पारित गरेको छ ।

ग्रेस लिष्ट पारित गरे लगत्तै बसेको बैठकमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले आर्थिक बर्ष २०८०–०८१ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । ।

कुल २६ अरब २४ करोड ९४ लाख ५५ हजारको प्रस्तावित बजेट मध्ये नियमित कार्यक्रम तर्फ चालु तथा पुँजीगत खर्च जम्मा १३ अरव ९६करोड ५४ लाख ९५ हजार रहेको छ ।

 आन्तरिक तर्फ चालु तथा पुँजीगत खर्च गरी जम्मा रु ११ अरब २४ करोड ६४ लाख ६० हजार र विकास कार्यक्रममा रु १ अरब ३ करोड ७५ लाख रकम प्रस्ताव गरिएको छ ।

६१ औं ग्रेस लिष्टमा ७७ हजार १०३ विद्यार्थी परे

यसैगरी ग्रेस लिष्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थीहरु संलग्न रहेका छन् ।

ग्रेस लिष्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी समाविष्ट छन ।

६४ औं वार्षिक दिवसको अवसरमा त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आयोजित वार्षिक दिवस बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिविको बर्तमान शैक्षिक,प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे जानकारी लिइरहेको र विश्वविद्यालयले भोगिरहेका समस्या र तिनका समाधानका उपायबारे सरोकारवालासँगको भेटघाट एवम् औपचारिक छलफल भइरहेको बताए ।

त्रिविमा आवद्ध शिक्षक–कर्मचारीका प्रतिनिधि, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा विश्वविद्यालयका सम्वन्धित सरोकारवाला एकजुट भई तत्काल जनचाहना अनुरुप उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि वढनु अत्यावश्यक रहेको बताए ।

विश्वविद्यालय सभामा पेस भएको बजेट योजना तथा कार्यक्रममा नेपाल सरकारको तर्फवाट पूर्ण सहयोग रहेको भन्दै विश्वविद्यालयवाट सञ्चालित उच्चशिक्षाका कार्यक्रमहरुवाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकुल गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थीहरु उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो। उच्चशिक्षाका लागि विदेशिने परिस्थितिको अन्त्य गरी विश्वविद्यालयको शैक्षिक पात्रोलाई व्यवस्थित बनाउनुका साथै समयमै नतिजा प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षामा ध्यान दिन समेत प्रधानमन्त्री तथा कुलपतिले विश्वविद्यालयका पदाधिकारी समक्ष विशेष निर्देशन दिए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति अशोककुमार राईले त्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक दिवसको अवसरमा विश्वविद्यालयलाई समय सापेक्ष रुपमा सक्षम र समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशिल तुल्याउन पर्ने आवश्यकता रहेको बताए ।

केहि वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीहरुका विरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्विकार्य गतिविधि भइरहेको भन्दै सरोकारवाला सवै पक्षलाई आफना मागहरु पुरा गराउने नाममा असभ्य गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यामवाट गर्न समेत अनुरोध गरेका थिए ।

त्रिविलाई राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाई राख्ने मात्रै नभई विश्वमा मानव हितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि भित्राउने दायित्व परि रहेको भन्दै नेपाल सरकारले गत बर्ष नै नीति तथा कार्यक्रममा नै त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने घोषणा गरेको बताए ।

विश्वविद्यालयको पुनसंरचना, पुराना पाठ्यक्रमहरुलाई समय सापेक्ष रुपमा परिमार्जन, विश्वविद्यालयलाई अनुसन्धानमुलक र प्रविधिमैत्री बनाउने विषयमा समीक्षा गरी सुधारको गतिलाई तीव्रता दिन समेत अनुरोध गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उच्चशिक्षामा विदेशिने परिस्थितिको अन्त्य गर्न क्रियाशिल रहेको, परीक्षा प्रणालीलाई थप व्यवस्थित र सृदृढ गर्न लागिएको, शीघ्र नजिता प्रकाशनका लागी विशेष पहलकदमी लिइएको बताए ।

प्रविधिमैत्री विश्वविद्यालय बनाउने अठोट अनुरुप परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन एकीकृत सफ्टवेयर निर्माण गर्न लागिएको, इन्टरनेटलाई विश्वसनीयय र द्रुत गतिको बनाउन सवै आंगिक तथा सामुदायिक क्याम्पसमा अप्टिकल फाइवर जडान गरी सेवा सूचारु गर्न सम्झौता भइसकेको, एकीकृत वेवसाइट निर्माण गरी कार्यान्वयनमा ल्याइएको, त्रिवि केन्द्रीय पुस्तकालयलाई विद्युतियकरण गरी उपलब्ध सम्पूर्ण पाठ्यसामग्रीहरुलाई अनलाईनमा राखिएको, त्रिविका क्याम्पसहरुमा विद्युतीयय स्वचालित प्रणाली अनुरुप सञ्चालन गर्न शुरुवात गरिएको जानकारी दिए ।

बौद्धिक चोरीलाई निरुत्साहित गर्न सफ्टवेयरको प्रयोगलाई अनिवार्य गरिएको, वैज्ञानिक अनुसन्धान र नीतिगत अनुसन्धानमा राज्यकोषबाट प्राप्त हुने बजेटमा उल्लेखनीय बृद्धि गरिएको, आर्थिक सुशासन कायम गर्न बेरुजु न्यूनीकरण गर्ने अभियानका रुपमा अघि बढेको, दाता तथा अन्तर्राष्ट्रिय सहयोगलाई व्यवस्थित गर्न कोष निर्माण गरिएको सभामा जानकारी दिइएको थियो ।

विश्वविद्यालयलाई पुनःसंरचना गर्न आवश्यक कार्ययोजना बनाई सम्वन्धित निकायमा पेश गरिएको र लामो समयदेखि हुन नसेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरिएको बताउनुभएको थियो ।

उपकुलपति प्राडा बास्कोटाले विश्वविद्यालयका भौतिक रुपमा जीर्ण संरचनाहरुलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको र त्यसलाई पुर्ननिर्माण गर्न पुननिर्माण प्राधिकरणले २०२१ सेप्टेम्बर सम्ममा सवै पूर्ननिर्माणका कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको भएतापनि हालसम्म पुननिर्माण हुन नसकेको बताए ।

A Levels MA