महिला प्रधानाध्यापकको आसलाग्दो सुधार

रुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको व्यवहार पारदर्शी हुन्छ । महिलामा आर्थिक अनुशासन पारदर्शी हुन्छ । त्यसैले महिलाले नेतृत्व सम्हालेका सरकारी संघसंस्था होस् वा निजी सबैले उचाइ छोएकै हुन्छ । त्यसमा पनि महिलाले नेतृत्व लिएका शैक्षिक संस्था एक दशक नपुग्दै समुदायको रोजाइको केन्द्र बनिसकेका छन् ।

जीर्ण पूर्वाधार, अभिभावकको विश्वास गुमाएका विद्यालयले पनि अभिभावकको पुनः विश्वास जित्न सफल भएका छन् । यसैको ज्वलन्त उदाहरण हो कैलालीको टीकापुरस्थित जनजागृति मावि । पूर्व प्रधानाध्यापक ललिता शाही नेतृत्वमा आउनुअघि विद्यालय भवन जीर्ण थियो । विद्यार्थी आउँदैन थिए । शाही नेतृत्वमा आएपछि विभिन्न संघसंस्था तथा सरकारका विभिन्न निकायमा हारगुहार मागिन् । विद्यालय भवन बन्यो । ११ ओटा पक्की भवनमा ४० कक्षाकोठा, शौचालय, खानेपानीको व्यवस्था भयो । अहिले सो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन होड चल्ने गरेको स्थानीयहरू बताउँछन् । ‘२०७६ जेठमा शाहीले प्रधानाध्यापक पद त छाडिन् तर उनले नेतृत्वमा रहेर विद्यालयमा गरेका योगदानका ठेली इतिहासमा जीवितै रहनेछन् ।’ एक स्थानीयले भने, ‘हाम्रो जनजागृति अहिले राम्रो भएको छ यसमा शाही मेडमको पसिनाको मुल्य उच्च छ ।’

विसं २०६१ जेठ १५ देखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेर २०७६ जेठसम्म काम गरिन् । विद्यालय राम्रो भएको शिक्षक अभिभावक खुसी छन् ।

करिब ९ सय विद्यार्थी रहेको सो विद्यालयमा उनी नेतृत्वमा आएका समय चार महिना शिक्षकले तलब खान पाएका थिएनन् । विभिन्न सांस्कृति कार्यक्रम गराएर शिक्षक व्यवस्थापन गरेको शिक्षक शाही सुनाउछिन् ।

विसं २०४३ सालमा स्थापित सो विद्यालयको पछिल्लो समयमा राम्रो नतिजा आएको छ । छात्रको तुलनामा छात्राको सङ्ख्या वृद्धि भएको छ ।

हिलोको कमल 'नीलबाराही'

 

कहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । एकातिर भर्खरै विद्यालयको नेतृत्व सम्हाल्नु अर्कातिर अभिभावकको भरोसा विद्यालयले गुमाइसक्नु । नीलबाराही माध्यमिक विद्यालय कालिमाटी काठमाडौंका प्रधानाध्यापक डा जानुका नेपाललाई अभिभावकको भरोसा जित्न कम हम्मे परेन ।

निरन्तरको प्रयत्नपछि विस्तारै अभिभावककले पत्याउन थाले अहिले ईसीडीदेखि कक्षा १२ सम्म १५ सय बढी विद्यार्थी छन् । ‘विद्यालय बाहिर हेर्दा फोहोर देखिन्छ तर शैक्षिक वातावरण राम्रो छ ।’ आफ्नो विगत सम्झदै प्रधानाध्यापक नेपाल भन्छिन्, ‘यात्रा सहज थिएन, कहिले विद्यार्थी अभावमा मर्ज, कहिले विद्यालय नै बन्द गर्ने अवस्था भएको समयमा एक दशक अघि प्रधानाध्यापक भएँ, मैले सम्पूर्ण सरोकारवालालाई आफ्नो बलबुताले भ्याएसम्म सम्झाए, समूह कार्यले अभिभावकको भरोसा जित्न सफल भइयो अहिले विद्यालयमा १५०० सय बढी विद्यार्थी अध्ययनरत छन् ।’

लोभ लाग्दो पद्यकन्या

 त्यस्तै कुनै बेला विद्यार्थी नआएर ढोका बन्द गर्ने अवस्थामा पुगेको डिल्ली बजारको पद्यकन्या विद्याश्रमलाई अहिले विद्यार्थी भर्ना गर्ने समयमा चाप थेग्न हम्मे पर्न थालेको छ । यहाँ देशको विभिन्न ठाउँबाट आएर काठमाडौंलाई आफ्नो कार्यथलो बनाएका आमाबुबाका ९ सय भन्दा बढी छोरीहरू पढ्छन् ।

शैक्षिक सत्र २०७३ देखि नै प्राविधिकधार तर्फ सिभिल ईञ्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको यो विद्यालयले दुई व्याचका सिभिल इञ्जिनियर उत्पादन गरेर बजारमा पठाइसकेको छ । सिभिल इञ्जिनियर पढेका छात्राले आफूले प्रमाण पत्र लिएपछि तत्काल बजारमा बिक्न सकेको विद्यालयका प्रधानाध्यापक रिता तिवारी बताउँछिन् । ‘केही विद्यार्थी लोकसेवा पास गरेर निजामती सेवामा प्रवेश गरेका छन्, केही नेपालमा नै उच्च शिक्षामा अध्ययन गरिरहेका छन् भने केही आफ्नो भविष्यको उत्कृष्ट गन्तव्य खोज्दै विदेशिएका छन् ।’ उनले भनिन्, ‘केही विद्यार्थी विषयान्तर गरेर स्नातक पढिरहेका छन् तर धेरै विद्यार्थी रोजगारीमा छिरिसकेका छन् ।’

विद्यालयले आफ्नो विद्यालय स्तरीय पढाइको अन्त्यसंगै तत्काल स्वरोजगार विद्यार्थी उत्पादन गर्ने उद्देश्यले चालु शैक्षिक सत्रदेखि सौन्दर्य कला विषयको कक्षा सञ्चालन गर्दै छ । पहिलो वर्षमा नै १५ जना विद्यार्थीले ऐच्छिक विषयको रुपमा यो विषय रोजेको विद्यालयले जानकारी दियो ।

यसका अलावा विद्यालयले केही नयाँ आयामको सुरुआत गर्दै छ । विद्यालय आगामी शैक्षिक सत्रबाट आवासीय बन्दैछ । कठिन अवस्थामा रहेका, बाहिर बस्न नसक्ने अवस्थामा रहेका विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले आधुनिक सुविधा सम्पन्न ४४ कोठे छात्रावास निर्माण गरेको छ ।

आश लाग्दो मनमैजु

त्यसैगरी, काठमाडौंको मनमैजु मावि पनि अहिले अभिभावकको रोजाइको केन्द्र बन्न सफल भएको छ । २०७७ साउन ८ गतेदवेखि युवा प्राधानाध्यापक रविना महर्जनले नेतृत्व लिएपछि विद्यालयमा बार्षिक विद्यार्थी संख्या बढिरहेको छन् । महर्जनको नेतृत्वमा विद्यालयले दुई शैक्षिक सत्र पुरा गरिसकेको छ । दुई शैक्षिक सत्रमा २५० भन्दा बढी विद्यार्थी थपिएका छन् । अहिले सो विद्यालयमा रसुवा, धादिङ, नुवाकोट लगायत ५० भन्दा बढी जिल्लाका ७९६ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक महर्जन बताउँछिन् ।

महामारीको समयमा आफूले नेतृत्व सम्हालेदेखि विद्यालयले सिकाइमा प्रविधिमैत्री वातावरण भित्र्याएको, समुदाय र विद्यालयको सम्बन्ध सुधार भएको , पूर्वाधार विकास भएको प्रधानाध्यापक महर्जन बताउँछिन् । ‘विद्यालयले सुधारका निम्ति फड्को मारिरहेको छ, त्यसका लागि हामी सामूहिक रुपमा प्रतिवद्ध छौं ।’ उनी भन्छिन्, ‘पूर्व प्राथमिकदेखि १२ कक्षा सम्म पढाइ हुने विद्यालयमा माविका लागि ४ जनाको मात्र दरबन्दी छ, नेपाली, विज्ञान लगायतका अनिवार्य विषयका नै शिक्षक छैनन्, तर हामीले नगरपालिकासंग समन्वय गरेर शिक्षक थप्नका लागि पहल गरेका छौं पालिकाले पनि हुन्छ भनिसकेको छ ।’

सबैको सहयोग र सहकार्यमा विद्यालय अब्बल

शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय सबैको सहयोग र सहकार्यमा विद्यालय अब्बल हुन्छ भन्ने विश्वास छ जनकल्याण मावि बौद्धका प्रधानाध्यापक कुमारी कमलाराईको छ । उनले विद्यालयको प्रशासनिक नेतृत्व सम्हालेको ८ वर्ष पुग्यो । आफू नेतृत्वमा आउनुभन्दा अगाडि ११०० जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा अहिले २५०० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक राईका अनुसार २०५१ सालको जेठ २ गते त्यस स्कुलमा पुग्दा विद्यालय अगाडि पाटीमात्र थियो। शौचालय थिएन। खानेपानी र बस्ने बेन्च थिएन। सुकुल बिछ्याएर पढाइ हुन्थ्यो। उनी म २०६३ देखि ०६५ सम्म निमित्त प्रधानाध्यापक बनेर विद्यालयको प्रशसनिक कार्यभार सम्हालिन् । उनी २०७२ मंसिरदेखि पूर्ण रूपमा प्रधानाध्यापकको जिम्मेबारीमा कार्यरत छन् ।

विद्यालयको बागडोर हातमा लिएपछि उनी बिहान साढे पाँचदेखि साँझ ६ बजेसम्म विद्यालयमा नै बिताउँछिन् ।

विद्यालयले अहिले संस्कारयुकत शिक्षा र शिक्षालाई सिपससंग जोडेर अघि बढेको छ । विद्यार्थी अनुशासित भएका छन् भने हप्ताको पाँच दिन आप्नो रोजाइ अनुसारको व्यासायिक सिप पनि सिक्दैछन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई सिलाई कटाइ सम्बन्धि तालिम प्रदान गर्ने गरिएको छ भने सगीतमा रुची भएका विद्यार्थीलाई संगित पनि सिकाइ रहेको छ ।

२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको स्कुलमा साइन्स ल्याब, कम्युटर ल्याब, नाच हल, पुस्तकालय, म्याथ ल्याब छन्। डोको, ढिकी, कोललगायतका परम्परागत औजार सजाएर राखिएको छ।

यी त प्रतिनिधि विद्यालय मात्र हुन् । काठमाडौं जिल्लामा मात्र ४२ जना विद्यालयको नेतृत्वमा पुगेका छन् । ती सबै विद्यालयले गुमेको समुदायको भरोसा बढाउँदै गएको महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपाल बताउँछिन् । जसमध्ये १७ जना माध्यमिक विद्यालयको प्रधानाध्यापक छन् भने अन्य आधारभूत विद्यालयको बागडोर सम्हालिरहेका छन् ।

तिनै मध्येको एक हो पन्चकन्या आधारभूत विद्यालय ।

मनमोहक पन्चकन्या

हरेक कक्षाकोठा प्रविधिमैत्रि छन् । हरेक कक्षालाई प्रविधिले एकैठाउँमा जोडेर राखिएको छ । सबै कक्षाको गतिविधि प्रधानाध्यापकले अफिसमा नै बसेर निगरानी गर्छन्। शिक्षण सिकाइ प्रक्रिया अन्य विद्यालयभन्दा फरक छ । ७ वटा कक्षामा स्मार्ट बोर्ड छन् । हल र कम्प्युटर ल्याबमा पनि स्मार्टबोर्डको व्यवस्था गरिएको छ । ‘हाम्रा सिकाइ बालमैत्री छ । बालबालिकालाई उनीहरुको रुची र इच्छाअनुसार व्यवसायिक सीप प्रदान गर्ने गरेका छौं ।’ प्रधानाध्यापक विनिता रञ्जितले भनिन्, ‘कुनै कुरा पटकपटक व्याख्या गर्नुभन्दा हामी प्रयोगात्मक विधि र क्षेत्र भ्रमण विधिबाट अध्यापन गराएर एकै पटक धारणा बसाउँछौं । राष्ट्रप्रेमको शिक्षा दिन्छौं त्यसैले सामुदायिक विद्यालय चलाउन पाएको आफूलाई गौरवान्वित ठान्छौं ।’