A Levels MA

पोखरा विश्वविद्यालमा ११५६ सिट छात्रवृत्तिका लागि ३७६१ जना विद्यार्थी परीक्षा दिँदै

पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ का लागि ३ हजार ७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । विभिन्न संकायको कुल १ हजार १५६ सिट छात्रवृत्ति कोटामा छनोटका लागि  विद्यार्थीले आज र भोलि परीक्षामा सहभागी हुँदै छन् ।विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका ३ वटा कार्यक्रममा  भने छात्रवृत्ति प्रदान गरिने भन्दा १३ जना कम विद्यार्थी परीक्षामा सामेल हुँदै छन् ।

सो परीक्षामा विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका ११ वटा कार्यक्रममा ४४७ सिटका लागि कुल २ हजार ४०२ जना, व्यवस्थापन संकाय अन्तर्गतका ६ वटा कार्यक्रममा ६६८ सिटका लागि १ हजार ३३१ जना र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका ३ वटा कार्यक्रममा ४१ सिटका लागि २८ जना विद्यार्थी परीक्षामा सामेल हुने विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयले खुला, स्थानीय, दलित, जनजाति, दुर्गम, अपाङ्ग, शहीद तथा जनआन्दोलन घाइते पीडित, शिक्षक कर्मचारी सन्तति र मधेशी समूदायमा लक्षित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

गत वर्षमात्रै विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका कार्यक्रममा कुल १ हजार १९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

छात्रवृत्ति परीक्षा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स, त्रिभुवन शान्ति नमूना माध्यामिक विद्यालय र गोल्डेन नेचर बोर्डिङ्ग स्कूल, पोखरा–३०, खुदी, ढुंगेपाटनमा सञ्चालन हुँदैछ । विश्वविद्यालयमा सञ्चालित स्वास्थ्य विज्ञान संकायका कार्यक्रममा भने अघिल्लो वर्षदेखि चिकित्सा शिक्षा आयोगले परीक्षा लिँदै आएको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयमा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरी गरी कुल ४ वटा आंगिक , ४ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धनप्राप्त कलेजहरू सञ्चालन गर्दै आएको छ ।

Thuprai - Books and E-books