After SEE Portal

दैनिक ६०० ले लिन्छन् एन्ओसी, पछिल्लो समय जापान जाने बढे

Bridge Course

देश कता जाँदै छ । भविष्य कस्तो छ देशको । अध्ययन गर्न भक्तपुरको सानो ठिमी स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयमा पुगे पुग्छ । अबको १० वर्षमा देशै युवा विहीन त हुने होइन ? सो को अध्ययन गर्न दैनिक उक्त कार्यालयमा पुगेपुग्छ । विदेश जाने युवा विद्यार्थीको लर्को देख्दा पनि अझै राज्य मौन छ । सुनिस्चित भविष्यको  खोजीमा निस्कन खोज्ने युवाको अनुहारले देशको चित्र त छर्लङ देखाएको छ ।  ती किशोर किशोरी तथा युवाको अनुहारमा हेरे मात्र प्रस्ट झलकन्छ देश कता मोडिँदै छ । विश्वविद्यालय रित्तिँदैछन् । गाउँ सहर युवा विहीन हुँदैछ तर राज्यको ध्यानाकर्षण हुन सकेको छैन ।

अनलाइन आवेदन दिए पनि सास्ती उस्तै

अहिले एनओसीको आवेदन अनलाइन माध्यमबाट  दिन सकिन्छ। आवेदनपछि प्रमाणीकरण गरी शाखाले एनओसी दिन्छ । आवश्यक कागजात प्रमाणीकरण भएपछि शाखाले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बरमा म्यासेज पठाउँछ तर शाखाले म्यासेज गर्न नभ्याउँदै विद्यार्थी आउँछन् । नआउन् पनि कसरी उनीहरुको हातमा विदेशी विश्वविद्यालयमा भर्ना भएका कागजात र जाने टिकट आइसकेको हुन्छ ।  शाखाका कर्मचारी विहान सातै बजे कार्यालय प्रवेश गर्छन् । विद्यार्थीको लाइन पनि सातै बजेदेखि सुरु हुन्छ । अनलाइनबाट आवेदन दिएका विद्यार्थी एनओसी लिन मात्र शाखामा लाइन बसेका हुन् ।

कमजोर इन्टरनेट, आइटी मन्त्रालयमा

घरिघरि शाखाको इन्टरनेटमा समस्या आउँछ । कम्प्युटर पनि स्लो छन् । शाखा प्रमुखकै कम्प्युटर पनि पाँच मिनेटमा तीन पटकसम्म झ्याप्प झ्याप्प अफ हुन्छ । उनी आफै जेनतेन गरेर बनाउँछन् । बनाउने सर्वर हेर्ने कर्मचारी त शिक्षा मन्त्रालय मै बस्छन् ।शाखा सम्म आउँदैनन् । मन्त्रीको वरिपरि घुम्छन् । विदेश जान्छन् ।  तर कामको भार भएको शाखामा भने राज्यको ध्यान नजाँदा विद्यार्थी तथा कर्मचारीले सास्ती खेपेको शाखामा कार्यरत एक कर्मचारीले बताए ।

इन्टरनेटको गति फास्ट हुँदा एक जना विद्यार्थीको डकुमेन्ट एप्रुभ गर्न तीन मिनेट लाग्छ । तर अहिले एक जना विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन शाखाका कर्मचारीलाई १० देखि १२ मिनेट लाग्छ । यो गतिमा एक जनाले एक दिनमा १५० जनाको डकुमेन्ट मुस्किलले एप्रुभ गर्न सक्छन् । तीन जनाले सो काम गर्दा मुस्किलले ६०० जनालाई नो अब्जेक्सन लेटर दिन सक्छन् । अथवा शाखाले अहिले दैनिक ६०० जनालाई उक्त लेटर प्रदान गरिरहेको जानकारी दियो ।

दैनिक  ६०० को प्रमाणीकरण, १० हाजरको आवेदन प्रमाणीकरण हुन बाँकी

शाखामा जनशक्ति थोरै छ । जम्मा तीन जना कर्मचारीले मात्र प्रमाणीकरणको काम गर्छन् । शाखाले दैनिक ६०० जनालाई नो अब्जेक्सन लेटर दिँदै आएको छ । तर शाखामा दैनिक १२ हजार जनाले नो अब्जेक्सन लेटरका लागि आवेदन दिन्छन् । आज शुक्रबार १२ बजेर ४५ मिनेट जाँदा सम्म  एनओसीका लागि १० हजार ७६५ जनाले आवेदन दिएका छन् । तर शाखामा काम गर्ने जनशक्ति न्यून छ । जनशक्ति मात्र होइन इन्टरनेटको स्पिड पनि स्लो छ । तीन मिनेटमा गर्ने काम १०दखि १५ मिनेट लाग्ने गरेको शाखा प्रमुख प्रमुख शान्तिराम पौडेलले जानकारी दिए । शाखामा हाल करार र स्थायी गरी १५ कर्मचारी छन् । चालु आर्थिक वर्षमा मात्र ५८ करोड ११ लाख राजस्व संकलन गरेको छ तर मन्त्रालयले वेवास्ता गर्दा कार्यसम्पादनमा ढिलाइ भएको शाखा प्रमुख पौडेलले बताए । ‘बिहान सात बजेदेखि कार्यालय समयभर काम गर्छन् तर मन्त्रालयले हामीलाई ओझेलमा राख्छ ।’ उनले भने, ‘आवश्यक जनशक्ति र भएकालाई सम्मानजनक व्यवस्थापन गर्नुपर्छ ।’

 फेरिँदै गन्तव्य मुलुक

पछिल्लो वर्षहरुमा उच्च शिक्षाको प्रमुख गन्तव्यका रुपमा रहेका देशको सूची अब केही पछि धकेलिन थालेको छ । चालु आर्थिक वर्षको साउन एक गतेदेखि फागुन १७ गते सम्म कुल ६१ हजार ७३२ जनाले शाखाबाट एनओसी लिएका छन् । एनओसी लिनेमा क्यानडाका लागि १३ हजार ५५३, जापानका लागि १२ हजार १२७, अष्ट्रेलियाका लागि ११ हजार ८२, युनाइटेड किङ्डम(युके) का लागि ७ हजार ४३७, संयुक्त राज्य अमेरिकाका लागि ५ हजार ७६३, कोरियाका लागि ३ हजार ४१८,युएईका लागि १४०१, इन्डियाका लागि १३९५, डेनमार्क ७४९, फ्रान्स ६६९ जनाले एनओसी लिएका छन् ।

फागुनमा मात्र ४ हजार ६१४ जनाले एनओसी लिइ सकेका छन् । पछिल्लो १८  दिनमा जापानका लागि ३ हजार ६६८, क्यानडाका लागि ४५८, युकेका लागि २९३, अष्ट्रेलियाका लागि २८४, दक्षिण कोरियाका लागि १०६, अमेरिकाका लागि ९२ जनाले एनओसी लिएका छन् । भने बाँकी अन्य देशका लागि एनओसी लिनेछन् । पछिल्लो एक हप्ता जापानका लागि एनओसी लिनेको संख्यामा वृद्धि भएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

‘बिहान ७ बजेदेखि नै हामी काम गरिरहेका छौं, तर पनि  अझै १० हजार बढी आवेदन पेन्डिङमा छ ।’ उनले भने, ‘बिना स्वार्थ ओभर टायम काम गरिरहेका छौं तर पनि काम सकिँदैन जनशक्ति तथा आवश्यक उकरण र हाइ स्पिडको इन्टरनेट हुने हो भने हामी २४ घण्टाभित्र विद्यार्थीलाई एनओसी दिन सक्छौं ।’

शाखाले गत जेठ १ गतेदेखि एनओसी अनलाइनबाटै दिन सुरु गरेको हो ।  सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने  भन्दै अनलाईनबाट एनओसी जारी गरे पनि विदँर्थीले सास्ती भने खेपिरहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books