अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)

परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको मूल्याङ्कन विवरण बोर्डमा पढाइसकेका छन् । बाँकी जिल्लाले साउनको पहिलो हप्ताभित्र विद्यार्थीको विवरण पठाएमा बोर्डले साउन मसान्तभित्र नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

प्रतिकुल परिस्थितिका कारण विद्यालयलाई नतिजा पठाउन समस्या भएका कारण धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइमा बुझाउनु पर्ने व्यवस्था गरेको थियो । इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।

कार्यविधि अनुसार एसईईको मूल्याङ्कन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउने व्यवस्था गरेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्याङ्कन आधार तोकिएको छ ।

कक्षा १२ को परीक्षा अन्योल

राष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि कक्षा १२ को वार्षिक परीक्षा साउन २२ गते बाट सञ्चालन गर्ने सरकारसँग अनुमति माग्यो । तर सरकारले अहिले सम्म बोर्डको सो मागलाई सुनुवाइ गर्न सकेको छैन । सरकारको आनाकानी संगै कक्षा १२ को परीक्षा कहिले हुने भन्ने विषयमा अन्योल सिर्जना भएको बोर्ड स्रोतले जानकारी दियो । 

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्नका लागि बोर्डले अनुमति मागे पनि पछिल्लो राजनितिक घटनाक्रम र सीसीएमसीले समयमै निर्णय नगरिदिँदा परीक्षा अन्योलता तर्फ धकेलिएको बोर्डले जानकारी दियो । बोर्डलाई परीक्षाको सम्पूर्ण तयारी गर्न करिब एक महिना लाग्ने हुँदा साउनमा परीक्षा हुने सँम्भावना टरेर गएको हो । यो वर्ष करिब ३ लाख ४० हजार विद्यार्थीहरु कक्षा १२ को परीक्षा सञ्चालनको पर्खाइमा रहेका छन् ।

अवैधानिक तरिकाले शुल्क असुल्दै विद्यालय

कानुनको ठाडो अवज्ञा गर्दै शुल्क उठाएका सामुदायिक विद्यालयहरुले विद्यार्थी तथा अभिभावकलाई सामान्य बिल थमाइदिने गरेका छन् । थुप्रै शीर्षकमा उठाइने गरिएको शुल्कको हिसाब किताबसमेत अपारदर्शी छ । नियमन निकायको मौनताले यस्ता विद्यालयहरुले टाउको उठाउन पाएका छन् ।

सामुदायिक विद्यालयले समेत आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) लिएकै हुनुपर्दछ । उपत्यकाका केही विद्यालयले प्यान लिएको भए पनि त्यसको वेवास्ता गर्दै आएका छन् । हिसाब पारदर्शी राख्नुपर्ने भएपछि उनीहरुले प्यान नम्बर उल्लेख भएको बिल जारी गर्ने गरेका छैनन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्या निराकरण गर्न संस्थागत धारणा सार्वजनिक

लामो समयदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न संस्थागत समस्या निराकरण एवं निकासका निम्ति संयुक्त संघर्ष समितिले बुझाएको १२ बुँदे मागहरु सम्बोधन गर्ने प्रतिष्ठानले संस्थागत धारणा सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले मासिक आय व्यय प्रतिष्ठानको वेबसाइटमा राख्ने व्यवस्था मिलाउने र प्रगति विवरण हरेक तीनतीन महिनामा पदाधिकारी एवं सम्बन्धित विभागका प्रमुखहरु लगायत प्रतिष्ठानका शिक्षक, कर्मचारीका आधिकारिक समाजका प्रतिनिधिहरु बीच प्रस्तुत गर्ने भएको छ । जेनेरल स्टोर, मेडिकल स्टोर र डेन्टल स्टोर स्वतन्त्र रुपले हरेक स्टोर एकद्वार प्रणालीबाट संचालनमा रहेकोमा सफ्टवेयर अपडेट गर्ने, निकासी एवं आपूर्तिकर्ताहरुबाट प्राप्त हुने हरेक सामाग्रीको ब्याच कोड तथा एक्सपायर डेट , प्रतिष्ठानका ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधि अभिवृद्धि गर्नका साथै कृत्रिम अभाव सिर्जना हुन नदिने एवं पुराना मेशिन उपकरण मर्मत संभार गर्नुका साथै नयाँ अन्य अत्याधनिक मेशिन उपकरण खरीद प्रक्रिया अघि बढाउने भएको छ । शिक्षक कर्मचारीहरुको छोरा छोरीहरुका लागि स्नातक तहमा छुट्याइएको सीट सम्बन्धी विषयमा चिकित्सा शिक्षा आयोगको ऐन नियम बमोजिम गर्ने, विगतको व्यवस्था कायम राख्नका लागि सबैको सहकार्यमा थप पहल गर्न कार्यकारिणी समितिबाट समेत निर्णय गराउने भएको छ ।

प्रतिष्ठानमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीहरुको कार्यसम्पादन मूल्याकन गर्ने सम्बन्धमा प्रस्तावित नयाँ नियमावलीमा भएको व्यवस्था र ढाँचा अनुसार कर्मचारी प्रशासनले रजिष्ट्रार कार्यालय र अस्पताल प्रशासनसंग समन्वय गरी नियमित रुपमा कार्य सम्पादन मूल्यांकन गरी अभिलेखिकरण गर्ने व्यवस्था लगायतका आफ्ना धारणा सार्वजनिक गरेको हो ।

सुदुर पश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डीनमा प्राडा भवानी चन्द ठकुरी नियुक्त भएका छन् ।  प्राडा ठकुरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्राध्यापकका रुपमा लामो समयदेखि कार्यरत रहेका थिए । व्यवस्थापन संंकायको डीनमा कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा पदमराज जोशी नियुक्त भएका छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको ‘शिक्षा सेवा शुल्क’ वापतको रकम ‘विद्यार्थी कल्याणकारी कोष’ मा राख्नु पर्ने नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० ले प्रस्ताव राखेको छ । शिक्षा सेवा शुल्क वापत उठेको रकम विदेशमा संकटमा परेका विद्यार्थीको हितमा नै प्रयोग गर्न प्रस्ताव गरेको हो ।

यसको व्यवस्थापन गरी, आवश्यक मापदण्ड एवम् कार्यविधि बनाई समस्याग्रस्त विद्यार्थीलाई सहयोग गर्ने गरी सदुपयोग गरिनु पर्ने इक्यानले आज एक विज्ञप्ति जारी गरी प्रस्ताव गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले , कोभिड विरुद्ध सञ्चालन गर्ने खोप अभियानमा विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई भेरोसेल खोप प्रदान गर्ने भएको छ ।

विभागले आज सूचना जारी गरी कोभिड १९ रोगको रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान निरन्तर गर्न नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आजको बैठकले उपलब्ध गराउने सूचना जारी गरेको हो ।

Thuprai - Books and E-books