सकिएकै हो त इतिहास अध्ययनको औचित्य !

असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो ।

कुनै समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै इतिहास पढ्ने विद्यार्थीहरुको सङ्ख्या पनि घट्यो । दश जोड दुई (प्लस टू) पढाउने कलेजहरुको प्राथमिकतामा इतिहास विषय परेन । कलेजहरुकै उपेक्षाको शिकार भएपछि इतिहास विषय अध्ययनतिर विद्यार्थीहरुको रुची घट्नु स्वभाविक हो । स्नातक तहमा पुग्दा प्लस टूमा नपढेको विषयतिर विद्यार्थीको के ध्यान जान्थ्यो ? स्नातक तहमा विद्यार्थीको अभाव झेलेको विश्वविद्यालयले स्नातकोत्तर तहमा मनग्य विद्यार्थी पाउने अवस्था नै रहेन । यसरी इतिहास अध्ययन गर्ने विद्यार्थीको चरम अभावका कारण इतिहास विषयका प्राध्यापकहरु फुर्सदिला बनेको देखिन्छ ।

विद्यार्थी अभावको कारण

अभिभावक र विद्यार्थीको प्राथमिकता रोजगारीमुखी विषयतिर बढ्दै गएको छ । अझ प्लस टू सक्नासाथ विदेशमा कमाउँदै पढ्ने सपना देख्ने प्रवृत्ति केही वर्षयतादेखि ह्वात्तै बढेको छ । नेपालमै रहेर इतिहासजस्तो ज्ञानमुखी विषय अध्ययन गरेर देशमा प्राज्ञिक योगदान दिन सकिन्छ भन्ने सोचको अपेक्षा विद्यार्थीहरुबाट गर्नु मृगतृष्णा जस्तो हुन पुगेको छ ।

इतिहास पढेका अग्रजपुस्ताले इतिहास विषयलाई जुन ढङ्गले आकर्षक विषय बनाउन पर्ने हो, अपेक्षाकृत त्यसो सकेनन् । राज्यले इतिहास अनुसन्धानमा लगानी गर्न नसक्दा इतिहास विषयमा उच्च शिक्षा लिएका पुस्ताले पनि काम पाउन सकेनन् । इतिहास पढ्नेहरुको यस्तो अवस्था देख्ने नयाँ पुस्तालाई इतिहास विषयले कसरी आकर्षण गर्न सक्थ्यो ?

देशको राजनीतिक परिवेशले पनि अनेकौँ मोड लियो । राणाकालको कुरा छाडौँ, पञ्चायतकालभरि इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले प्राथमिकता पायो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको त्यो समयमा राजा महाराजाका गल्ती कमी कमजोरी औल्याउने र जनताको वास्तविक इतिहासलाई व्यवस्थित गर्ने कार्य निषेधित जस्तै थियो । महत्त्वपूर्ण ऐतिहासिक कागजपत्रहरु राजदरबारको नियन्त्रणमा थिए । त्यस्ता कागजपत्र अध्ययन गर्न राजदरबारको विशेष कृपाको आवश्यकता पथ्र्यो ।

प्रजातन्त्रकालमा पनि इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले नै प्राथमिकता पाइरहदा खासगरी सरकारी कलेजहरुमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको खासै अभाव थिएन । तर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दासम्म विद्यार्थीमाझ इतिहास विषय पूरै अलोकप्रिय अवस्थामा पुग्यो ।

इतिहासः भविष्यको आधार

नेपाली युवा पुस्तामा विदेशी प्रभावको जरो दिनदिनै गहिराइमा पुगिरहेछ । खानपान, फेसन, गीत सङ्गीत आदिमा मात्र होइनः चिन्तनमा समेत विदेशी प्रभाव पर्न थालेपछि युवा पुस्तामा देशभक्ति भाव क्रमशः कमजोर हुन थालेको अनुभव हामीले गरिरहेका छौँ । युवा पुस्ताले पूर्वजको पौरखलाई एकादेशको कथाजस्तो सोच्न थालिसकेका छन् । भविष्यमा देश हाँक्ने पुस्तामा देशभक्ति भाव कमजोर हुँदै जानु राम्रो सङ्केत होइन ।

इतिहास विषयको अध्ययनबाट आफ्ना पूर्वजको गौरवबारे ज्ञानलाभ गर्न सकिन्छ । विगतको अवस्थाको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावको ज्ञानलाभ गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे पनि सचेत गराउँछ । देश कसरी निर्माण भयो, विगतमा देश कस्तो थियो ? यस्ता विषयमा छलफल गर्न पनि इतिहास विषयले सहज बनाउँछ । समग्रमा इतिहास विषयले देशभक्ति भाव बढाउँछ ।

इतिहास विषय केवल राजा महाराजाको महिमामण्डन होइन । विगतको कमजोरीहरु केलाउने र निफन्ने महत्त्वपूर्ण साधन पनि हो, इतिहास विषय । उदाहरणका लागि, आफ्नो स्वास्थ्य समस्या लिएर कुनै चिकित्सक कहाँ पुगेको एक विरामीको विषयमा कुरा गरौँ । उनलाई चिकित्सकले सम्बन्धित स्वास्थ्य समस्या पहिले पनि भएको थियो कि थिएन भनेर सोध्छ । यस्तो समस्या उनका बाबुआमा वा परिवारका कोही कसैलाई पनि भएको थियो भनेर पनि सोध्छ । पहिले सेवन गर्ने  गरेको औषधीका बारेमा पनि सोध्छ । अर्थात ती बिरामीको इतिहास सोध्छ ।

अझ विगतमा स्वास्थ्य परीक्षण गराएको रिपोर्टहरु छन् भने त चिकित्सकलाई सम्बन्धित बिरामीको रोग निदान गरी उपचारको सिफारिस गर्न सजिलो हुन्छ । भन्नुको अर्थ, देशमा विगतमा भएका सबै समस्याको चित्रण इतिहास विषयमा आउँछ । ती समस्याका कारण वर्तमानले झेल्न परेको परिस्थितिबारे ज्ञान दिन्छ इतिहास विषयले । त्यहीँ ज्ञानको आधारमा हामीले देशको समस्याको अन्त्य गरेर उज्यालो भविष्य निर्माण गर्न सक्छौँ ।

हामी नेपालमा बारम्बार आउने जाने भूकम्पलाई पनि उदाहरणका रुपमा लिन सक्छौँ । भूकम्प किन आउँछ रु यस विषयमा भूगर्भशास्त्रीहरुले पत्ता लगाएकै छन् । तर भूकम्प कहिले आउँछ भन्ने विषयमा भूगर्भशास्त्रीहरुले आजसम्म पत्ता लगाउन सकेका छैनन् । यस विषयमा थाहा पाउने एउटैै माध्यम हुन पुगेको छ इतिहास । हरेक ५० वर्षको अन्तरालमा नेपालमा ठूलो भूकम्प आउँछ भन्ने ऐतिहासिक अभिलेखअनुसार नै यसबारे सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिदै आएका छन् ।

हालै जाजरकोट र रुकुममा आएको विनाशकारी भूकम्पबारे विज्ञहरुले त्यहीँ इतिहासको आधारमा सचेत गराउँदै आएका थिए । पश्चिम नेपालका नागरिकहरुले विगत पाँच सय वर्षयतादेखि यस्तो विनाशकारी भूकम्पको अनुभव गर्न पाइरहेका थिएनन् । दार्शनिक भोल्तेयर इतिहास विषयमा भन्छन्,“विगतका तथ्यहरुलाई सङ्कलन गरेर रोचक पाराले प्रस्तुत गर्नु मात्रै इतिहास होइन, इतिहास त भविष्य हेर्ने आँखा हो ।”

इतिहास र पर्यटन

सुन्दर हिमलस्कर मुस्कुराउने देश हो नेपाल । विविधतायुक्त सुन्दर देश भएकै कारण नेपाललाई पूर्वको स्वीट्जरल्याण्ड पनि भनिन्छ । पर्यटकहरु भौगोलिक र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न त आउँछन् नै, स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ज्ञानको भोक पनि उनीहरुमा हुने गर्छ । पर्यटकहरुलाई स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ऐतिहासिक ज्ञानले परिपूर्ण बनाउनका लागि पनि इतिहास अध्ययन गर्नैपर्छ । इतिहास जति प्राचीन हुन्छ, पर्यटकहरुलाई त्यसले थप आकर्षित बनाउँछ ।

नेपालमा अनेकौँ ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरु छन् । यी सम्पदाहरु नेपाली सभ्यता विकासको पारिचयक हुन् । यी सम्पदाहरुको ऐतिहासिक विकासक्रमबारे प्रकाश पारेर पर्यटकहरुलाई सन्तुष्ट पार्नका लागि सम्बन्धित विषयको इतिहासबारे ज्ञान हुनैपर्छ । यस्ता सम्पदाहरुको इतिहास अध्ययन गरी यसको प्रकाशन र प्रचारले पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नेपालको इतिहास अध्ययन गर्न विगतमा प्रशस्तै विदेशी विद्वानहरु नेपाल आएर नेपालको इतिहास लेख्न भ्याए । नेपालमा लेख्न बाँकी इतिहासप्रति आकर्षण बढाएर प्राज्ञिक पर्यटन प्रवद्र्धनमा पनि इतिहास विषयले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

अन्त्यमा

अब इतिहास विषय राजा महाराजाको महिमा मण्डन मात्रै होइन भन्ने धारणालाई ब्यापक बनाउन अत्यावश्यक भएको छ । हिजोको जुन राजनीतिक व्यवस्था थियो र त्यसले इतिहास विषयलाई कतिसम्म समेट्ने भन्ने सिमा निर्धारण गरिदिएको थियो । अबको परिवेश त्यस्तो छैन । इति–ह–आस शब्दको सश्लेषणबाट इतिहास शब्द बनेको छ । इति भनेको ‘यस्तो’ ह भनेको ‘पक्का’ र आस भनेको ‘थियो’ भन्ने अर्थ लाग्छ ।

हिजो राजा महाराजाको जुन प्रकारले महिमा मण्डन गर्दै इतिहास शब्दकै मर्मलाई बिर्सेर लेख्नु पर्ने बाध्यता थियो, अब त्यो परिस्थिति पनि छैन । जे सत्य हो, जतिसुकै तीतो भए पनि त्यो लेख्ने हो । आशा गर्न सकिन्छ । इतिहास विषयले पुनर्जीवन पाउने पक्का छ ।

Thuprai - Books and E-books