Ranakalin Shiksha

कर्णालीमा कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ

नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला विस्तारै शैक्षिक  चहलपहल सुरु हुन थालेको छ ।

लामो समय विद्यालय बन्द हुँदा धुलोमाटोसँग खेल्दै आएका बालबालिकाले विद्यालय देख्न पाएका छन् । सहरमा कोठा लिएर पढ्ने बालबालिका गाउँबाट तल झर्ने क्रम बढेको बेला अभिभावक आफ्ना नानीबाबुलाई विद्यालय पठाउन पाउँदा खुशी छन् ।

कर्णालीका चार जिल्लाका लागि यो मङ्सिर महिना शैक्षिक सत्र अन्त्य हुने महिना हो । प्रतिकूल मौसमका बाबजुद हिमाली विद्यालय खुल्दा पहाडी, भित्री मधेश र तराईका बालबालिकाका लागि अनुकूलित वातावरण भएपनि त्यहाँका बालबालिकाका लागि भने यो निकै प्रतिकूल समय हो ।

जाडो हुने भएरै नेपाल सरकारले हिमाली जिल्लामा मङ्सिरलाई शैक्षिक सत्रको अन्तिम बनाएर पुस र माघ दुई महिना बिदा दिँदै आइएको थियो । कोरोना महामारीले ल्याएको विषम् परिस्थितिका कारण नेपाल सरकारको निर्देशनमा स्थानीय सरकारहरुले विद्यालय खोलेका छन् ।

यद्यपि, हिमाली जिल्लाका लागि यो याममा विद्यालय खोल्नु बाध्यकारी नै ठानिन्छ । मङ्सिर लागे यता कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरिसकेको छ । यही मङ्सिर ६ गते जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेन्टिग्रेटमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख आशामपुरा कार्कीले जानकारी दिए । “कहिले त जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री सेन्टीग्रेट छ र अब तल लाग्न पनि सक्छ” उनले भने, “जाडो दिन प्रतिदिन बढिरहँदा जनजीवन कष्टकर बन्दै गएको छ ।”

राससमा शुरबहादुर सिंह लेख्छन् चिसोले पाइप जमेर घरमा पानीको अभाव हुन थालेको चन्दननाथ नगरपालिका– ६ जुम्लाका स्थानीय सम्झना महतले बताइन् । महतले भनिन्, “हामी बजारकोभन्दा एकाबिहानै उठेर दाउरा बेच्ने, खेतबारीमा मलपर्सो बोक्ने, घर लिपपोत गर्ने गाउँका महिला र विद्यालय जाने बालबालिकालाई चिसोले सताएको छ । रुघाखोकी लागेर समस्या बनाएको छ ।”

कठ्याङ्ग्रिने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई शौचालय जानसमेत कठिन बनाएको बताउने थालिएको छ । तरपनि त्यो कठोर जाडोमा यहाँका बालबालिका विद्यालय गएर पढ्न थालेका छन् । चिसोसँग जुधेर पढ्नु उनीहरुको दैनिकी जस्तै बनेको छ ।

यसबाट गरिब परिवारका बालबालिका बढी प्रभावित भएका छन् । चिसोले गाडीको डिजेल पेट्रोल जम्न थालेपछि यातायात व्यवसायीलाई सास्ती हुन थालेको छ । गाडी सञ्चालनमा ल्याउन उनीहरुले दाउरा किनेर तेल ट्याङ्कर तताउँदै आएका छन् ।

बिहान बेलुका चिसोले गर्दा हिमाली जनजीवन कष्टकर बन्दै गएको छ । कठिङ्ग्रिने चिसोमा बालबालिकालाई कक्षा कोठामा बसाएर पढाउने अवस्था छैन । कठ्याङ्ग्रिने जाडोले पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबैलाई ठूलो समस्या भएको पातारासी गाउँपालिकास्थित सरस्वती मावि रिनी जुम्लामा कार्यरत शिक्षक जयशंकर धितालले जानकारी दिए ।

नेपाल सरकारले अहिले हिमाली जिल्लाको शैक्षिक सत्र चार महिना बढाएको छ । यसले मुलुकभरको शैक्षिक सत्र मिलान भएपनि शिक्षण क्रियाकलाप सहज नहुने देखिएको छ ।

हिमाली क्षेत्रका विद्यालयमा हुने शैक्षिक गतिविधिहरु कोरोना कहर र कठ्याङ्ग्रिने जाडोको कष्टकर अवस्थामा सञ्चालन भइरहेको चन्दननाथ नमूना मावि खलंगा जुम्लाका प्रधानाध्यापक टंक महतले बताए । “हामी र हाम्रा बालबालिकाले एकातिर जाडोबाट बच्नुछ भने अर्कोतिर कोरोना भाइरसको सङ्क्रमण फैलनबाट जोगिन त्यत्तिकै सावधानी अपनाउनु पर्नेछ”, प्रधानाध्यापक महतले भने, “एउटा समस्याले समात्यो भने पनि हाम्रो शिक्षण क्रियाकलाप त्यत्तिकै प्रभावित हुने निश्चित छ । त्यसैले अतिरिक्त बाक्लो लुगा लगाएर बालबालिकालाई विद्यालय आउन भनेका छौँ ।”

सरकारले यस वर्ष पाठ्यक्रम खुम्च्याएर पठाएकाले सोहीअनुरुप पठनपाठन भइरहेको बताउँदै उनले आधारभूत तहको एक दिन र मावि तहको अर्को दिन भौतिक दूरी कायम गरेर अध्यापन गरिरहेको बताए । उनका अनुसार चन्दननाथ नमूना माविले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको छ ।

यता शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा आधारभूतदेखि मावि तहसम्म अध्ययनरत कूल विद्यार्थी सङ्ख्या पाँच लाख ८२ हजार ११ रहेको जानकारी दिए ।

जसमा रुकुमपश्चिममा ५४ हजार ८१८, जाजरकोटमा ७८ हजार २००, सल्यानमा ७९ हजार १७४, दैलेख ९७ हजार १८७ र सुर्खेतमा एक लाख १८ हजार १८२ विद्यार्थीलाई एक देखि १२ कक्षासम्म अध्ययन गरिरहेका छन् ।

त्यस्तै साविक कर्णालीको डोल्पामा १० हजार ३८६, हुम्लामा १७ हजार ५६८, मुगुमा २० हजार ७३६, जुम्लामा ३९ हजार ५६० र कालीकोटमा ६६ हजार २८० विद्यार्थी सङ्ख्या रहेको निमित्त निर्देशक हमालले बताए । “कर्णालीका हिमाली जिल्लाका रुपमा चिनिने साविक कर्णालीका पाँच जिल्लामा कूल एक लाख ५४ हजार ५३० (२६.५५प्रतिशत) बालबालिका अध्ययनरत छन्,” निमित्त निर्देशक हमालले भने, “यो कोरोना महामारी र कठ्याङ्ग्रिने जाडोको उच्च जोखिममा उनीहरु नै छन् ।”

कोरोना महामारीमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाएको भने देखिँदैन । गाउँका बालबालिकाले दैनिकरुपमा सहजै मास्क प्रयोग गर्न नसक्ने र खोजे पनि भेटिने अवस्था नरहेको तिला गाउँपालिकाका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले बताए। “हामीले बालबालिका विद्यालय प्रवेश गर्दा अनिवार्यरुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गराएका छौं,” उनले भने,, “चिसोले हात धुन नसक्दा स्यानिटाइजरको प्रयोग भइरहेको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले भने अहिले हिमाली जिल्लामा कोरोनाभन्दा कठोर जाडोले रुघा खोकी, दम र निमोनियाका बिरामीहरु बढ्न थालेको बताए । निर्देशक डा. रावलले भने, “यसमा बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरु नै बढी प्रभावित छन् । यसको प्रमुख कारण भनेकै जाडो अधिकतम् प्रभाव हो ।” उनले कोरोनासँग नडराउन र हेलचक्र्याइँ पनि नगर्न सबैमा आग्रह गरे ।

यो समयमा आफूलाई न्यानो राख्न, झोलिलो पदार्थहरु खान, विशेषगरी अभिभावकहरुले आफ्ना नानीहरुलाई उचित सुरक्षा दिन प्रतिष्ठानले सुझाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई हुम्लाका कार्यालय प्रमुख विष्णुबहादुर शाहीले हुम्लाका स्थानीय तहहरुले बेलाबेलामा विद्यालय खोल्ने प्रयास गर्दा कोरोना देखिएपछि बन्द भएको बताए । पछिल्लो समयमा हुम्ला नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण देखिएकोले अहिले हुम्लामा विद्यालय सञ्चालन नभएको जनाए । “हुम्लामा एकातिर जाडो निकै बढेको छ भने अर्कोतिर कोरोना सङ्क्रमणको प्रभाव त्यस्तै छ,” एकाइ प्रमुख शाहीले भने, “अब माघ १५ गते विद्यालय सञ्चालन हुनेगरी हाललाई यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।”

नेपाल सरकारले विद्यालय सञ्चालनका लागि गरेको निर्देशन कोरोना र जाडोले हिमाली जिल्लाका अनुकूल बन्न नसकेको उनको भनाई छ ।

हिजोआज हिमाली जिल्लाका विद्यालयबाट चिसोले फाटेका हात, धुलोले लपेटिएका कपडा लिएर बालबालिका घर फर्कछन् । चिसोले बालबालिका न आफै हात धुन सक्छन् नत अभिभावकले सजिलै लुगाकपडा धुन सक्छन् । तर पनि कठ्याङ्ग्रिने जाडो र कोरोनाको महामारीमा सकसपूर्ण पढाई चलिरहेकै छ ।

पछिल्लो समय विद्यालयमा पनि कोरोना भाइरस सङ्क्रमण देखिँदा यसले शिक्षण क्रियाकलापलाई अझ बढी प्रभावित बनाएको छ । कोरोनाको सङ्क्रमण फैलिने खतरा र कठ्याङ्ग्रिने जाडोको चपेटामा परेका यहाँका बालबालिकाको जीवन अझ बढी जोखिममा रहेको देखिएको छ ।

यस्तो परिस्थितिमा तीनै तहका सरकारले उनीहरुलाई दुवै जोखिमबाट सुरक्षित राख्ने वैकल्पिक बाटो खोजेर अध्ययन अध्यापनका गतिविधि सञ्चालन गर्न सक्नुपर्दछ ।