माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण पठाउने सम्बन्धी सूचना

नेपाल सरकार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय,

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण पठाउने सम्बन्धी सूचना

मितिः- २०७७/०३/१० प्रस्तुत विषयमा २०७६ सालको माध्यमिक शिक्षा परीक्षा COVID 19 को महामारीले सृजना गरेको परिस्थितिजन्य वाध्यताको कारण नियमित रुपमा तोकिएको समयमा सञ्चालन हुन नसकेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को को बैठकले विद्यालयद्वारा गरिएका अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरुले शिक्षा विकाश तथा समन्वय इकाइमा पठाउने, सम्बन्धित शिक्षा विकाश तथा समन्वय इकाइहरुले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले आवश्यक कार्यविधि निर्माण गरी परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने भन्ने निर्णय गरेको हुँदा सो सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७/०३/०८ को निर्णय अनुसार कार्यविधि स्वीकृत भएकोले सो वमोजिम विद्यार्थीहरुले प्राप्त गरेको अन्तिम प्राप्ताङ्ग पठाउने कार्यका लागि तपसिल वमोजिम गर्नु गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ। 

१. "माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७”

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेभसाइट www.neb.gov.np र www.see.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।

२. सबै विद्यालयहरुले अनिवार्य रुपमा “माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७” को अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी अन्तिम मूल्याङ्कन विवरण तयार गर्नु पर्नेछ ।

३. कार्यविधिमा उल्लेखित मूल्याङ्कन समितिले तयार गरेको अन्तिम प्राप्ताङ्क राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेभसाइटबाट आ-आफनो विद्यालयको कोड राखी डाउनलोड गरको Excel Format मा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क क्रमशः इन्टी गरी मूल्याङ्कन समितिद्वारा तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) आषाढ २० गते भित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन पर्नेछ।

४. शिक्षा विकास तथा समन्वय इकाइहरुले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिका (मार्क लेजर) भिडाई प्रयोगात्मक र शैद्धान्तिक अङ्क भरे नभरेको, पूर्णाङ्क अनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरुको राजश्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनै प्रति प्रमाणित गरी Softcopy upload गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति (Hardcopy) विद्यालय कोडको क्रममा मिलाई आषाढ ३० गते भित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ।

५. आवेदन फाराममा भएको विवरण (सिम्बोल नम्बर, नाम, थर, जन्ममिति तथा ऐच्छिक विषयहरु) फरक परी सच्याउनु परेमा शिक्षा विकास तथा समन्वय इकाइ मार्फत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सम्पर्क गर्ने तथा प्राप्ताङ्क इन्ट्री गर्ने क्रममा कुनै प्राविधिक समस्या उत्पन्न भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्ने ।

पढ्न सिफारिस - एसईईका विद्यार्थीले यसरी पाउने छन् प्रमाणपत्र

६. क्वारेन्टाइनको रुपमा प्रयोग भएका विद्यालयहरुबाट विद्यार्थीको अभिलेख तयार गर्नका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयहरुसंग समन्वय गरी सहजीकरण गर्नुहुन समेत अनुरोध छ।

नियन्त्रक

Thuprai - Books and E-books