SEE Result 2082

‘स्मार्ट स्कूल’ बन्यो आदर्श माध्यमिक विद्यालय

फिक्कल, १७ कात्तिक (रासस): प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । 

सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो । 

प्रतिनिधिसभा सदस्यको हरेक निर्वाचन क्षेत्रमा एक÷एकवटा यस्ता विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा स्तारोन्नति गरिने कार्यक्रमअनुसार सो कार्य गरिएको हो । अब शिक्षकहरूलाई चक–डस्टरसहित मार्करले लेख्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

त्यस्तै विद्यार्थीले पनि स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्न पाउनाका साथै अत्याधुनिक सूचना– प्रविधिको अधिक्तम प्रयोग गर्न पाउने भएका छन् ।

यो विद्यालय सूचना प्रविधि मैत्री बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारले सहयोग गरेको थियो । 

उक्त मन्त्रालयले विद्यालयलाई रु ७० लाख बराबरका कम्प्युटर, स्मार्ट ह्वाइटबोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री प्रदान गरेको थियो भने प्रदेश सरकारले करीब रु २० लाख बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायत सामग्री प्रदान गरेको थियो । यस किसिमको पढाइले आफूहरुलाई नौलो अनुभव हुनाका साथै पहिलाभन्दा अझ सहज भएको विद्यार्थी दीपेश तामाङले बताउनुभयो । 

उपलब्धिमूलक कार्यक्रम भए पनि आफूहरुमा चुनौतीसमेत थपिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताउनुभयो । उहाँकानुसार विद्यालयमा भौतिक संरचनासहित घेराबारा नहुँदा समस्या भएको छ । 

कार्यक्रम थपिएकामा आफूहरु हर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्तासमेत बढेको अध्यक्ष निरौलाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले सूचना प्रविधमैत्री विद्यालय घोषणाले विद्यार्थीहरुलाई अझ दक्ष बनाउँछ तर विद्युत् र इन्टरनेट नियमित नहुँदा चुनौती थपिएको उहाँको भनाइ थियो । 

यस किसिमको पढाइले गरीब र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको छ । 

एकदेखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा एक हजार ७६१ विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या पनि थपिँदै गएको बताइएको छ ।

+2 School
Counseling
Bachelors Portal