After SEE Portal

राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तय गरिने

Bridge Course

राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तय गरिने भएको छ । 

अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिनमा मनाइँदै आएको राष्ट्रिय शिक्षा दिवसका लागि नयाँ मिति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य थालेको छ ।

शिक्षामन्त्रीका निजी सचिव उषा ढकालले अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु मौलिकताको दृष्टिकोणले त्यति उपयुक्त नभएको बताउँदै भनिन्, “त्यसैले नयाँ मिति तय गर्न विज्ञहरुको समूह गठन गर्दैछौँ । त्यसले सिफारिस गरेको आधारमा महिना र गते छनोट हुनेछ ।”

उनका अनुसार सोही कारण यसपटक राष्ट्रिय शिक्षा दिवस नमनाइने भएको छ । 

२०३१ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले आफ्नो राज्याभिषेकको अवसरमा फागुन १२ गतेलाई शिक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए । सोहीअनुरुप सो दिवस मनाइँदै आएको थियो । २०६२/६३ को आन्दोलनले नेपालमा नयाँ राजनीतिक परिवर्तन स्थापित गरेपछि २०६३ सालमा फागुन १२ गते मनाइएन भने २०६४ सालको अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउने निर्णय गरिएको थियो । सो निर्णयअनुरुप सेप्टेम्बर ८ अर्थात् हरेक भदौ २३ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएको छ ।

विगतमा प्रवेशिका (एसएलसी) परीक्षाका सर्वोत्कृष्टलाई पनि राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृत गर्ने चलन भएकोमा सर्वोत्कृष्टको नाम सार्वजनिक नगर्ने चलन चलाइएपछि त्यसरी पुरस्कृत गर्न छाडियो । हाल एसईई र कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा निकाल्न सफल हुने विद्यालयलाई राष्ट्रिय शिक्षा दिवसका दिन राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरिन्छ । त्यस्तै स्नातक र स्नातकोत्तरमा सर्वोत्कृष्ट हुने विद्यार्थी तथा विद्यावारिधि उपाधि हासिल गर्नेहरुलाई विभिन्न विद्याभूषण प्रदान गरिँदै आएको छ ।

शिक्षामन्त्रीका निजी सचिव ढकालले आगामी भदौ २३ गते राष्ट्रिय शिक्षा दिवसको आयोजना नगरिने भएकाले पुरस्कार प्रदान गर्ने कार्य पनि स्थगित हुने बताउँदै नयाँ मिति चयन भएपछि त्यस दिनमा पुरस्कृत गरिने बताइन् ।

मन्त्रालयले पहिलो औपचारिक विद्यालय स्थापना भएको दिन, पहिलो कानुन जारी भएको दिन, पहिलो संस्कृत विद्यालय स्थापना भएको दिन, राष्ट्रिय शिक्षा नीति जारी भएको दिन लगायत मितिलाई प्रस्तावका रुपमा अगाडि सारेको छ । 

A Levels MA