CMAT

मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदै

Bachelors Portal

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस प्रदेशबाट कूल ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम सङ्ख्या सप्तरीबाट रहेका छन् । धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार ४३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले  परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताए । निर्देशक ठाकुरले आठ जिल्लामा गरी २९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार ६५८ जना कर्मचारी खटाइने बताए ।

आवश्यक तयारी करिब पूरा भएको बताउँदै निर्देशक ठाकुरले  मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । उनले यस प्रदेशमा एसईई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए ।

त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिए।

Thuprai - Books and E-books
I Tech store