सिप मेलाबाट तालिम लिएका ३० जना पारिश्रमिक सहित ‘अन द जब’ ट्रेनिङमा

काठमाडौं महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई पारिश्रमिक सहित ‘अन द जब’ट्रेनिङमा पठाउने भएको छ र

महानगरपालिकाले मासिक न्यूनतम १८ हजार रुपियाँ र साझेदार संस्थाबाट ९ हजार रुपियाँ प्रदान गर्ने गरी विद्युतीय र अन्य सवारी साधन मर्मतका लागि पठाउने भएको हो ।

यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् । सम्झौतापछि उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ । हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ । यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ।’

गएको वर्ष महानगरपालिकाले सिप मेलामा अटो इलेक्ट्रिक ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) ६० जना गरी सय जनाले १ महिने तालिम लिएका थिए । उनीहरुमध्ये ५० जना स्वरोजगार भएको र बेरोजगार रहेका ५० जानेले रोजगारीमा जान इच्छा देखाएको हुँदा ३० जनालाई छनोट गरी पारिश्रमिक सहित तालिममा पठाएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।

फाउन्डेसनसंग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि सिफारिस गर्ने छ भने कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्ने सम्झौतमा उल्लेख छ ।

‘अन द जब ट्रेनिङ्’ का विषयमा साझेदारसँग परामर्श वैठक

सिपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ कार्यक्रम सञ्चालन गर्नका लागि निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्य गर्ने भएको छ ।

कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सिप सिक्ने व्यवस्था गरेको छ । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विद्यालयको औपचारिक शिक्षामा सिपमूलक तालिमलाई स्थापित गर्दै लगेको उपप्रमुख ढंगोलले बताइन् । ‘विगतका भोगाइ र सिकाइ तथा वर्तमानको माग र आवश्यकताका आधारमा हामी कार्यक्रम कार्यान्वयन गर्दै जानेछौँ ।’ सामाजिक समितिका संयोजक रामकुमार केसी। ले भने, ‘सिपमूलक तालिम कार्यक्रम सम्पन्न गर्न मात्र होइन । यहाँबाट उत्पादन भएका जनशक्ति उद्योगको आवश्यकता पूरा गर्न सक्ने बन्न सकुन् भन्नेमा सचेत छौँ ।’

बैठकमा उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा शैक्षिक प्रतिष्ठानहरुबाट ध्यान नपुगेको गुनासो गरेका थिए । तालिम नलिएका व्यक्तिलाई काममा राखेर सिप प्रदान गर्छौँ । सिप प्राप्त गरिसकेपछि ऊ वैदेशिक रोजगारीको सपना बनाउँछ । सिपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको बताए

छलफलमा दक्षता प्रमाणीकरण, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना, शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ्यक्रम लगायत विषय समेटिएका थिए । औपचारिक शिक्षासँगै तालिम सञ्चालन हुनु पर्ने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गराउनु पर्ने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्नु पर्ने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध हुनुपर्ने, तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँच हुनुपर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा दिनु पर्ने सुझाव प्राप्त भए को थियो । महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन् ।

अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गरिरहेको छ ।

गएको वर्ष सम्पन्न सिप मेला

कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ ९वैशाख १९० को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।