A Levels MA

‘योगमाया विश्वविद्यालय’ स्थापना गर्ने स्थानबारे छलफल

काठमाडौँ, १५ असोज (रासस) ः नागरिक समाजले भोजपुरमा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यतायुक्त स्थानबारे सुझाव दिएको छ । 

भोजपुरे सेवा समाज र योगमाया आयुर्वेद विश्वविद्यालय स्थानीय सरोकार समितिको आयोजनामा भएको छलफलमा सो प्राथमिकतानुसार पहिलोमा योगमायाको जन्मभूमि, तपोभूमि तथा समाधिभूमि षडानन्द नगरपालिका – १ मझुवाबेँसी, दोस्रोमा भोजपुर नगरपालिकाको सुन्तले वा पाहारपानी, तेस्रोमा अरुण गापाको जरायोटार र चौथोमा टेम्के मैयूँ गापाको पान्धारेमध्ये एकलाई प्रस्ताव गर्ने निर्णय गरिएको छ । 

भेलाले विश्वविद्यालय स्थापनार्थ भोजपुरे समाज तथा भोजपुरका बुद्विजीवीसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री तथा शिक्षामन्त्रीसँग पहल गर्ने पनि निर्णय ग¥यो । भेलामा पूर्वमन्त्री प्रदीप नेपालले समाज सुधारका लागि समर्पित क्रान्तिकारी योगमाया भोजपुरको गौरव भएकाले भोजपुरमै विश्वविद्यालय स्थापना गर्न स्थानीयस्तरमा पूर्वाधार निर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो । 

सांसद सुदन किराँतीले कहाँ कसरी विश्वविद्यालय निर्माण गर्ने भन्नेमा एक मत भई जुट्न आह्वान गर्दै आफ्नातर्फबाट यथाशक्य सहयोग गरिने प्रतिबद्घता व्यक्त गर्नुभयो । पूर्वसांसद घनेन्द्र बस्नेतले विश्वविद्यालयलाई सञ्चालन गर्न र टिकाउन प्रयत्नरत रहनुपर्नेमा जोड दिँदै विदेशबाट समेत विद्यार्थी आउन सहज हुने ठाउँमा विश्वविद्यालय हुनुपर्ने बताउनुभयो । 

पूर्वसांसद नरेन्द्र बस्नेतले प्राकृतिक विविधता र जडीबुटीको भण्डार भएकाले पूर्वका २० जिल्ला समेट्ने गरी मझुवाबेँसीमै विश्वविद्यालय स्थापना गर्न सकिने बताउनुभयो । पूर्वसांसद जयन्ती राईले विश्वमै क्रान्तिकारिताका प्रतीक योगमायाका नाममा विश्वविद्यालय स्थापना गर्न सर्वप्रथम कार्यदल गठन गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा भोजपुरे समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा, उपाध्यक्ष देवी घिमिरे, पूर्वाध्यक्ष दयाकृष्ण न्यौपाने, नेकपाका अजम्बर काङ्माङ, नेपाली काँग्रेसका नेता उमेशजङ्ग रायमाझी, षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, सरोकार समितिका दिलकुमार राई, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुरेन्द्र उदास, भविन्द्र खत्री आदिले योगमाया भोजपुरको गौरव भएकाले भोजपुरको उपयुक्त स्थानमा स्थापना गर्न सबैले पहल तथा सहयोग गर्नुपर्ने बताउनुभयो । 

Thuprai - Books and E-books