‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।

देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

हुबहु प्रश्नपत्र  बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकाय अन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ ।

प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहुः त्रिवि

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए  ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उनले भने, ‘प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको  जानकारी दिए । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी सङ्कायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

यस्तै व्यवस्थापन सङ्कायको स्नातक तह बिबीए छैटौँं सेमेष्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शङ्करदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बीबीएलाई सोधिएको थियो । 

‘ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उहाँले मोर्डन कलेजमा नै सोधिएको प्रश्नपत्र दिनुभयो’, उनले भने, ‘यसरी तीन महिनाअघि मोर्डन कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिविको परीक्षामा पनि सोधिएको पाइयो ।’ 

उनले समाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने बताए । ‘प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ’, उनले भने, ‘अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्ने छौँ ।’

त्रिविका उपकुलपति डा बास्कोटाले प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको बताए । समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हुबहु प्रश्नपत्रमा संलग्नलाई कारबाही गरिने बताए । ‘हुबहु प्रश्नपत्र अल्छीपनाले होइन, गल्ती गरेका हुन्’, उनले भने, ‘हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्नुपर्दछ ।’

समितिद्धारा कारबाही गर्न निर्देशन

समिति सभापति जयपुरी घर्तीले हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्न निर्देशन दिइन् । ‘प्रश्नपत्रका सम्बन्धमा कहाँ–कहाँ गल्ती भएको छ’, उनले भने, ‘ती गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ ।’

समिति सदस्य योगेश भट्टराईले दोषीलाई कारबाही गर्नुपर्ने भन्दै त्रिवि कार्यालय तोडफोड गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । समिति सदस्य गिरिराजमणि पोखरेलले त्रिविलाई पुनः संरचना गर्नुपर्ने बताए । सदस्य नवीना लामाले त्रिवि तहसनहस बन्न पुगेको भन्दै सबै मिलेर जोगाउन आवश्यक रहेको बताइन् ।

समिति सदस्य मनकुमारी जिसी, सरिता न्यौपाने, मानबहादुर विकलगायतले त्रिविमा पटक–पटक प्रश्नपत्रमा हुने कमजोरीलाई अन्त्य गर्नुपर्ने भन्दै प्रश्नपत्रको सेटबाट नभई प्रश्नपत्र बैंकबाट छान्नुपर्नेमा जोड दिए ।

Thuprai - Books and E-books