नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा शिक्षक विरुद्ध  मुद्दा दायर

नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा विशेष अदालतमा शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

धनुषा, गणेशमान चारथान नरपालिका वडा नं. १० बरमझिया स्कुलमा विसं २०६३ सालदेखि निमावि राहत शिक्षक ब्रहमदेव यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिएको र कास्की, पोखरा मनपा वडा नं २२ पुम्दी भुम्दी, तारेभिर स्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ब्रहमदेव यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको झुट्टा तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र साविक निम्न माध्यमिक विद्यालय हाल श्री माध्यमिक विद्यालय बरमझियामा पेश गरी निमावि राहत कोटामा नियुक्ती लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

त्यसैगरी, शिक्षक पौडेलले अस्थायी एवं स्थायी दुवै नियुक्तिको समयमा पेश गरेको शैक्षिक प्रमाणमा निजको जन्म मिति फरक परेको हुँदा मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको हुँदा पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज मुद्दा दायर गरिएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal